सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कुटपिटसम्बन्धी कसुर अन्तर्गत सजाय

छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु, रिहा भएलगत्तै अभियुक्त विदेशमा
बिहीबार, ०१ वैशाख २०७९, ०९ : ४९
बिहीबार, ०१ वैशाख २०७९

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ स्थित बहुअर्वा गाउँका सरोजकुमार मण्डलमाथि ७ महिना अघि छुरा प्रहार भएको थियो । उपचारकै क्रममा उनको सोमबार निधन भएको छ । तर, उनलाई छुरा प्रहार गर्ने व्यक्तिलाई भने अदालतले उपचार खर्च व्यहोर्ने गरी यस अघि नै रिहा गरिसकेकाले पीडित परिवारले न्यायको अनुभूति गर्न पाएका छैनन् ।

गत भदौ २६ गते राति गणेश पूजाको क्रममा सरोजकुमारमाथि स्थानीय एक समूहले छुरा प्रहार गरेको थियो । बहुअर्वा गाउँमा गणेश पूजाको अवसरमा आयोजित मेला हेर्न पुगेका सरोजकुमार मण्डल उक्त मेलमा दुई पक्षबीच भएको विवाद मिलाउने क्रममा आक्रमणमा परेको परिवारजनको भनाइ छ ।

मेलामा सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबिच आपसी विवाद भएको थियो । मनिष र राजीवले अमितको टाउकोमा हतियार प्रहार गरेपछि बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । सोही क्रममा बजरंग र सरोजमाथि समेत आक्रमण भयो । घरेलु हतियारसहितको समूहले बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरेको बताइएको छ ।

घाइते सरोजको अवस्था गम्भीर रहेका कारण उपचारका लागि काठमाडौं पठाइएको थियो । सोही बेलादेखि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको उपचार भइरहेको थियो ।

सो घटनापछि धनौजी गाउँपालिका वडा नम्बर ५ स्थित बहुर्अवा निवासी रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर ४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता भयो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गर्दै प्रतिवादीलाई सहज हुने गरी फैसला गरिदिएको पीडित परिवारको आरोप छ ।

गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले गरेको फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भीर घाइते सरोज मण्डलको उपचार खर्चबापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउने उल्लेख छ ।

सात महिना लामो उपचारका बाबजुद सरोजकुमारको निधन भएको छ । मृतकका बुबा रामनन्दन मण्डलले आफ्नो परिवारले न्यायको अनुभूति गर्न नसकेको बताए ।

धनौजी गाउँपालिका वडा नम्बर–५ का वडाअध्यक्ष कमलनारायण पंकजले सरोजको पेटमा गम्भीर घाउ भएको र शल्यक्रिया गरी उपचार जारी रहेको अवस्थामा अदालतले मुद्दाको शीर्षक, घाइतेको अवस्थासमेतलाई ख्याल नगरी अदालतबाट फैसला भएको बताए । ज्यान मार्ने उद्योग अन्तर्गत कारागारमा रहेका व्यक्तिलाई कुटपिट मुद्दामा परिणत गरी रिहा गरिएको उनको गुनासो छ । अदालतको फैसलाबाट रिहा भएका व्यक्ति भने केही दिनपछि नै विदेश गएका छन् ।

नेपाल बार एसोशिएसन जनकपुरधामका पूर्व अध्यक्षसमेत रहेका अधिवक्ता रमेश कुमार पाण्डेयले हतार हतारमा अदालतले फैसला गरेको भन्दै केही गडबडको अनुभूति भइरहेको बताए । उनले भने, ‘अदालतले सुनाएको फैसला जल्दबाजी हो, यसले न्यायालयमाथि नै शंका उत्पन्न गरेको छ र कहीँ कतै ठुलै गडबडी भएको छ ।’

यता जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्मअवतार कोइराला आफूहरुले ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा अदालतमा पठाए पनि कुटपिट मुद्दामा परिणत भई फैसला आएको बताए । उनले फैसला भइसकेको मुद्दामाथि आफूहरुले केही भन्न नमिल्ने तर पीडितले पुनरावेदन गर्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप