शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट महँगो बिजुली आयात : महसुल दर बढ्ला ?

शुक्रबार, ११ चैत २०७८, १४ : १२
शुक्रबार, ११ चैत २०७८

नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट २०० मेगावाट बिजुली आयात थालेको हो ।

कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण कोइलाको भाउ बढेपछि भारतमा पनि बिजुलीको भाउ आकासिएको छ । अघिल्लो वर्ष मार्चमा ९० हाराहारी रहेको कोइलाको मूल्य यो मार्चमा अमेरिकी डलर ४२२ सम्म पुगेको छ । भारतमा ६० प्रतिशतभन्दा बढी विद्युत कोइला जलाएर निकालिन्छ ।

भारतले नेपाललाई कोइला थर्मल प्लान्टबाट उत्पादन गरेको बिजुली नै बेच्ने गरेको छ । कोइलाको भाउ नै बढेकाले उत्पादित बिजुलीको मूल्य भारतमै बढेको छ । त्यसैले, प्राधिकरणले भारतबाट चर्को मूल्य तिरेर बिजुली आयात गर्नुपरेको हो । यसरी उत्पादन गरिएको बिजुलीको मूल्य भारु ५० भन्दा पनि माथि पुग्ने आंकलन त्यहाँका अधिकारीहरूले गरेका छन् । 

नेपाल विद्युत प्राधिकरणले नै महँगोमा किनेकाले उपभोक्ताले पनि यो महिनाको विद्युत महसुल धेरै तिर्नुपर्ने हल्ला चल्न थालेको छ । तर, प्राधिकरणले उपभोक्तामाथि तत्कालै महसुल भार नबढाउने जनाएको छ । विद्युत व्यवस्था र वितरण प्राधिकरणले गरे पनि महसुल थपघट गर्ने निकाय विद्युत महसुल निर्धारण आयोग हो । 

उद्योगलाई बिजुली नदिँदा औद्योगिक ग्राहकको मनोबल नै खस्किने र अर्थतन्त्रमै असर पर्ने देखिएकाले प्राधिकरणले घाटा खाएरै भारतबाट महँगो दरमा बिजुली किनेर उपलब्ध गराइरहेको भट्टराईले बताए । भोलि (शनिबार) का लागि पनि भारतको ऊर्जा बजारमा आजै बोलकबोल गर्न लागिएको उनले जानकारी दिए । तर, प्राधिकरणले जति महँगो या सस्तोमा बिजुली खरिद र वितरण गरेपनि आयोगले निर्णय नगरेसम्म विद्युत महसुल नबढ्ने उनको भनाइ छ ।

भारतमा बिजुलीको भाउ बढेपछि प्राधिकरणले केही दिन त्यहाँबाट विद्युत आपूर्ति गर्न सकेको थिएन । प्राधिकरणले प्रस्ताव गरेको दर भारतको आइईएक्सका ९६ वटै ब्लकमा मेल नखाएपछि बिजुली आयात रोकिएको थियो । आयात रोकिएपछि प्राधिकरणले उद्योगलाई मागबमोजिम बिजुली उपलब्ध गराउन सकेको थिएन ।

उद्योगीहरूले विद्युत आपूर्ति अवरोधका कारण उद्योग चलाउन समस्या भएको भन्दै हल्लाखल्ला गरेका थिए । हालका प्रबन्ध निर्देशक कुलमान घिसिङको विरोध गर्ने मौका खोजिरहेका प्राधिकरणका केही पूर्व कार्यकारी निर्देशकहरूको उक्साहटमा ‘कुलमान असफल’ भन्दै मिडियाबाजी नै भएको थियो ।

हाल (सुख्यायाममा) नेपालभित्र करिब १२ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ । दैनिक माग भने १६०० मेगावाट छ । ४०० मेगावाट विद्युत अपुग छ । भारतबाट आयात गरी विद्युत आपूर्ति गर्ने गरिएको छ । नेपालभित्र हाल उत्पादित विद्युत घरायसी र केही उद्योगलाई समेत पुग्ने मात्रामा भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । तर, सबै उद्योगधन्दा चलाउँदा भने आन्तरिक उत्पादन अपुग हुने गरेको उनीहरूको भनाइ छ । 

सबै लागत जोड्दा भारतबाट आयात गरिएको एक युनिट बिजुलीको मूल्य ३८ रुपैयाँ पर्न जान्छ । आज भारतले ४८ लाख युनिट बिजुली आयात गर्दैछ, जसको लागत १८ करोड २४ रुपैयाँ रुपैयाँ पर्छ । तर, प्राधिकरणले उद्योगहरूलाई भने प्रतियुनिट न्यूनतम ९ रुपैयाँमै बिजुली दिनेछ । यसरी घाटा खाएर बिजुली बेच्दा एकै दिनमा १३ करोड ९० लाख रुपैयाँभन्दा धेरै नोक्सानी व्यहोर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप