सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा गठबन्धनको चुनावी सभा : काँग्रेसका असन्तुष्टलाई मनाउने उपसभापति खड्काको प्रयास

सोमबार, २६ वैशाख २०७९, १९ : ३५
सोमबार, २६ वैशाख २०७९

सोमबार वीरेन्द्रनगरमा सत्तारुढ गठबन्धनको चुनावी सभामा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नै पार्टीका असन्तुष्ट पक्षलाई मनाउने प्रयास गरेका छन् । प्रमुख वक्ताका रुपमा चुनावी सभालाई सम्बोधन गरेका खड्काले टिकट वितरणमा केही समस्या देखिएको स्वीकार गर्दै आगामी दिनमा यस्ता समस्यालाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले पार्टीभित्रकै असन्तुष्ट पक्षलाई संकेत गर्दै आरोप–प्रत्यारोप गरेर नकारात्मक दिशातर्फ नजान आग्रहसमेत गरे । आन्तरिक झगडाका कारण विपक्षीले चुनाव जितेमा दुवै पक्षलाई फाइदा नहुने भन्दै उनले पार्टीभित्रका असन्तुष्ट पक्षलाई पनि चुनावमा साथ दिन आह्वान गरे ।

उनले पार्टीको आन्तरिक समस्या चुनावपछि बसेर समाधान गर्ने बताए । ‘जिम्मेवारीका धेरै ठाउँ छन् । मन दुखेको खण्डमा मलमपट्टी लगाउँला, अवसर नपाएका साथीहरुले गठबन्धनलाई जिताएको खण्डमा भोलि प्रदेश, संघको चुनावमा स्थान पाउनुहुन्छ,’ उनले भने, ‘तर आन्तरिक रिसइवीका कारण स्थानीय चुनाव हा¥यौं भने त्यो अवसर पनि गुमाउँछौं । त्यसैले हात जोडेर बिन्ती छ, सबै नेताहरुलाई आपसको रिसइवीलाई यही थाँती राखेर कुनै पनि तरिकाले गठबन्धनलाई हराउने खालको वातावरण बन्द गरौं ।’

खड्काले गठबन्धनभित्रको समस्या धेरै मिलाउने प्रयास गर्दा पनि नसकिएको स्वीकार गरे । उनले भने, ‘तर जे हातमा छ, त्यसैलाई लिएर जाने हो, चिमोट्ने कुरा चुनावपछि गरौंला । अहिले ओली प्रवृत्तिलाई परास्त गर्नका लागि स्थानीय चुनाव जित्ने तयारीमा लाग्नुहोस् ।’ काँग्रेस उपसभापति खड्काले गठबन्धनका उम्मेदवारले गरेका संकल्पलाई पूरा गर्नका लागि केन्द्रबाट बजेट ल्याएर भए पनि गरिछाड्ने प्रतिबद्धता समेत जनाए । उनले भने, ‘गठबन्धनका उम्मेदवारहरूले जनताका बीचमा जे संकल्प राख्नुभएको छ, ती सबै संकल्प पूरा गर्नका लागि स्थानीय तहको बजेट अपुग भए केन्द्रबाट ल्याउने जिम्मा मेरो भयो । म जिम्मेवारी लिन्छु । तर चुनाव जित्नुपर्छ ।’

उनले गठबन्धनलाई १५–२० बर्षसम्म लैजानका लागि प्रयास भइरहेको बताउँदै गठबन्धन संविधान रक्षाका लागि भएको बताए । १२ बुँदे शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि गठबन्धन अपरिहार्य भएको उनको भनाइ थियो । वीरेन्द्रनगरमा गठबन्धनबाट मेयर–उपमेयरका काँग्रेस–माओवादीको दुई दलीय गठबन्धन छ । यद्यपि, काँग्रेसकै एक पक्ष भने आफूहरुलाई उपेक्षा गरिएको भन्दै निष्क्रिय देखिएको छ । काँग्रेसको संस्थापन इतर पक्षका नेता मानिएका हृदयराम थानी भने चुनावी सभामा समेत सहभागी भएनन् ।  

इतर पक्षकै पूर्व जिल्ला सभापति कमलराज रेग्मी भने कार्यक्रममा सहभागी भए । उनले गठबन्धनबाट कर्णालीमा प्रदेशस्तरीय चुनावी सभा किन नगरेको भन्दै प्रश्न गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले ‘ओली प्रवृत्ति’लाई परास्त गर्नका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप