मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विपद्को दिगो व्यवस्थापनका लागि डोजरे विकासको अन्त्य हुनुपर्छ : श्रेष्ठ

आइतबार, २९ फागुन २०७८, १७ : ११
आइतबार, २९ फागुन २०७८

बागमती प्रदेशका सांसद् विराजभक्त श्रेष्ठले विपद्को दिगो व्यवस्थापनका लागि अव्यवस्थित विकास प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताए । उनले आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ संशोधनको लागि बनेको विद्येयक माथिको छलफलका क्रममा अव्यवस्थित रुपमा हुने गरेको विकासले थप जटिलता भएको बताए ।

उनले डोजरे विकास कायम रहेसम्म विपद्ले बागमती प्रदेश आक्रान्त भइरहने बताए । डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन भएको उनले बताए । ‘विपद्को मुख्य कारण भनेको हाम्रो समाजमा रहेको डोजरे विकास हो । यसको अन्त्य नै विपद् व्यवस्थापनको दिगो उपाय हो ।’ उनले भने ।

उनले विपद् व्यवस्थापनको लागि बायो इन्जिनियरीङ्गका प्रविधिहरू अपनाउन जरुरी रहेको औंल्याए । बायो इन्जिनियरीङ्गका सफल प्रविधिहरू प्रयोग गरेर विपद् व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । हालसम्म सरकारले बायो इन्जिनियरीङ्गका प्रविधिहरू प्रयोग नगर्दा वर्षेनि त्यस्ता घटनाहरुबाट धेरै क्षति हुने गरेको उनले बताए । बायो इन्जिनियरीङ्गका प्रविधिहरू प्रयोग गर्दा सम्बन्धित क्षेत्रको जैविक विविधताको समेत संरक्षण हुने भएकाले यस तर्फ सरकारको नीति केन्द्रीत हुनुपर्ने उनले बताए ।

सरकारले विपद् व्यवस्थापनको लागि पूर्व तयारी नगर्दा समस्या हुने गरेको उनको भनाइ छ । सरकारले विपद् पछि अवलोकनका नाममा हेलिकप्टरमा गएर उँचालाउ र चिउरा बाड्ने प्रवृत्तिको अन्त्य गरी दिगो व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप