मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा धमाधम उम्मेदवार छान्दै एमाले, गठबन्धनमा सकस

बुधबार, ३० चैत २०७८, १५ : ०२
बुधबार, ३० चैत २०७८

 कर्णाली प्रदेशका पालिकाहरुमा एमालेले धमाधम उम्मेदवार छनोट गरिरहेको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीमा एमालेले धेरैजसो पालिका र वडा तहमा उम्मेदवार छनोट गर्ने कार्य सकाएको  छ । उता पाँचदलीय सत्ता गठबन्धन संयन्त्र भने भागवण्डाको गृहकार्यमा नै व्यस्त छ । त्यसैले उम्मेदवार छनोटमा ढिलाई भइरहेको छ । 

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहका अनुसार जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाईसकिएको छ । यो नगरपालिकामा अहिलेका मेयर सीपी घर्ती नै मेयरको उम्मेदवार बनेका छन् । यस्तै यो पालिकाका पाँच वटा वडाहरुमा पनि सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरिसकिएको छ । बारेकोट गाउँपालिकामा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार वीरबहादुर गिरी अध्यक्षको उम्मेदवार बनेका छन् भने कुशे गाउँपालिकामा पनि उम्मेदवारको टुंगो लगाईसकिएको छ । शाहका अनुसार जाजरकोटका ७७ वटा वडा तहमध्ये ४० वडामा निर्विरोध उम्मेदवार चयन भइसकेका छन् ।  

यस्तै ०७४ मा एमालेले धेरै स्थान जितेको दैलेखमा पनि उम्मेदवारहरुको टुंगो करिब–करिब अन्तिम चरणमा रहेको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पूर्व जिल्ला उपसभापति सूर्यबहादुर शाहीलाई उम्मेदवार बनाएएको छ । यहाँका तीन वटा वडाहरुमा पनि सर्वसम्मत रुपमा उम्मेदवारहरुको टुंगो लागिसकेको छ । 

दैलेखको आठबीस नगरपालिकामा पनि उम्मेदवारका लागि तर्क बडुवाल र खड्ग उपाध्यायको नाम सिफारिस भएको छ । दुल्लु नगरपालिकामा युवा नेता रुद्र शाही, हर्क बडुवाल उम्मेदवार बनेका छन् । यहाँ उम्मेदवारको लागि मतदान हुँदा शाहीले अग्रमत ल्याएका थिए । कालीकोटको नरहरिनाथ गाउँपालिकामा एमालेले टेक बहादुर बुढालाई उम्मेदवार बनाएको छ । 

जुम्लामा कनकासुन्दरी गाउँपालिका मानमा बहादुर रोकाया उम्मेदवार बनेको छन् भने हिमा गाउँपालिकामा अध्यक्षका लागि जयबहादुर खत्री, उपाध्यक्षका लागि भागीरथी शाही उम्मेदवार बनेकी छन् । जुम्लाकै पातारशी गाउँपालिकामा सुकराम रावत अध्यक्ष र खम्मेनी महतरा उपाध्यक्षको उम्मेदवार बनेकी छन् । 

उमाले प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाहले रातोपाटीसँग भने, ‘हाम्रो बटमलाईन भनेको बुधबार नै उम्मेदवारहरुको अन्तिम टुंगो लगाउने भन्ने हो । तर छलफल, गृहकार्य चलिरहेकाले बिहीबारसम्म जिल्लामा सिफारिस भैसक्ने छ भने शुक्रबारसम्म प्रदेश कमिटीसम्म अन्तिम नाम परिणाम आउनेछ ।’ 

अलमलमा गठबन्धन
यता गठबन्धनका दलहरु पनि उम्मेदवारको टुंगो लगाउने गृहकार्यमा जुटिरहेका छन् । तर गठबन्धनभित्रको मोडालिटीको विषयमा केन्द्रबाट अन्तिम निष्कर्ष आई नसकेकाले उम्मेदवार छनोट गर्न कठिनाई भैरहेको नेताहरु बताउँछन् । नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाही उम्मेदवारहरु सिफारिस हुने क्रम जारी रहेको र जिल्ला हुँदै प्रदेशमा आउने क्रम जारी रहेको बताउँछन् । यद्यपी अहिलेसम्म कुनैपनि पालिकाको एकल उम्मेदवार फिक्सको नामावली प्रदेश कमिटीमा नआएको उनले बताए । 

नेकपा (एकीकृत समाजवादी) पनि उम्मेदवार टुंगो लगाउने विषयमा अग्रसर बनिरहेको छ । यद्यपि, मंगलबार केन्द्रीय गठबन्धन संयन्त्रको भागवण्डा मोडालिटी अनुसार अघि बढेमा एकीकृत समाजवादी फाइदामा पर्ने देखिन्छ । एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले उम्मेदवारको टुंगो लगाउने प्रक्रिया जारी रहेको बताउँछन् । माओवादी केन्द्रले पनि उम्मेदवारको टुंगो लगाउने जारी रहेको बताएको छ । तथापी गठबन्धनभित्रका दलहरुको भागवण्डा के–कसरी हुन्छ ? त्यो आधारमा उम्मेदवार छनोट गर्ने तयारीमा गठबन्धन दलहरु छन् । 

के एमालेले अन्यसँग तालमेल गर्ला ? 
पार्टी विभाजनको असरले अहिले कर्णालीमा एमालेले धेरैजसो ठाउँमा गठबन्धनसँग पराजित हुने स्थिति छ । त्यसैले अन्य साना दलहरुसँग सम्बन्धित स्थानको बस्तुस्थिति हेरेर तालमेल गर्ने मुडमा देखिएको छ । एमालेका नेताहरु तालमेल गर्ने सन्दर्भमा पार्टी केन्द्रबाट कुनै सर्कुलर नआएपनि प्रदेशका पालिकाहरुमा जनाधारलाई मध्यनजर गर्दै तालमेल हुन सक्ने संकेत गर्छन् । एमाले प्रदेश अध्यक्ष शाहीले पनि तालमेल हुन सक्ने संकेत गरे । उनले रातोपाटीसँग भने,‘यो विषयमा औपचारिक रुपमा त फाइनल भएको छैन । तर अनौपचारिक रुपमा धेरैजसो ठाउँमा ‘लबिङ’ भैरहेको छ ।’ 

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गठबन्धन मिल्दा एमाले पराजित हुने आँकलन गरेपछि नेमकिपासँग तालमेल गर्न एमालेले छलफल चलाइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी एक नेतृका अनुसार तालमेलका सन्दर्भमा एमालेसँग त्यस्तो ठोस कुनै कुरा अगाडि बढिरहेको छैन । ०७४ मा कर्णालीका अधिकाँश पालिकामा राप्रपाले पनि आफ्नो उपस्थिति जनाएको देखिन्छ भने चौथो स्थानमा आफूलाई उभ्याएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप