बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च, कहाँ कति ?

मङ्गलबार, १५ चैत २०७८, १४ : ३८
मङ्गलबार, १५ चैत २०७८

गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गर्नुभएको हो ।

२०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्त सम्म बैंक खातामा १३ लाख ६६ हजार ३ सय ६० जम्मा भएको मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उहाँले जानकारी गराए । उनले तलव भत्ता र सेवा सुविधाको रकममा व्यक्तिगत रकम थप गरी खर्च गरेका हुन् । खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको बताए । ‘राजनीति मेरा लागि सेवा हो । पेशाका रुपमा कदापी लिएको छैन । मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु ।’, उनले भने । 

मन्त्री थापाले आफू प्रदेश सांसद हुँदा र अहिले मन्त्रीका हुँदा प्रदेश सरकारबाट प्राप्त सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको र प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा समेत नलिएको जानकारी गराए । उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे । 

कुन शीर्षकमा कति खर्च ?
मन्त्री थापाले पोखरा २१ निर्मलपोखरीस्थित चिलाउने खर्कदेखि सुरौदीसम्म ग्रामीण सडक मर्मतका लागि ४७ हजार तीन सय रुपैयाँ सहयोग गरेका छन् । पोखरा ११ का महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविरका लागि उनले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । नागरिक परोपकार समन्वय संस्था पोखरा ३२ मा एम्बुलेन्स खरिदका लागि ५५ हजार रुपैयाँ, सिंहनाथ टोल विकास संस्था मोहरियाको बाल गोपाल भवन निर्माणका ५१ हजार रुपैयाँ, पोखरा २० भलाममा प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त घर पुनर्निर्माणका लागि स्थानीय गोपाल परियारलाई १७ हजार ७ सय ९७ रुपैयाँ सहयोग गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

मन्त्री थापाका अनुसार जनजागृती आधारभूत विद्यालय पोखरा ३३ मा युरोगार्ड र खानेपानी ट्याङकी खरिदका लागि ५३ हजार रुपैयाँ, पोखरा ८ र ९ का विभिन्न टोल स्थानमा सडक बत्ती (अटोमेटिक लाइट)  खरिद र जडानका लागि १ लाख २४ हजार रुपैयाँ, पोखरा १६ स्थित नमूना युवा क्लब, नौधारे युवा क्लब, झुपराङकोट युवा क्लब गल्र्याङ र नवज्योती युवा क्लब कालीमुँडालाई खेलकुद सामाग्री सहयोग शिर्षकमा २८ हजार रुपैयाँ सहयोग गरिएको छ । 
नयाँगाउँ प्रतिभा टोल विकास संस्था पोखरा २५ मा सामाजिक भवन निर्माणका लागि २५ हजार रुपैयाँ, पोखरा २४ स्थित लौरुक युवा क्लब, डाँडापारी युवा क्लब र बाँसकोट युवा क्लबलाई खेलकुद सामाग्री सहयोग शिर्षकमा १७ हजार रुपैयाँ, गन्दर्भ आमा समूह पोखरा १६ लाई भाँडाकुँडा लगायतको सहयोग सामाग्री शिर्षकमा २८ हजार रुपैयाँ मन्त्री थापाले सहयोग गरेका छन् । पोखरा २० घारी भलाममा खानेपानी पाइपका लागि ३३ हजार रुपैयाँ, अनुशासित आमा समूह पोखरा ३३ का महिला दिदीबहिनीहरुको सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमका लागि २५ हजार रुपैयाँ, चिसाखोला वेदविद्याश्रमलाई २० हजार रुपैयाँ, सिदार्थ नमूना दिदीबहिनी समूह पोखरा १७ मा कुर्सी र अफिस दराज सहयोग शिर्षकमा २५ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । 

यसैगरी मोहरिया परियार समाजलाई लोकबाजा खरिदका लागि ३० हजार रुपैयाँ, पोखरा ३३ स्थित उपल्लोपुँडी, तल्लोपुँडी, ठूलोपाखा, आँपुकसेरी, मालागिरी, बरपौवा, चिसापानी, बरमास्थर, भर्तीपोखरा, सिंगारेबास, जिब्रेढुंगा, सुरताङ, खैरहनी, लाम्गादी र पानीट्याङकीका युवाहरुलाई खेलकुद सामाग्री सहयोग शिर्षकमा ६७ हजार ५ सय रुपैयाँ, पोखरा १६ स्थित तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोग शिर्षकमा ६५ हजार रुपैयाँ सहयोग गरिएको छ । 

प्रतिभा मार्ग पोखरा ८ मा कन्भेक्स मिरर जडान गर्न १५ हजार रुपैयाँ, पोखरा २० आँटीघर मछाप हात्तिगौँडा समाजको सामाजिक भवन निर्माणका लागि ३० हजार रुपैयाँ, हंशपुर एग्रो फार्म रुपागाउँपालिका ७ मा कृषि सामाग्री सहयोगका लागि १० हजार रुपैयाँ, नवजागरण युवा क्लब पोखरा २८ लाई २० हजार रुपैयाँ आर्थिक सहयोग मन्त्री थापाले गरेका छन् । पोखरा २१ की लिलाकुमारी थापालाई कृषि सामाग्री सहयोग शिर्षकमा ३० हजार, सिदार्थ नमूना दिदीबहिनी समूह पोखरा १७ लाई टेबल, कुर्सी, अफिस दराज सहयोग शिर्षकमा २५ हजार रुपैयाँ, श्री विरेन्द्र स्मृति पार्क संरक्षण समिति पोखरा ३ मा पार्क संरक्षण तथा सौन्दर्यकरण गर्न ५ हजार रुपैयाँ, पृथ्वीनारायण क्याम्पस कानुन संकायमा अध्ययनरत विद्यार्थी बीच संवैधानिक बहस शिर्षकमा १० हजार रुपैयाँ, मानवअधिकार तथा शान्ति समाज लाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

मन्त्री थापाले जारी गरेको खर्च विवरणमा नयाँबजार युवा क्लब पोखरा ९ लाई खेलकुद सामाग्री सहयोग बापत २१ हजार ८ सय ६० रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै नेपाल क्योकुशिन कान कराँते संघलाई १० हजार रुपैयाँ, चापाकोट देउराली सामुदायिक होमस्टे पोखरा २३ लाई पूर्वाधार निर्माणका लागि १५ हजार रुपैयाँ, ज्येष्ठ नागरिक सरोकार समाज पोखरा ९ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्न १० हजार रुपैयाँ खर्च गरिएको छ । 

पोखरा १६ का अजय गुरुङलाई कृषि सामाग्री सहयोग शिर्षकमा २१ हजार ७ सय रुपैयाँ, परोपकार आमा समूह पोखरा ३२ मा बहुउद्देश्यीय भवन निर्माण शिर्षकमा २५ हजार रुपैयाँ, पोखरा ११, १६,२०,२१,२४,३३ मा तारजाली र पाइप खरिद शिर्षकमा २ लाख ५६ हजार रुपैयाँ, टाइगर ग्रुप अफ कपको भलिबल प्रतियोगितालाई २५ हजार रुपैयाँ, पोखरा ८,११,१६ र ९ को शान्तिघाटमा सडकबत्ती र फोकस लाइट खरिदमा १ लाख ४२ हजार ७ सय ५० रुपैयाँ खर्च भएको मन्त्री थापाले जानकारी गराए । उनले पोखरा ३२ का क्यान्सर बिरामी शिवराज सापकोटालाई १० हजार रुपैयाँ, पोखरा २६ स्थित विजयपुर युवा मञ्चलाई ७ हजार रुपैयाँ र स्टेप अप क्याम्पियन २ लाई सफल पार्न २० हजार रुपैयाँ लगायतका सामाजिक कार्यमा खर्च गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप