शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

शुक्रबार, ३० वैशाख २०७९, ०५ : ४०
शुक्रबार, ३० वैशाख २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिन सबै मतदाताप्रति हार्दिक आग्रह गरेका हुन् ।

उनले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्ने भएको हुँदा पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुन आग्रह गरे ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने महत्वपूर्ण दिन भएकाले निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्ने अवसर गौरवपूर्ण दिन पनि भएको पनि बताए ।

“कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न म सबै मतदाता महानुभावप्रति हार्दिक आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “निर्वाचनका सबै तयारी पूरा भइसकेका छन् ।” 

शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । मतदान कार्यसम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाइएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ । कुनै पनि मतदाता मतदानको अधिकारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणपत्रमध्ये कुनै प्रमाणका आधारमा विवरण यकीन गरी मतदान गर्न पाउने आवश्यक प्रबन्ध मिलाइएको छ ।

सन्देशमा आयोगको स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सम्पन्न गर्ने उद्देश्य पूरा गर्न निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण तयार गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध सरोकारवालाको सहयोग हुनेछ भन्ने विश्वास उनले व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप