सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला भलिबल : पुलिस क्लब र त्रिभुवन आर्मी विजयी

बिहीबार, १० चैत २०७८, २० : ५८
बिहीबार, १० चैत २०७८

नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा बिहीबारदेखि सुरु भएको आठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित हासिल गरेका छन् । 

पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् ।

उनलाई नेपाली सेनाका सहसेनानी जनमत कार्की, पुर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजित कुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे । 

त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफल भयो । त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् ।

 उनलाई पुर्व खेलकुद प्रशासक अशोकजंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, मिठो छ टिटका संस्थापक सौभाग्यजंग शाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे । 

यसअघि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले पिएम कप आठौं संस्करणको उद्घाटन गरेका थिए । भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गरेका थिए । उदघाटन मन्तव्य दिंदै मन्त्री अथकले पिएम कपलाई नेपाल सरकारको रातो किताबमा उच्च प्राथमिकताका साथ समावेश गर्ने बताए । 

लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल नेपाल पुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब९भारत० तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर (छत्तीसगढ भारत)को हुनेछ । 

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप