क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
सारांश
- क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगलले अर्बौं डलरको आर्थिक झट्काको सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
- रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासका सर्वाधिक गोलकर्ता हुन् र छवटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने ।
- पोर्चुगिज फुटबल महासंघको चुनौती नयाँ खेलाडीको सामूहिक पहिचान र ब्रान्ड निर्माण गर्नु हुनेछ, किनकि रोनाल्डोको जस्तो विश्वव्यापी व्यावसायिक प्रभाव कसैसँग छैन ।
मार्का । क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौँ तथा अन्तिम फिफा विश्वकप भारी मनका साथ समाप्त गरे । स्पेनसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि उनले अब आफू अर्को विश्वकपमा नखेल्ने पुष्टि गरे ।
तर उनले अन्तर्राष्ट्रिय फुटबलबाट पूर्ण रूपमा संन्यासको घोषणा भने गरेका छैनन् । त्यसैले नयाँ मुख्य प्रशिक्षक होर्जे जिससको नेतृत्वमा भविष्यमा केही खेल खेल्ने सम्भावना भने खुला नै छ ।
तर रोनाल्डोको विश्वकप यात्राको अन्त्यसँगै पोर्चुगल फुटबलले एउटा कठिन प्रश्नको सामना गरिरहेको छ । त्यो हो अब देशले क्लब वा राष्ट्रिय टोलीभन्दा पनि ठुलो ब्रान्ड बनेका रोनाल्डोलाई कसरी प्रतिस्थापन गर्ने ?
खेलाडी मात्र होइन, विश्वव्यापी ब्रान्ड
रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासका सर्वाधिक गोलकर्ता हुन्। उनी छवटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी पनि बने । दुई दशकभन्दा बढी समयसम्म उनले पोर्चुगलको प्रतिनिधित्व गरे र विश्वभर लाखौं समर्थकलाई पोर्चुगलसँग जोडेर राखे ।
तर उनको बिदाइले मैदानभित्रको प्रदर्शन मात्र होइन, प्रायोजन, व्यावसायिक आम्दानी र विश्वव्यापी लोकप्रियतामा पनि ठुलो असर पार्ने चेतावनी विज्ञहरूले दिएका छन् । मार्केटिङ विज्ञ डानियल सा ले पोर्चुगिज समाचार संस्था लुसासँग भने, “ब्रान्डको हिसाबले भन्नुपर्दा रोनाल्डो सम्पूर्ण पोर्चुगिज राष्ट्रिय टोली र अरू धेरै टोलीहरूको संयुक्त मूल्यभन्दा पनि धेरै ठुलो ब्रान्ड हुन् ।“
प्रायोजन र आम्दानीमा ठुलो असर पर्ने चिन्ता
रोनाल्डोको प्रभाव खेल मैदानमा मात्र सीमित थिएन। उनको विश्वव्यापी लोकप्रियताले पोर्चुगिज फुटबल महासंघलाई ठूला प्रायोजक भित्र्याउन, व्यावसायिक सम्झौताहरू गर्न र युरोपभन्दा बाहिरका बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्न ठुलो मद्दत गरेको थियो ।

रोनाल्डोलाई पछ्याउने करोडौं समर्थक स्वतः पोर्चुगल राष्ट्रिय टोलीका पनि दर्शक बनेका थिए । डानियल साका अनुसार रोनाल्डोको अनुपस्थितिपछि मात्रै त्यो निर्भरताको वास्तविक आकार स्पष्ट हुनेछ ।
उनले भने, 'म खेलको होइन, ब्रान्डको विश्लेषण गरिरहेको छु। रोनाल्डोले बिदा लिएपछि त्यो ठुलो विपत्ति हुनेछ, किनभने गुम्ने सञ्चारमाध्यमको ध्यान र लोकप्रियताको वास्तविक मूल्य धेरैले अझै बुझेका छैनन्। हामी तीव्र गतिमा तल झर्ने एस्केलेटरमा चढेजस्तै हुनेछौं ।'
उनका अनुसार रोनाल्डोकै कारण पोर्चुगिज फुटबलले दुई दशकभन्दा बढी समयदेखि असंख्य व्यावसायिक सम्झौता र ठुलो आर्थिक लाभ प्राप्त गर्दै आएको छ ।
नयाँ पुस्ता तयार, तर रोनाल्डोको व्यावसायिक प्रभाव कसैसँग छैन
पोर्चुगलसँग भिटिन्हा, जोआओ नेभेस र राफाएल लेआओजस्ता प्रतिभाशाली खेलाडीहरूको कमी छैन । उनीहरूले टोलीलाई नयाँ युगतर्फ अघि बढाउन सक्ने क्षमता राख्छन् ।

तर तीमध्ये कसैसँग पनि रोनाल्डोको जस्तो विश्वव्यापी व्यावसायिक प्रभाव र ब्रान्ड मूल्य छैन ।
त्यसैले पोर्चुगिज फुटबल महासंघको सबैभन्दा ठुलो चुनौती अर्को “रोनाल्डो“ खोज्नु होइन, बरु नयाँ पुस्ताको सामूहिक पहिचान र ब्रान्ड निर्माण गर्नु हुनेछ ।
अन्तिम अन्तर्राष्ट्रिय खेल अझै निश्चित छैन
समाचारहरूका अनुसार रोनाल्डोलाई आगामी यूईएफए नेसन्स लिग अन्तर्गत लिस्बनमा वेल्सविरुद्ध हुने खेलमा विशेष बिदाइ खेल खेलाइने सम्भावना छ। तर यसको औपचारिक पुष्टि भने न रोनाल्डोले गरेका छन्, न पोर्चुगिज फुटबल महासंघले ।
मुख्य प्रशिक्षक होर्जे जिसस ले भने अन्तिम निर्णय खेलाडीको इच्छा र शारीरिक अवस्थामाथि निर्भर रहने बताएका छन् ।

उनले भने, 'क्रिस्टियानो पोर्चुगिज फुटबल, राष्ट्रिय टोली र सम्पूर्ण पोर्चुगलका प्रतीक हुन्। इतिहासमा उनको स्थान सधैं अमर रहनेछ ।'
उनले थपे, 'जबसम्म उनी राष्ट्रिय टोलीमा खेल्न सक्षम छन्, टोलीका लागि जे उपयुक्त हुन्छ, त्यही निर्णय म गर्नेछु।'
क्लब करिअर भने अझै जारी
रोनाल्डो अहिले पनि साउदी क्लब अल–नासरसँग सम्झौतामा आबद्ध छन् र आफ्नो करिअरमा एक हजार गोल पूरा गर्ने लक्ष्य पछ्याइरहेका छन् । त्यसैले अन्तर्राष्ट्रिय फुटबलबाट बिस्तारै बिदा लिए पनि उनको क्लब करिअर भने अझै केही समय जारी रहने अपेक्षा गरिएको छ ।

पोर्चुगलले भविष्यमा रोनाल्डोको स्थानमा अर्को खेलाडी राख्नेछ, उनको गोलको जिम्मेवारी बाँडफाँड गर्नेछ र नयाँ कप्तान पनि नियुक्त गर्नेछ । तर रोनाल्डोले सिर्जना गरेको विश्वव्यापी आकर्षण र आर्थिक प्रभावलाई प्रतिस्थापन गर्नु पोर्चुगल फुटबलका लागि सबैभन्दा कठिन चुनौती हुने विश्लेषकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण