बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ दाङ क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर महराको प्रतिबद्धता पत्र

बुधबार, ०६ मङ्सिर २०७४, १२ : १०
बुधबार, ०६ मङ्सिर २०७४

प्रमुख राजनीतिक दलले चुनावलाई केन्द्रमा राखेर केन्द्रीय स्तरमा आआफ्ना घोषणापत्र बनाएका छन् । त्यसैगरी प्रतिनिधिसभाका उम्मेदवारले पनि स्थानीय मुद्दा समेटेर व्यक्तिगत रूपमा चुनावी घोषणापत्र बनाएका छन् । प्रतिनिधिसभामा उठेका नेताका चुनावी घोषणापत्र कस्ता छन् ? पाठकहरू र मतादाताबीच बहसका लागि हामीले उनीहरूको घोषणापत्रको पूर्ण पाठ कात्तिक २० गतेबाट छाप्न थालेका छौँ । तपाईं पनि प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ र आफ्नो घोषणापत्र रातोपाटीमार्फत जनताकहाँ पुर्याउन चाहनुहुन्छ भने हाम्रो इमेल[email protected] मा पठाउनुहोला । इमेलमा प्राप्त भएको मितिका आधारमा पालैपालो प्रकाशित हुनेछ । (–सम्पादक)

दाङ क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर महराको प्रतिबद्धता पत्र

समृद्ध नेपालका लागि समृद्ध दाङ– हाम्रो अभियान

‘कृषि–पर्यटन, जलस्रोत र पूर्वाधार– दाङ जिल्लाको समृद्धिको आधार’

 

 

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,

सर्वप्रथम जनयुद्ध, जनआन्दोलनलगायत परिवर्तनका निम्ति भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान सहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूले देखाएको बाटोमा हिँडिरहने प्रण गर्छु ।

इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन, जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनको परिणामस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई संविधानले संस्थागत गरिसकेको छ । यी परिवर्तनको कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यतिबेला देश प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा होमिएको छ । यस ऐतिहासिक अवसरलाई आम नेपाली जनताले एक महान उत्सवका रूपमा लिएका छन् । यस उत्सवलाई हामीले राजनीतिक परिवर्तनको व्यावहारिक कार्यान्वयनसँगै सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि प्रयोग गर्नुपर्ने आवश्यकता छ । यही कुरालाई आत्मसात गर्दै सबै तहमा स्थिर र टिकाउ सरकार निर्माण गरी समृद्ध नेपाल निर्माण गर्न ने.क.पा. (माओवादी केन्द्र) र नेकपा (एमाले) पार्टी एकीकरणको घोषणा गर्दै वाम गठबन्धन निर्माण गरी चुनावी होमिएका छौँ ।

नेपालको राजनीतिक परिवर्तनमा विभिन्न भूमिका निर्वाह गर्दै म कृष्णबहादुर महरा वाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा तपाईंहरूको घर आँगनमा आइपुगेको छु । विशिष्ट भौगोलिक, सांस्कृतिक एवं सामाजिक विशेषता बोकेको दाङ नेपालकै एक प्रमुख जिल्ला हो । यहाँ कृषि, पर्यटन, खनिज स्रोत, वनजङ्गल, उद्योगलगायत थुप्रै दृष्टिकोणले प्रशस्त सम्भावना रहेको छ । एसियाकै ठूलो र सुन्दर उपत्यका दाङ आर्थिक, सांस्कृतिक, पर्यावरणीय, सामरिक, सुगमता एवं भौगोलिक दृष्टिकोणले प्रदेश राजधानीका लागि उपयुक्त छ । पूर्वाधार निर्माणका लागि पर्याप्त जमिन, प्रदेशको मध्यभाग, अनुकूल जलवायु, प्रशस्त खुला क्षेत्र, एकीकृत बस्ती विकासको सम्भावना, खनिज पदार्थहरूको प्रचूरता, मौलिक संस्कृतिको धनी, शिक्षा र स्वास्थ्यमा भएका पूर्वाधारहरू प्रादेशिक राजधानी निर्माणका आधारहरू हुन् ।

 

‘प्रदेश नं. ५ को शान ः प्रादेशिक राजधानी दाङ’ भन्ने मूल उद्देश्यसहित दाङलाई ५ नं. प्रदेशको प्रादेशिक राजधानी बनाउने कुरा अहिले हाम्रो लागि सबैभन्दा महत्वपूर्ण विषय हो । दाङलाई आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले देशकै नमूना जिल्ला बनाउने मेरो लक्ष्य र आगामी ५ वर्षको कार्यभार हो । ‘कृषि–पर्यटन, जलस्रोत र पूर्वाधार– दाङ जिल्लाको समृद्धिको आधार’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी यसलाई सफलीभूत पार्न म यहाँको घर आँगनमा आएको छु । यस उद्देश्य र कार्यभारलाई पूरा गर्ने मेरो अभियानलाई सहयोग गर्न म सम्पूर्ण जिल्लाबासी आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्छु । त्यसका लागि यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिन्हमा छाप लगाई मलाई अत्याधिक मतका साथ विजयी गराउनु हुनेछ भन्ने अपेक्षा गर्छु । 

 

समृद्ध दाङ निर्माणका लागि मेरा प्रतिबद्धताहरू ः

विकासको आधार ः भौतिक पूर्वाधार

१. सडक तथा यातायात

–  दाङलाई केन्द्र बनाई दाङ–प्युठान–अर्घाखाँची–पाल्पा–पोखरा, दाङ–सुर्खेत–रारा, दाङ–कोइलाबास, दाङ–रोल्पा (सहिदमार्ग) हुँदै डोल्पा सडकलाई दु्रत मार्गका रूपमा विकास गरिनेछ ।

–  दाङ–कपिलवस्तु–लुम्बिनी र दाङ–नेपालगञ्ज–बर्दिया–कैलालीलाई रेल मार्गले जोडिनेछ ।

–  सहरी क्षेत्रमा वातावरण अनुकूलित मास ट्रान्जिट यातायात प्रणालीको विकास गरिनेछ ।

–  घोराही चक्रपथ, तुलसीपुर चक्रपथ र राप्ती चक्रपथ देउखुरी निर्माण गरिनेछ ।

–  जिल्लाका हरेक वडा–गाउँ–टोललाई सडक सञ्जालले जोड्नुका साथै सम्पूर्ण सडकहरूलाई कालोपत्रे गरिनेछ ।

–  सहिद मार्ग घोराही–होलेरी–जलजला सहिदमार्गलाई पूर्णता दिइनेछ ।

–  घोराही–बङ्गलाचुली हुँदै प्युठानको देविस्थान जोड्ने सडक, रिहार–नारायणपुर–होलेरी सडक, छिल्लीकोट–बिजौरी–मानपुर सडक, कुइरेपानी–पचुर्खा–सर्रा सडक (दामोदर रोड), भैंसाहीचोक–घनिबगिया–गुलरिया–सर्रा सडकलाई स्तरोन्नति गरी कालोपत्रे गरिनेछ ।

–  दाङ उपत्यकालाई पूर्व–पश्चिम राजमार्गमा जोड्न सुरुङ मार्ग निर्माण गरिनेछ ।

–  इन्धन डिपोलगायत आवश्यक पूर्वाधार निर्माण गरी टरिगाउँ विमानस्थललाई नियमित सञ्चालन गरिनेछ र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

 

२. सिंचाइ तथा खानेपानी

–  ग्वारखोला, हापुरखोला, पातुखोला दाङका ठाडा खोलाहरूमा उच्च बाँध निर्माण गरी सिचाइ, खानेपानी, विद्युत उत्पादन र पर्यटनमा प्रयोग गरिनेछ ।

–  राप्ती नदीद्वारा सिंचित हुने देउखुरी उपत्यकामा निर्माणाधीन बड्कापथ र प्रगन्ना सिंचाइ आयोजनालाई तत्काल सम्पन्न गरिनेछ ।

–  नदीको पानीबाट सिंचाइ सुविधा उपलब्ध गराउन प्राविधिक रूपमा कठिन हुने स्थानमा बोरिङ, डिपबोरिङको व्यवस्था गरिनेछ । जिल्लाका पहाडी तथा उच्च समतल क्षेत्रमा लिफ्टको माध्यमबाट पर्याप्त खानेपानी तथा सिंचाइको व्यवस्था गरिनेछ ।

–  माडी र शारदा नदीको पानी डाइभर्सनका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

 

३. कृषि

–  कृषिको आधुनिकीकरण र व्यावसायीकरणलाई जोड दिइनेछ । यसका लागि दाङमा कृषि अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

–  साना तथा मध्यम कृषक केन्द्रित कृषि कार्यक्रम तर्जुमा गरी कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरिनेछ ।

–  तरकारी, फलफूल, खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बालीहरूको पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक कृषि उत्पादनमा जोड दिइनेछ ।

–  बङ्गलाचुलीलाई अदुवा र फलफूल खेती उत्पादनको केन्द्र बनाइनेछ ।

–  कृषकलाई समयमै मल, बीउ, कृषि औजार, सहुलियत ऋण तथा अनुदान उपलब्ध गराइनेछ ।

–  खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने कार्यलाई निरुत्साहित गरी बृहत (चक्लाबन्दी) खेतीप्रणालीलाई जोड दिइनेछ । 

–  कृषि उत्पादनको भण्डारण र कृषि उपजको बजार सुनिश्चित गरिनेछ साथै कृषि बिमा कार्यक्रम लागू गरिनेछ ।

 

४. स्वास्थ्य

–  दाङलाई स्वास्थ्य क्षेत्रको गन्तव्यका रूपमा विकास गरिनेछ ।

–  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आधुनिक, सुविधासम्पन्न शिक्षण अस्पताल (मेडिकल कलेज) शीघ्र स्थापना गरिनेछ ।

–  राप्ती अञ्चल अस्पताल तुलसीपुर र लमही अस्पतालमा सबै प्रकारको विशेषज्ञ सेवाको व्यवस्था गरिनेछ ।

–  तुलसीपुरमा न्युरोसम्बन्धी विशेषज्ञ सेवा र लमहीमा ट्रमा सेन्टर स्थापना गरिनेछ ।

–  प्रत्येक गाउँपालिकामा कम्तीमा १५ शय्याको अस्पताल स्थापना गरिनेछ ।

–  विपन्न र वृद्धहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरिनेछ ।

 

५. शिक्षा

–  दाङमा प्रादेशिक विश्वविद्यालय र बहुप्राविधिक विश्वविद्यालय स्थापना गरिनेछ ।

–  नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन अध्ययन केन्द्रका रूपमा विकास गरिनेछ ।

–  आयुर्वेद शिक्षण अस्पताललाई आयुर्वेद अनुसन्धान केन्द्रको रूपमा विकास गरी आयुर्वेदिक औषधीहरूको उत्पादन गरिनेछ ।

–  सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरी प्रत्येक पालिकामा एक नमुना विद्यालय बनाइनेछ ।

–  गरिब, जेहेनदार तथा उत्कृष्ट विद्यार्थीहरूलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ ।

–  शिक्षकहरूको पेसागत हकहित र अधिकारको ग्यारेन्टीका साथै सामाजिक सम्मानको संस्कार विकास गरिनेछ ।

 

 

६. ऊर्जा ः प्रदेशकै शान, उज्यालो दाङ

–  जिल्लाका सबै घरहरूमा विद्युतीकरण गरि उज्यालो दाङ कार्यक्रमले जोडिनेछ ।

–  विद्युत विस्तार हुन नसकेका ठाउँमा अनुदानमा सौर्य ऊर्जाको व्यवस्था गरिनेछ ।

–  विद्युत सुविधा पुगेका तर लो भोल्टेजको समस्या भएका स्थानहरूमा भोल्टेज सुधार गरिनेछ ।

–  विद्युत, टेलिफोनलगायतका आकाशे तार तथा पोलहरू हटाई जमिनमुनिबाट विस्तार गरिनेछ । तत्काल सघन बजार क्षेत्रबाट यसको सुरुवात गरिनेछ ।

 

७. उद्योग

–  औद्योगिक क्षेत्रको स्थापना गरी व्यवस्थित औद्योगीकरणलाई जोड दिइनेछ ।

–  कृषि तथा अन्य स्थानीय स्रोतमा आधारित उद्योगहरूको विकास गर्दै ठूला उद्योगहरूको स्थापना तथा सञ्चालन गरिनेछ ।

–  च्युरी, रिट्ठा, मालागेरी, मासु, दूध, फलफूल आदिका लागि आधुनिक कृषि प्रशोधन उद्योग स्थापना गरिनेछ ।

–  जिल्लामा रहेका सिमेन्ट उद्योग र कोइलाखानीलाई वातावरणमैत्री बनाउँदै जिल्लाको आर्थिक विकासमा उचित प्रयोग गरिनेछ ।

–  कृषि मल कारखाना स्थापनाका लागि प्रोत्साहन गरिनेछ ।

 

८. पर्यटन

–  ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्या–पर्यटनको गुरुयोजना तयार गरी दाङलाई पर्यटनको केन्द्र बनाइनेछ ।

–  दाङलाई लुम्बिनी–रारा जोड्ने पर्यटन रुटको विकास गरिनेछ ।

–  दाङको धारपानी–रिहार–लुम्बिनी–रिडी–सुपादेउराली–स्वर्गद्वारी–रुन्टीगढी–बाह्रकुने नयाँ पर्यटन सर्किट विकास गरिनेछ ।

–  बङ्गलाचुलीलाई पर्यटनको केन्द्र बनाइनेछ ।

–  दाङमा आउने पर्यटकलाई प्युठानको स्वर्गद्वारी, रोल्पाको होलेरी हुँदै जलजला, सल्यानको छायाक्षेत्र, खैराबाङ, कुपिन्डे हुँदै रुकुमको स्यार्पूसम्म सहज रूपमा भ्रमण गर्न सक्ने गरी धार्मिक तथा सांस्कृतिक पर्यटन सञ्जाल विकास गरिनेछ ।

–  सिद्धरत्ननाथ मन्दिर चौघेरा, अम्बिकेश्वरी मन्दिर अम्बापुर, मन्ठो¥या मन्दिर नारायणपुर, शिवालय बिजौरी, पाण्डवेश्वर मन्दिर धारपानी, बाघनाथबाबा जङ्गलकुटी, देवीकोट मन्दिर, उजा मन्दिर, बराह क्षेत्र, रिहार क्षेत्र, कालिका–मालिका मन्दिर छिल्लीकोट तथा थारु समुदायका भुँइह्यार थानलगायतका धार्मिक स्थानहरूको संरक्षण र विकास गरिनेछ ।

–  पुरन्धारा झरना, जखेरा ताल, बाह्रकुने दह, चमेरे गुफा, सवारीकोट लगायतका पर्यटकीय स्थलहरूको विकास गरी आन्तरिक पर्यटनको विकास गरिनेछ ।

–  घोरदौरा, सुनकोट, सवारीकोटमा प्याराग्लाइडिङको लागि थप अध्ययन गरिनेछ ।

–  विभिन्न जाति तथा समुदायका सघन बस्तीहरूमा होमस्टेको व्यवस्था गरिनेछ ।

 

९. युवा तथा रोजगार

–  स्थानीय उत्पादनको माध्यमबाट रोजगारी सिर्जना गरिनेछ ।

–  युवा प्रतिभाहरूको खोजी गरी उनीहरूले गरेका आविष्कारहरूलाई प्रोत्साहन, प्रवद्र्धन र बजारीकरण गरिनेछ ।

–  प्रदेश राजधानी निर्माण पूर्वाधार विकासमा युवालाई संलग्न गराई रोजगारीका अवसरहरू उपलब्ध गराइनेछ ।

–  आफ्नै पेशा, व्यवसाय सञ्चालन गर्न चाहनेलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् सहजरूपमा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराइनेछ ।

–  सहकारी अभियानमार्फत् धेरैभन्दा धेरै जनतालाई आबद्ध गराई उत्पादन, खरिद र बिक्री सहकारीमार्फत् गर्न प्रोत्साहन गरिनेछ ।

–  प्रत्येक परिवारमा कम्तीमा एक सदस्यले रोजगारी पाउने व्यवस्था गरिनेछ ।

 

१०. खेलकुद

–  जिल्लामा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गरिनेछ ।

–  घोराही र लमहीमा निर्माणाधीन क्रिकेट मैदानलाई पूर्णता दिइनेछ । साथै जिल्लाभरि निर्माण भइरहेका खेलमैदानहरूलाई पूर्णता दिई एक वडा एक खेलमैदानको अवधारणालाई लागू गरिनेछ ।

–  विभिन्न इन्डोर खेलका लागि कवर्ड हल निर्माण गरिनेछ ।

–  हरेक विद्यालयमा खेल मैदान तथा खेल शिक्षकको व्यवस्था अनिवार्य गरिनेछ ।

–  खेल क्षेत्र तथा सामुदायिक विकासका लागि युवा क्लबहरूलाई प्रोत्साहन गरिनेछ साथै दाङमा प्रादेशिक खेलकूद आवासीय विद्यालय स्थापना गरिनेछ ।

 

११. सामाजिक सुरक्षा

–  सामाजिक सुरक्षा भत्ता मासिक रु. ५ हजार पुर्याइनेछ ।

–  ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायातमा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिनेछ ।

–  सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण तथा न्यानो कपडाका लागि स्थानीय तहमार्फत् रु. ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिइनेछ ।

–  जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ताका परिवार, घाइते तथा अपाङ्गहरूलाई उत्पादन कार्य र रोजगारीमा विशेष प्राथमिकता दिइनेछ ।

–  योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका माध्यमबाट सबै प्रकारका श्रमिक र कर्मचारीको स्वास्थ्य, शिक्षा, निवृत्तिभरण आदिको व्यवस्था गरिनेछ ।

–  बालश्रम, लैंगिक विभेद, बलात्कार, यौन शोषण, बालविवाह र मानव ओसारपसार तथा बेचबिखनलाई कानुनको प्रभावकारी प्रयोग गरी नियन्त्रण गरिनेछ ।

 

१२. भूमि

–  वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गरिनेछ ।

–  भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गरिनेछ ।

–  भूमिको प्रयोग सम्बन्धमा भू–उपयोग नीति तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

–  कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गरिनेछ ।

–  मुक्त कमैया तथा पूर्वकमलरीहरूका लागि रोजगारी तथा अवसरहरूमा विशेष कार्यक्रम ल्याइनेछ ।

–  वास्तविक भूमिहीनहरू (सुकुम्बासी)को पहिचान गरी उनीहरूका लागि ‘जनता आवास कार्यक्रम’ लागू गरिनेछ ।

 

१३. सञ्चार तथा प्रविधि

–  जिल्लाका छापा तथा विद्युतीय सञ्चारमाध्यामहरूलाई विकासमैत्री सामग्री प्रकाशन प्रसारण गर्न प्रोत्साहन गरिनेछ ।

–  दाङ जिल्लामा एक भिडियो कन्फ्रेन्स हल निर्माण गरिनेछ ।

–  दाङ जिल्लालाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गरिनेछ ।

–  सञ्चारमाध्यमलाई सेवामूलक उद्योगका रूपमा मान्यता दिई आवश्यक सहुलियत प्रदान गरिनेछ ।

–  अस्पताल, बसपार्क, पार्कलगायतका ठाउँहरूमा फ्री वाइफाइ सेवाको व्यवस्था गरिनेछ ।

–  सरकारी कार्यालयहरूलाई कागजविहीन (पेपरलेस) बनाउने प्रक्रिया सुरु गरिनेछ ।

 

१४. कला, साहित्य र संस्कृति

–  प्रदेशस्तरीय कलासाहित्य तथा संस्कृति प्रतिष्ठानको स्थापना गरिनेछ ।

–  कला साहित्य तथा संस्कृतिको व्यवस्थित अध्ययन र अनुसन्धान गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

–  सिर्जनामा संलग्न अग्रज र युवा पुस्ताका स्रष्टाहरूलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।

–  पुरातात्विक र ऐतिहासिक महत्व बोकेको सुकौराको दंशीशरण दरबार, ग्वारखोला सभ्यता, तुही दाङको पुरातात्विक उत्खनन्, संरक्षण र सम्बद्र्धन गरिनेछ ।

–  थारु, मगर तथा अवधि समुदायको भेषभुषा, कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका बहुसांस्कृतिक सङ्ग्रहालय स्थापना गरिनेछ ।

–  सामाजिक विभेद, छुवाछूत, अन्धविश्वास, घरेलु हिंसा, दाइजो प्रथा, बोक्सी प्रथाजस्ता कुसंस्कार विरुद्ध सामाजिक सचेतना अभियान सञ्चालन गर्नुका साथै यससम्बन्धी कानुन कडाइपूर्वक लागू गरिनेछ ।

 

१५. सुशासन

–  कुनै पनि भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू गरिनेछ ।

–  सेवा प्रवाह गर्ने निकायहरूको पारदर्शिता, असल आचरण र जवाफदेहिताको ग्यारेन्टी गरिनेछ ।

–  सरकारी कार्यालयहरूमा सम्पूर्ण आर्थिक कारोबारलाई नगदविहीन मुद्रा प्रणालीमा आबद्ध गरिनेछ ।

–  गरिब, असहाय तथा पिछडिएका व्यक्तिहरूका लागि निःशुल्क कानुनी परामर्श तथा सहयोगको व्यवस्था गरिनेछ ।

–  प्रशासन सेवालाई जनमुखी, राष्ट्रहित र जनताप्रति उत्तरदायी बनाइनेछ ।

–  सामाजिक सद्भाव र पारस्पारिक सम्मानको संस्कार विकास गरिनेछ ।

 

१६. वातावरण तथा हरित अर्थतन्त्र

–  दाङको भौगोलिक स्वरूपअनुसार वातावरण संरक्षण गरिनेछ । विशेषगरी महाभारत शृङ्खला र चुरेभावर संरक्षण विकास र उपयोगको गुरुयोजना तयार पारिनेछ ।

–  जलाधार, पानीको मूल संरक्षणका लागि बाँध निर्माण गरी सिंचाइ, खानेपानी, विद्युतका लागि विशेष रणनीति बनाइनेछ ।

–  वातानुकूलित कृषि प्रणालीको विकास गर्न दाङ र देउखुरीमा दिगो कृषि प्रणाली (क्लाइमेट स्मार्ट एग्रिकल्चर) को रणनीति तयार पारिनेछ ।

–  स्थानीय समुदायको जल, जमिन र जङ्गलमा रहेको अधिकारलाई सुनिश्चित गरिनेछ ।

–  प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि समुदायसँग सहकार्य गरिनेछ ।

–  गल्ने फोहोरलाई दिगो व्यवस्थापन गर्न जैविक ऊर्जा र प्राङ्गारिक मल उत्पादनमा प्रयोग गरिनेछ ।

 

धन्यवाद !

अन्य उम्मेदवारको घोषणापत्र

 

अर्घाखाँची बामगठबन्धनका प्रतिनीधिसभा उम्मेदवार टोपबहादुर रायमाझीको यस्तो छ घोषणापत्र

यस्तो छ लोकतान्त्रिक गठबन्धन रसुवाका उम्मेदवारको प्रतिबद्धता पत्र

यस्तो छ नयाँ शक्ति रुकुम पश्चिमका प्रतिनिधि सभा उम्मेदवार शरुण वाँठा मगरको प्रतिबद्धतापत्र

मोरङ ६ का उम्मेदवार डा. शेखर कोइरालाको यस्तो छ घोषणापत्र

माओवादी केन्द्र रुकुम (पश्चिम) का उम्मेदवार जनार्दन शर्माको यस्तो छ घोषणापत्र

गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराईको यस्तो छ घोषणापत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप