सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान

मुख्यमन्त्रीको विश्वास, ‘कांग्रेसका मन्त्रीले आफैँ राजीनामा दिन्छन्’
शनिबार, ०९ साउन २०८३, २१ : ००
शनिबार, ०९ साउन २०८३

सारांश

  • केन्द्रमा भएको सत्ता समीकरणको सहमतिसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने सम्भावना बढेको छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा दिने विश्वास व्यक्त गरेका छन् र त्यसपछि नेकपासँग मिलेर नयाँ सरकार गठनको गृहकार्य सुरु हुनेछ।
  • नयाँ सरकार गठनसँगै नेकपाले चालु बजेट संशोधनको विषयमा पनि छलफल गर्ने तयारी गरेको छ।

रुपन्देही । केन्द्रमा भएको सत्ता समीकरणबारे सहमतिसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने निश्चितजस्तै भएको छ। 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रको सहमतिअनुसार कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा दिने विश्वास व्यक्त गरेका छन्। हाल लुम्बिनीमा नेकपा एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार सञ्चालनमा छ।

मुख्यमन्त्री आचार्यले सोमबारसम्म कांग्रेस सरकारबाट बाहिरिने र त्यसपछि नेकपासँग मिलेर नयाँ सरकार गठनको गृहकार्य सुरु हुने जानकारी दिए। उनले कांग्रेसलाई आफैँले हटाउनुपर्ने अवस्था नआउने बताए। ‘केन्द्रमा भएको सहमतिअनुसार कांग्रेसका साथीहरूले बुझिहाल्नुहुन्छ। मैले हटाउनुपर्ने अवस्था आउँदैन,’ उनले भने, ‘त्यसपछि नेकपाका साथीहरूसँग कसरी सरकार बनाउने भन्ने विषयमा छलफल हुन्छ।’

केन्द्रको सहमतिअनुसार नै अब एमाले नेतृत्वको सरकारलाई नेकपाले समर्थन गर्ने तयारी गरेको छ। नेकपा लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले एमालेसँग मिलेर सरकार गठन गर्ने विषयमा छलफल अघि बढ्ने बताए। 

उनले नयाँ सरकार गठनसँगै चालु बजेट संशोधनको विषयमा पनि छलफल हुने जानकारी दिए। ‘बजेटप्रति नेकपाको सुरुदेखि नै असन्तुष्टि छ,’ उनले भने, ‘अब बजेट संशोधन गर्ने विषयमा विस्तृत छलफल हुन्छ।’

यता सरकारबाट बाहिरिने सम्भावना बढेपछि नेपाली कांग्रेसले भने आफ्नो आगामी रणनीति तय गर्न आन्तरिक छलफल गर्दैछ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रमा भएको सहमतिपछि नयाँ परिस्थिति सिर्जना भएको हुँदा काठमाडौँमा भोलि बैठक बस्न लागेको बताए। 

केन्द्रको बैठकबाट आउने निर्देशनका आधारमा थप कदम चालिने उनको भनाइ छ। ‘मलाई भोलि बिहान साढे ९ बजे केन्द्रको बैठकमा बोलाइएको छ। त्यसपछि प्रदेशका साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्छौँ,’ चौधरीले भने। लुम्बिनी सरकारमा हाल कांग्रेसका पाँच जना मन्त्री सहभागी छन्। 

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ जना सांसद आवश्यक पर्छ। प्रदेशसभामा एमालेका २९ र सभामुखसहित नेकपाका १३ जना सांसद रहेका छन्। यी दुई दल मिल्दा सरकार बनाउन आवश्यक पर्ने बहुमत सहजै पुग्ने देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप