बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका २१ ठाउँ ‘ब्ल्याक स्पट’

दुर्घटनाको मुख्य कारण तीव्र गति
शनिबार, २६ चैत २०७८, ०६ : १६
शनिबार, २६ चैत २०७८

काठमाडौँ उपत्यकामा सडकको अनुपातमा सवारी साधनको चाप अत्यधिक छ । त्यसमा पनि केही क्षेत्र सवारी दुर्घटनाका दृष्टिले जोखिमपूर्ण मानिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ठाउँठाउँमा ‘बढी दुर्घटना हुने क्षेत्र’ र ‘दुर्घटना सम्भावित क्षेत्र’ लेखिएको बोर्ड राखिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले धेरै पटक सवारी दुर्घटना हुने गरेको खास ठाउँलाई ‘दुर्घटना सम्भावित क्षेत्र’ भनेर वर्गीकरण गर्ने गरेको छ । महाशाखा बाहेक स्थानीय समूह र संघ संस्थाले पनि त्यस्ता दुर्घटनास्थलको सूचना राख्ने गरेका छन् ।

भक्तपुरमा अत्यधिक दुर्घटना हुने क्षेत्र अर्थात् ‘ब्ल्याक स्पट’ चार वटा छन् । ट्राफिक प्रहरी महाशाखाको रेकर्ड अनुसार भक्तपुरको सिर्जनानगर, एसएस चोक, ठिमी चारदोबाटो र कौशलटारमा अत्यधिक दुर्घटना हुने गरेको छ ।

यस्तै, ललितपुरको बीएण्डबी अस्पताल अगाडिको ओरालो पनि धेरै सवारी दुर्घटना हुने क्षेत्रमा पर्छ । महाशाखाका अनुसार एकान्तकुनादेखि बल्खु सडकखण्डमा एकान्तकुना, बागडोल र धोवीघाटमा धेरै दुर्घटना हुने गर्छ । बल्खु–कलंकी सडकखण्डमा बल्खु चोक र सीता पेट्रोल पम्प अगाडिको सडकमा बारम्बार सवारी दुर्घटना हुने गरेको छ ।

दुर्घटना संभावित क्षेत्र तोक्ने कुनै आधार नभएको तर, धेरै दुर्घटना हुने गरेको रेकर्डका आधारमा त्यस्ता ठाउँलाई ‘रिस्क जोन’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए ।

काठमाडौँ जिल्लाभित्र हलचोक र सानो भर्‍याङ दुर्घटना सम्भावित क्षेत्रमा पर्छन् । बालाजुदेखि सामाखुसीसम्म बसपार्क गेट, बिजीमल अगाडिको सडक, माछापोखरी र सामाखुसीमा धेरै दुर्घटना हुन्छ ।

महाशाखाका अनुसार चप्पल कारखानादेखि गोपीकृष्ण हलसम्मको सडकमा धुम्बाराही र सुकेधारामा धेरै दुर्घटना हुन्छ । यस्तै, सिनामंगलदेखि तीनकुनेको मुनिभैरव मन्दिरसम्मको सडक खण्डमा कार्गो अफिस, गैरिगाउँ र मुनिभैरव मन्दिर क्षेत्रमा धेरै दुर्घटना हुन्छ ।

दुर्घटनाको मुख्य कारण तीव्र गति

काठमाडौँ उपत्यकामा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाको संख्या उल्लेख्य रहने गरेको ट्राफिक प्रहरी महाशाखाको प्रक्षेपण छ । दुर्घटना नियन्त्रणका लागि महाशाखाले राडार गन मार्फत सवारीको गति मापन गर्दै आएको छ । भक्तपुरस्थित सूर्यविनायक, गठ्ठाघर, ललितपुरस्थित सानेपा र सातदोबाटोमा राडार गन स्टेसन राखिएको छ ।

राडार गनले प्रति किलोमिटर ६० भन्दा बढी सवारी दौडाएमा १ किलोमिटर परको सवारीलाई ‘डिटेक्ट’ गर्छ ।  राडार गनले डिटेक्ट गरेको सवारी साधनलाई १ हजार जरिवाना गर्ने गरिएको एसपी शर्माले बताए ।

राडार गनको प्रयोग र अन्य तवरबाट गति नियन्त्रण अभियान चलाएपछि विगत दुई वर्षको तुलनामा यस वर्ष दुर्घटना घटेको छ । २०७८ साउनपछि काठमाडौँ उपत्यकामा ६ हजार २१ वटा सवारी दुर्घटना भएका छन् । यो आर्थिक वर्षमा दुर्घटनाबाट ९० जनाको मृत्यु भएको छ ।

गत आर्थिक वर्षमा ९ हजार ५४५ वटा सवारी दुर्घटना भएको थियो । गत आर्थिक वर्षमा दुर्घटनामा परेर १ सय ६६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

(फोटो : कृष्ण खड्का)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप