बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी आर्थिक वर्षदेखि ‘फेसलेस’ सेवा दिँदै उद्योग विभाग

बिहीबार, २७ माघ २०७८, १२ : ३८
बिहीबार, २७ माघ २०७८

उद्योग विभागले आगामी आर्थिक वर्ष २०७९÷८० देखि ‘फेसलेस’ सेवा सुरू गर्ने भएको छ । विभागले आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै सबै प्रकारका सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।

विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले नयाँ आर्थिक वर्षदेखि विभागले दिने उद्योगसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत दिने बताए । उनले भने, ‘नयाँ उद्योग दर्ता, क्षमता अभिवृद्धि, लगानी प्रस्ताव स्वीकृती र नवीकरण लगायतका सबै काम अनलाइनबाटै हुने छ ।’

यसका लागि विभागले एक करोड ६० लाख रुपैयाँमा ठेक्का लगाइसकेको छ । ‘उक्त कम्पनीले दैनिक १०÷१२ जना जनशक्ति यही काममा लगाएको छ,’ पराजुलीले भने, ‘अब लगानीकर्ताले विभागमा आएर यता र उता फाइल दौडाइराख्नु पर्दैन ।’

अनलाइन प्रणाली बनेपछि लगानीकर्ताले उद्योग दर्ता गर्न चाहिने सम्पूर्ण तथ्यांक र सूचना त्यहीँ अपलोड गर्छ । आवेदन स्वरूप आउने कागजात सम्बन्धित सबै शाखाले हेर्छ र अपुग कागजात उपलब्ध गराउन अनलाइनमार्फत नै सूचना दिइन्छ ।

अनलाइन प्रणाली सुरू भएपछि उद्योग दर्ता र उद्योगसम्बन्धी अन्य प्रकारका काममा सहज हुने विभागको अपेक्षा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप