बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोन्ज्योसोम घटना : वैदेशिक रोजगारीमा बुवा–आमा, घरमा नाबालक छोराछोरीको मृत्यु !

मङ्गलबार, २४ फागुन २०७८, २० : ४३
मङ्गलबार, २४ फागुन २०७८

काठमाडौँ । प्रसूति गृहबाट सुत्केरी सुस्मा स्याङ्तान (२३ वर्षीया)लाई डिस्चार्ज गरेर लगेको रात नै ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा पाँच जनाको मृत्यु भयो । आइतबार राति ५५ वर्षीय काइँली स्याङ्तानको घरमा सो घटना भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ ।

सुस्माले दुई दिनअघि अस्पतालमा छोरा जन्माएकी थिइन् । आमा र छोरा दुवैको मृत्यु भएको छ । नवजात शिशुका पिता वर्ष २३ का शुभ स्याङ्तान ललितपुर स्थित गणेशमान सिंह मेमोरियल अस्पतालको आइसियुमा उपचाररत छन् ।

केही अघि बनाएको घरको झ्यालमा खापा हालेका थिए तर, सिसा हाल्न सकेका थिएनन् । झ्यालमा सिसा हाल्ने र तला थप्ने सपना बोकेर काइँली स्याङ्तानको माइलो छोरा विक्रम र बुहारी सिर्जना वैदेशिक रोजगारीमा गएका थिए । आफ्ना दुई छोराछोरी ९ वर्षका आशिष र ५ वर्षकी आस्मा स्याङ्तानलाई उनीहरूले आमा र भाइ बुहारीको परिवारको रेखदेखमा छाडेका थिए । तर, बिडम्बना आमा र बुहारी सुष्मासँगै आफ्ना दुई सन्तान सुतिरहेको अवस्थामा मृत भेटिएको खबर उनीहरूले विदेशी भूमिमा थाहा पाएका छन् ।

गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचार गराइरहेका शुभ चाहिँ विदेशमा पसिना बेचिरहेका विक्रमका कान्छा भाइ हुन् । पाटन अस्पतालले सोमबार उनलाई त्यहाँ रिफर गरेको हो । काइँलीका जेठो छोरा ३८ वर्षीय राजु चाहिँ सो रात अर्कै घरमा सुतेका थिए । उनी ट्याक्सी चलाउँछन् ।

झ्यालमा भित्रपट्टिबाट बोरा र प्लास्टिक ठोकिएको थियो । नवजात शिशुलाई न्यानोमा राख्न उनीहरूले आगो बालेर सुतेका थिए । एकै कोठामा सुतेका काइँली, उनका नाति आशिष, नातिनी आस्मा, र सुत्केरी बुहारी सुस्मा स्याङ्तान मृत भेटिए । २ दिने बालकको उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भयो । शुभ स्याङ्तानलाई सो कोठाभित्र छटपटाएको अवस्थमा स्थानीयले उद्धार गरेर अस्पताल लगेका हुन् । उनको अवस्था सुधारोन्मुख छ ।  

ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलका अनुसार परिवारका सदस्यहरू घरभित्र ठुलो कराइमा आगो बालेर सुतेका थिए । झ्यालमा प्लास्टिक राखेर बन्द गरिएको हुनाले भेन्टिलेसन थिए ।

मृत्युको यकिन कारण खुल्न बाँकी रहेको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले रातोपाटीसँग भने–‘झ्याल, ढोका बन्द गरेर सुतेको र आगो बालेको हुनाले निसास्सिएको हुनसक्ने आशंका गरेका छौँ, थप अनुसन्धान हुँदै छ ।’

घटनास्थलमा गएका पाटन अस्पतालका फोरेन्सिक चिकित्सकले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्–‘कार्बन पोइजेनिङका कारण मृत्यु भएको हुनसक्छ ।’ यद्यपि पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।

चिकित्सकका अनुसार कोइला, दाउरा तथा ग्याँस उपयोग गर्दा निस्कने ग्याँस कार्बनमोनोअक्साइड हो । जुन देख्न, सुँघ्न र महसुस गर्न सकिँदैन । ग्याँस बाहिर जान नपाएपछि अक्सिजनको कमी हुँदै जाँदा निसासिएर मान्छेको मृत्यु हुन्छ । चिकित्सकका अनुसार ‘कार्बन पोइजेनिङ’का कारण मृत्यु भएकोबारे रगत परिक्षणबाट पत्ता लगाउन सकिन्छ ।

बोरा उधार्दा छटपटाएको दृश्य

सोमबार बिहान अबेरसम्म काँइलीका परिवार नउठेपछि छिमेकीले छोरीलाई खबर गरे ।  छोरी रोशनी घलानको विवाह गाउँमै भएको छ ।

रोशनीले ढकढक गर्दा भित्रबाट चुकुल खुलेन । अनि, झ्यालको बोरा च्यातेर हेर्दा नवजात शिशु र शुभ स्याङ्तान छटपटाउँदै थिए । ढोका फोडेपछि कोठामा अक्सिजन गयो अनि शुभले बान्ता गरे ।

रोशनीले कोन्ज्योसोम–४ का वडा अध्यक्ष तिर्थ लामालाई खबर गरिन् । काइँली वडा अध्यक्षको फुपु नाता पर्छ । वडा अध्यक्षले महानगरीय प्रहरी प्रभाग कोन्ज्योसोमका इन्स्पेक्टर दीपक रिजाललाई खबर गरे । अनि, प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप