शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पराजित भएपछि चुनावी बाचा निर्वाचित नगर प्रमुखलाई हस्तान्तरण

बुधबार, ११ जेठ २०७९, १८ : ००
बुधबार, ११ जेठ २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले बनाएको चुनावी प्रतिबद्धता निर्वाचित नगर प्रमुखलाई हस्तान्तरण गरिएको छ ।  काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार बनेका उपेन्द्र खड्काले निर्वाचित नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) समक्ष उक्त वाचा हस्तान्तरण गरेका हुन् । 

उनले भने, ‘म पराजित भएपनि समग्र वीरेन्द्रनगरको विकास र समृद्धिमा हाम्रो पनि साथ छ भन्ने उद्देश्य हो । हामीले नगरपालिकाका १६ वटै वडामा पुगेर १६ वटा संकल्पसहितको चुनावी प्रतिबद्धता बनाएका थियौं । जुन कार्यान्वयन गर्न सकिने खालका छन् । त्यसलाई कार्यान्वयन गरिदिनका लागि हामीले निर्वाचित नगरप्रमुख समक्ष हस्तान्तरण गरेका हौं ।’ 

खड्काले राजनीति कल्चलरलाई सुधार्नका लागि पनि आफ्नो प्रतिबद्धता हस्तान्तरण गरिएको बताए ।  ‘हार–जित स्वभाविक प्रक्रिया नै हो । हारिसकेपछि पलायन हुने र जितेपछि मात्तिने जुन प्रचलन छ, त्यसलाई परिवर्तन गर्न जरुरी छ,’ उनले भने । 

खड्काले असार १५ गते प्रस्तुत हुने नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा आफूले अघि सारेका संकल्पहरुलाई समेटिने विश्वास व्यक्त गरे । उनले भने, ‘मतदाताको घरघरमा पुग्दा हामी पराजित भएपनि तपाइँहरुसँग गरिएका वाचा पुरा गर्न पछि हट्नेछैनौँ भनेका थियौं । कार्यान्वयन गर्ने स्थानमा नपुगेकाले निर्वाचित नगर प्रमुखज्युलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेको हुँ ।’ 

साथै उनले नगरपालिकाको कार्यान्वयन पद्धतिमा आफू निरन्तर निगरानी गर्ने पनि बताए । सो क्रममा नगरप्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीको विकासका लागि सबैको सहयोग, समन्वय आवश्यक रहेको बताइन् । 
पराजित खड्का निर्वाचित ढकालबाट ५५४ मतान्तरले पराजित भएका थिए । एमालेबाट उम्मेदवार बनेकी ढकालले १६ हजार ३८ मत प्राप्त गरेर विजयी प्राप्त गर्दा खड्काले १५ हजार ४८४ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप