होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
सारांश
- जेनजी मुभमेन्ट एलाइन्सले कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी तथा विस्थापित नागरिकहरूको अवस्था बुझ्न पुगेका युवाहरूमाथि प्रहरीले दमन, कुटपिट र मनपरी गिरफ्तारी गरेको भन्दै आपत्ति जनाएको छ ।
- एलाइन्सले प्रहरीको उक्त कदम लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र मानवअधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको दाबी गरेको छ ।
- प्रभावित नागरिकहरूको अवस्था अनुगमन गर्ने, मानवीय सहयोग गर्ने वा राज्यका कार्यप्रति प्रश्न उठाउने कार्य अपराध नभएको र प्रहरीले कुनै स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जी बिना नै जेन जी मुभमेन्ट एलाइन्सका प्रतिनिधि माजिद अन्सारी लगायतका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको प्रति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी तथा विस्थापित नागरिकहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका शान्तिपूर्ण नागरिक तथा युवाहरूमाथि प्रहरीले दमन, कुटपिट र मनपरी गिरफ्तारी गरेको भन्दै ‘जेनजी मुभमेन्ट एलाइन्स’ ले घोर आपत्ति जनाएको छ । एलाइन्सले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कदम लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र मानवअधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको दाबी गरेको छ ।
सरकारले पर्याप्त तयारी, वैकल्पिक आवास र मानवोचित व्यवस्थापन बिना नै गत वैशाख महिनादेखि जबर्जस्ती उठाएका सुकुमबासीहरूलाई कीर्तिपुर होल्डिङ सेन्टर लगायतका अस्थायी व्यवस्थापन स्थलहरूमा राखेको विज्ञप्तिमा उल्लेख छ । निरन्तरको वर्षाका कारण उक्त होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका विस्थापितहरूको अवस्था बुझ्न र आवश्यक सहयोग पुर्याउन पुगेका युवाहरूमाथि प्रहरीले अभद्र व्यवहार, गालीगलौज र कुटपिट गरेको एलाइन्सको आरोप छ । प्रहरीले कुनै स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जी बिना नै जेन जी मुभमेन्ट एलाइन्सका प्रतिनिधि माजिद अन्सारी लगायतका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको प्रति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रभावित नागरिकहरूको अवस्था अनुगमन गर्ने, मानवीय सहयोग गर्ने वा राज्यका कार्यप्रति प्रश्न उठाउने कार्य कुनै पनि हालतमा अपराध नभएको विज्ञप्तिमा प्रस्ट पारिएको छ । नेपालको संविधानले नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुने, प्रदर्शन गर्ने र सार्वजनिक सरोकारका विषयमा आवाज उठाउने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै एलाइन्सले राज्य शक्तिको दुरुपयोग गरी नागरिकको आवाज दबाउन खोज्नु निन्दनीय भएको बताएको छ । नागरिकको सुरक्षा र अधिकारको संरक्षण गर्नुपर्ने प्रहरी संगठन नै आफैँ दमनमा उत्रिनु अत्यन्तै चिन्ताजनक भएको उसले उल्लेख गरेको छ ।
एलाइन्सले यस घटनाको स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कानुन बमोजिम कारबाही गर्न र पीडितहरूलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । यसका साथै नियन्त्रणमा लिइएका माजिद अन्सारी लगायत सबै व्यक्तिहरूलाई बिना सर्त तत्काल रिहा गर्न तथा शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको पूर्ण सम्मान गर्न पनि ध्यानाकर्षण गराएको छ ।
विस्थापित एवं सुकुमबासी परिवारहरूको सुरक्षा, मानवोचित आवास, खाद्यान्न, स्वास्थ्य र सरसफाइको तत्काल व्यवस्था गर्न माग गर्दै एलाइन्सले जबर्जस्ती उठीबास लगाउने र बल प्रयोग गर्ने नीति तत्काल अन्त्य गरी अर्थपूर्ण संवादमार्फत न्यायपूर्ण समाधान खोज्न सरकारसँग अपिल गरेको छ । लाठी, गिरफ्तारी र दमनले सत्य र न्यायको आवाज दबाउन नसकिने भन्दै संस्थाले यस घटनाको निरन्तर निगरानी र न्यायका लागि आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण