शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

शनिबार, ०९ साउन २०८३, २१ : २९
शनिबार, ०९ साउन २०८३

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा ५३ प्रतिशत बढी राजस्व सङ्कलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापाले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ३३ लाख १४ हजार ४०० राजस्व सङ्कलन भएकामा गत आवमा रु १७ लाख ७४ हजार २४२ वृद्धि भई रु ५० लाख ८८ हजार ६४२ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो ५३ दशमलव ५३ प्रतिशत बढी हो।

लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन तथा बिक्री भएकाले राजस्वमा पनि वृद्धि भएको अधिकृत थापाले उल्लेख गरे। उनका अनुसार गत आवमा ह्याचलिङ भुरा दुई करोड, फ्राई १५ लाख र फिङ्गरलिङ १२ लाख गरी कूल दुई करोड २७ लाख भुरा उत्पादन गर्ने लक्ष्य राखिएको थियो। केन्द्रले लक्ष्यभन्दा बढी ह्याचलिङ दुई करोड ५९ लाख, फ्राई ६३ लाख ८१ हजार ५८० र फिङ्गरलिङ २६ लाख २४ हजार ६७२ उत्पादन गरेको छ।

अघिल्लो आर्थिक वर्षमा केन्द्रले ह्याचलिङ दुई करोड १८ लाख, फ्राई ३३ लाख १५ हजार २० र फिङ्गरलिङ भुरा २१ लाख २२ हजार ५२० उत्पादन गरेको थियो । “सीमित साधनस्रोतका बाबजुद पनि माछाका भुरा उत्पादनमा उल्लेख्य प्रगति भएको छ”, अधिकृत थापाले भने।

वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी उत्पादन गर्दै आइएका जानकारी दिँदै उहाँले गत आवमा नयाँ प्रविधिको प्रयोग गरिएकाले अघिल्ला वर्षको तुलनामा उत्पादन बढेको बताए। “हामीले उत्पादन बढाउँदै लगे पनि माग उत्पादनभन्दा बढी छ । दक्ष प्राविधिक जनशक्तिका कारण क्षमताभन्दा बढी उत्पादन गर्न सफल भएका छौँ”, थापाले भने।

केन्द्रको कूल तीन दशमलव ५९ हेक्टर जमिनमध्ये एक दशमलव ८५ हेक्टर जलाशय क्षेत्र रहेको छ । सो क्षेत्रमा भुरा उत्पादनका लागि साना–ठूला गरी २३ वटा पोखरी निर्माण गरिएका छन् । तीमध्ये चार रेयरिङ (हेरचाह) पोखरी, १२ नर्सरी पोखरी, ६ माउ पोखरी र एउटा खाने माछा पोखरी छन्। उत्पादन गरिएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आइएको मत्स्य विकास केन्द्रले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप