नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
सारांश
- नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेका नेपाली पत्रकारहरू नेपाल र विश्वलाई जोड्ने सेतु भएको बताएकी छन् ।
- उनले सामाजिक सञ्जालका भ्रामक सामग्री र व्यावसायिक पत्रकारिताबिचको रेखा छुट्ट्याउनुपर्ने र सत्य, तथ्य तथा निष्पक्ष सूचना सम्प्रेषण नै पत्रकारको धर्म भएकोमा जोड दिइन् ।
- प्रेस स्वतन्त्रताको रक्षाका लागि विश्वभरका नेपाली पत्रकार एकजुट हुनुपर्ने र डायस्पोरा पत्रकारिताले राज्यलाई जिम्मेवार बनाउन 'वाच डग' को भूमिका खेल्नुपर्ने शर्माले बताइन् ।
जापान । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेका नेपाली पत्रकारहरू नेपाल र विश्वलाई जोड्ने सेतु भएको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा टोकियोमा शनिबार आयोजित ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स जापान २०२६’ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष शर्माले डायस्पोराको आवाजलाई सशक्त बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताएकी हुन् ।
सम्बोधनका क्रममा शर्माले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रले नयाँ अवसर र गम्भीर चुनौतीहरू एकैसाथ सामना गरिरहेको चर्चा गरिन् । ‘अहिले सामाजिक सञ्जालमा आउने सबै सामग्री पत्रकारिता होइनन्,’ उनले भनिन्, ‘हामीले युट्युब र टिकटकमा आउने भ्रामक सामग्री र व्यावसायिक पत्रकारिताबिचको रेखा छुट्ट्याउन जरुरी छ । सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण नै पत्रकारको मुख्य धर्म हो ।’
अध्यक्ष शर्माले नेपालमा पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि विभिन्न बहानामा अङ्कुश लगाउने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसका विरुद्ध विश्वभर रहेका नेपाली पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘लोकतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासङ्घ सधैँ लडिरहेको छ । नेपालको यो लडाइँमा प्रवासमा रहेका पत्रकारहरूको ऐक्यबद्धता र सहयोग हाम्रो लागि ठुलो शक्ति हो ।’
महासङ्घको इतिहासमै पहिलो पटक आयोजना भएको यो ‘ग्लोबल मिडिया कन्फरेन्स’ ले वैदेशिक शाखाहरू र केन्द्रबिचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरिन् । नेपाल बाहिर रहेका ५० लाखभन्दा बढी नेपालीको मुद्दा र समस्याहरूलाई नेपाल सरकार र सम्बन्धित निकायसम्म पुर्याउन डायस्पोराको पत्रकारिताले ‘वाच डग’ को भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
सम्मेलनले जारी गर्ने ‘टोकियो घोषणापत्र’ ले प्रवासको पत्रकारितालाई मर्यादित बनाउन र राज्यलाई जिम्मेवार बनाउन महत्त्वपूर्ण मार्गनिर्देश गर्ने भन्दै उनले सम्मेलनको सफलताको कामना गरिन् ।
कार्यक्रममा नेपालबाट आएका केन्द्रीय पदाधिकारी, विभिन्न प्रदेशका अध्यक्ष र ११ वटा वैदेशिक शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण