शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङमा मौलायो एमाले, पाँचमध्ये चार गाउँपालिकामा ‘लालझण्डा’

काँग्रेसले २ मतले जित्यो घरपजोङ गाउँपालिका
बिहीबार, ०५ जेठ २०७९, १० : ०६
बिहीबार, ०५ जेठ २०७९

 स्थानीय तह निर्वाचन २०७९ मा मुस्ताङ जिल्लामा एमालेले आफ्नो ‘लालकिल्ला’ खडा गरेको छ । अघिल्लो पटक पाँचमध्ये एक पालिकामा मात्रै जित हात पारेको एमाले यसपटक चार स्थानमा विजयी भएको छ । एमालेले गुमाएको घरपजोङ गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवारले मात्रै दुई मतको अन्तरले जित हासिल गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङ जिल्लाको पाँचमध्ये नेपाली काँग्रेसले थासाङ, बारागुङ मुक्तिक्षेत्र र लोमान्थाङमा जित हासिल गरेको थियो । उक्त निर्वाचनमा एमालेले घरपजोङ गाउँपालिका जित्दा साविकको दालामो गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले जितेका थिए । तर यसपटक भने मुस्ताङमा राजनीतिक पासा पल्टिएको छ । सत्ता गठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा मुस्ताङको पाँचमध्ये चार गाउँपालिकामा एमालेको झण्डा गाड्न सफल भएको छ ।
 
घरपजोङमा उल्टियो सत्ता
स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङको घरपजोङ गाउँपालिका अध्यक्षमा एमालेका आस बहादुर थकालीले ४५४ मत ल्याएर निर्वाचन जितेका थिए । उक्त गाउँपालिकाको उपाध्यक्षमा एमालेकै सर्मिला गुरुङ ७०७ मत ल्याएर विजयी भएकी थिइन् ।

तर स्थानीय तह निर्वाचन २०७९ मा एमालेले यो गाउँपालिका गुमाएको छ । यस निर्वाचनमा नेपाली काँग्रेसका मोहन सिंह लालचनले ७६० मत ल्याएर एमालेका सञ्चय कुमार थकालीलाई अध्यक्षमा हराएका छन् । एमालेका थकालीले ७५८ मत ल्याएका थिए । काँग्रेसका लालचनसँग थकालीले मात्रै २ मतले चुनाव हारेका छन् ।

यसपटक यस गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै जमुना थापा मगर विजयी भएकी छन् । जमुनाले ६९३ मत ल्याएर जित्दा एमालेकी मिम कुमारी शेरचनले ६१८ मत पाएकी छन् ।
 
एमालेले खोस्यो थासाङ
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेस विजयी भएको मुस्ताङको थासाङ गाउँपालिका यसपटक एमालेले खोसेको छ । २०७४ सालमा काँग्रेसका वुद्धि प्रसाद शेरचन ७२८ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा एमालेका नविन भट्टचन ६६९ मत ल्याएर पराजित भएका थिए । तर यसपटक उक्त गाउँपालिकामा मतदाता पनि बढ्दा एमालेका प्रदिप गौचन अध्यक्षमा १ हजार १४४ मत पाएर विजयी भएका छन् भने नेपाली काँग्रेसका बाल कुमारी शेरचनले १ हजार ५५ मत पाएर पराजित भएकी छन् ।

उपाध्यक्षतर्फ अघिल्लोपटक काँग्रेसकी बालकुमारी शेरचन ७२४ मत ल्याएर विजयी हुँदा एमालेकी कोरिसा विकले ६४२ मत पाएकी थिइन् । यसपटक बालकुमारी शेरचन गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गर्न जाँदा उपाध्यक्षमा काँग्रेसबाट सोमल हिराचन र एमालेबाट सुमिता शेर्पाले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा नेपाली काँग्रेसकी सोमल हिराचन १ हजार १२२ मत ल्याएर विजयी हुँदा एमालेकी सुमिता शेर्पाले     १ हजार ८० मत ल्याएर पराजित भइन् ।
 
दालामोमा स्वतन्त्र उम्मेदवार एमालेबाट उठ्दा पुनः विजयी
स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङको दालामो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका थिए । उक्त निर्वाचनमा विष्टले ७५५ मत ल्याउँदा नेपाल काँग्रेसका तेञ्जिङ छिरिङ गुरुङले २०३ मतमात्रै ल्याएका थिए । हाल गाउँपालिकाको नाम परिवर्तन भई बनेको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष विष्ट एमालेबाट उम्मेदवार बनेका थिए । यसपटकको निर्वाचनमा पनि विष्टले ५८९ मत ल्याएर विजयी हुँदा नेकपा एकीकृत समाजवादीका देव बहादुर विष्टले १८५ मतमात्रै पाए ।

यता गाउँपालिका उपाध्यक्षमा २०७४ मा एमालेकी ढोका गुरुङले ६०१ मत ल्याएर जित्दा काँग्रेसकी कचाङ छुटेन गुरुङले ३२२ मत पाएकी थिइन् । यस गाउँपालिकाको उपाध्यक्षमा यसपटक पनि एमालेकै छिरिङ ल्यामो गुरुङ विजयी भएकी छन् । गुरुङले ५८२ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी लक्ष्मी गुरुङ     ले २२५ मतमात्रै प्राप्त गरिन् ।
 
काँग्रेसले गुमायो बारागुङ मुक्तिक्षेत्र गाउँपालिका
स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका नेपाली काँग्रेसले जितेको थियो । उक्त निर्वाचनमा काँग्रेसका फेन्चोक छेप्तेन गुरुङले ६५४ मत ल्याएर जितेका थिए भने एमालेका रमेश गुरुङ ६३८ मत ल्याएर पराजित भएका थिए ।

तर यसपटक मुस्ताङको बारागुङ गाउँपालिका काँग्रेसको हातबाट खोस्न एमाले सफल भएको छ । स्थानीय तह निर्वाचन २०७९ मा एमालेका रिङजिन नाम्गेल गुरुङले अध्यक्षमा ८६७ मत ल्याएर विजयी हुँदा काँग्रेसका अध्यक्ष उम्मेदवार आङजेन गुरुङले ५७७ मतमात्रै ल्याएका छन् ।

उपाध्यक्षतर्फ २०७४ मा एमालेकी ढिकी गुरुङले ६४५ मत ल्याएर जित्दा काँग्रेसकी डोका गुरुङले ६२८ मत ल्याएकी थिइन् । यसपटक उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी धेच आङमो गुरुङले ६७७ मतमात्रै प्राप्त गरिन् ।
 
लोमान्थाङमा सुध्रियो एमालेको जनमत
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेस विजयी भएको लोमान्थाङ गाउँपालिका पनि यसपटक एमालेले जितेको छ । २०७४ सालमा ६०३ मत ल्याएर काँग्रेसका सुवर्ण कुमार विष्ट विजयी हुँदा स्वतन्त्र उम्मेदवार इन्द्र धारा डादु विष्टले ४९५ मत प्राप्त गरेका थिए । यसपटक एमालेबाट अध्यक्षका उम्मेदवार बनेका टसी नुर्वे गुरुङले ६६८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका टसी गुरुङ ५१४ मत ल्याएर पराजित भए ।

उपाध्यक्षतर्फ २०७४ सालमा काँग्रेसकी पेमा डोल्मा विष्ट ६५२ मत ल्याएर विजयी भएकी थिइन् भने एमालेकी पासाङ डोल्कर गुरुङले ३३३ मत मात्रै प्राप्त गरेकी थिइन् । अर्थात् एमालेकी उम्मेदवार नेपाली काँग्रेसको उम्मेदवारभन्दा आधा मत प्राप्त गरेकी थिइन् । तर यसपटक भने लोमान्थाङ गाउँपालिकामा एमाले आफ्नो उपस्थिति बलियो बनाएर उपाध्यक्षमा समेत जित हासिल गरेको छ । एमालेको तर्फबाट उम्मेदवार बनेकी छयुमी विष्ट गुरुङले ६५२ मत ल्याएर विजयी हुँदा काँग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ मत ल्याएर पराजित भइन् । 

मुस्ताङ जिल्लामा पाँच वर्षको समयमा एमालेले आफ्नो उपस्थिति बलियो बनाएको छ । अघिल्लोपटक जितेको एक स्थानीय तहमा झिनो मतान्तरले पराजित हुनुबाहेक अन्य स्थानीय तहमा उसले जित हासिल गरेर मुस्ताङमा एमालेको लालझण्डा गाड्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप