सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले सही समयमा सही ढंगले गठबन्धनलाई काउन्टर दिन्छ : ईश्वर पोखरेल

मङ्गलबार, ०३ फागुन २०७८, १८ : ४६
मङ्गलबार, ०३ फागुन २०७८

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको नाटक भोलिदेखि सुरु हुने भन्दै एमसीसी टेबुलको नाममा कस्तो कस्तो नाटक हुन्छ हेर्न बाँकी रहेको बताएका छन् । मंगलबार जनकपुरधाममा स्थानीय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिन आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन दलले आ–आफ्नो स्वार्थपूर्ति गर्नका लागि नाटक सुरु गरेको बताएका हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई बचाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग लगाइएको दाबी गरे । प्रेस चौतारी धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले महाभियोग ल्याउनुको तीन/चार वटा पक्ष रहेको बताउँदै उनले सभामुख सापकोटालाई बचाउनका लागि गठबन्धनले कस्ता कस्ता नाटक रच्दैछ, त्यो हेर्न बाँकी रहेको जिकिर गरे ।

उनले एमालेले सही समयमा सही ढंगले गठबन्धनलाई काउन्टर दिने भन्दै मिस फायरको पक्षमा भने एमाले नरहेको बताए । उनले भने, ‘यो बेला कुबेला महाभियोग ल्याउनुको तीन/चार वटा पक्ष रहेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि ज्यान मार्ने उद्योगको मुद्दा चल्दैछ, त्यो टाउकोमा झुण्डिएको तरबार जस्तै हो । त्यसबाट नेपाली काँग्रेसलाई डाइभर्ट गर्ने, गठबन्धन कायम गर्न, एमसीसी पास गर्न महाभियोग लगाइयो,’ उनले अघि थप्दै भने, ‘एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई संसदीय दलको बैठकबाट कारबाही गरेर चिठ्ठी पठाइएको थियो, त्यसको आधारमा निष्कासन गर्नुपर्ने थियो, त्यसैको पेसी तोकिएको थियो । त्यसलाई छल्नका लागि, गठबन्धन बचाउन र स्थानीय तहको निर्वाचन धकेल्नका लागि महाभियोगको नाटक गरिएको हो ।’

यस महाभियोगले राष्ट्रिय राजनीति थप अस्थिर हुने अनिश्चित बनेको उनको भनाइ छ । षडयन्त्रपूर्वक महाभियोग ल्याए पनि आफूहरू निर्वाचन कुनै पनि बहानामा सार्न नदिने उनको जिकिर छ । यसका लागि उनले आफूहरू तयार रहेको बताउँदै उनले सही समयमा सही कदम चाल्ने र मिस फायर हुन नदिने उनले स्पष्ट पारे । उनले एमसीसी सम्झौता आफूहरूको पालामा नभएको र अहिले सत्ता गठबन्धन दलसँग १ सय ६५ सांसद रहेकाले एमसीसी पास गर्न सक्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप