आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देउवालाई भीम रावलको जवाफ : मेरो होइन उहाँको दिमाग खुस्केको हुनुपर्छ

सोमबार, ३० फागुन २०७८, १६ : २०
सोमबार, ३० फागुन २०७८

एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलमाथि आक्रोश पोखेपछि रावलले पनि जवाफ फर्काएका छन् । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले  एमाले नेता रावल आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएरमात्र  विरोध गरेको भन्दै आक्रोश पोखेका थिए । उनले ‘रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुईजिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको रु त्यसबेला ‘दिमाग खुस्केको थियो’ भन्दै आक्रोश पोखेका थिए । 

यसबारे ट्वीटरमार्फत जवाफ फर्काउँदै रावलले आफू केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उपप्रम र रक्षा मन्त्री भएको उल्लेख गर्दै ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला नभएको बताएका छन् । ‘अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहीत विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ उनले भनेका छन् । 

 एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई आफूले तथ्यगतरूपमा सार्वजनिक गर्दा देउवा आक्रोशित भएको पनि उनको भनाइ छ । ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने देउवाको प्रश्नमा जवाफ फर्काउँदै रावलले भनेका छन्, ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो।’ रावलले देउवालाई थप वहस गर्ने इच्छा भए आफू तयार भएको पनि बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप