आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग

शनिबार, २७ असार २०८३, २२ : ४७
शनिबार, २७ असार २०८३

सारांश

  • नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
  • उनले पक्राउ परेका सबै अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।
  • श्रेष्ठले सुकुमबासीहरूमाथि भइरहेको अमानवीय व्यवहार सच्याउन र समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रहरीको उक्त कदमको घोर भर्त्सना गर्दै पक्राउ परेका सबै अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन ।

कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई खानाबाट वञ्चित गर्न थालिएको र वर्षाको पानी पसेर डुबान हुँदा पीडादायी अवस्था सिर्जना भएको खबर सार्वजनिक भएको थियो । सोही वस्तुस्थिति बुझ्न, सहयोगको वातावरण निर्माण गर्न र सरकारको ध्यानाकर्षण गराउन अभियन्ताहरू माजिद अन्सारी, सस्मिता थापा र नहेन्द्र खड्का लगायतका युवाहरू त्यहाँ पुगेका थिए । सोही क्रममा प्रहरीले उनीहरूमाथि दुर्व्यवहार गर्दै गिरफ्तार गरेको नेता श्रेष्ठले उल्लेख गरेका छन् ।

घटनाप्रति रोष प्रकट गर्दै नेता श्रेष्ठले लेखेका छन्, ‘सरकारले गिरफ्तार गरिएका सबैलाई तत्काल रिहा गरोस् र यस प्रकारको गैरलोकतान्त्रिक निरंकुश व्यवहार बन्द गरोस् ।’

यसैगरी, उनले सुकुमबासीहरूमाथि भइरहेको अमानवीय तथा उत्पीडनकारी व्यवहारलाई तत्काल सच्याउन आग्रह समेत गरेका छन् । सुकुमबासी समस्याको तत्कालीन र दीर्घकालीन दुवै कोणबाट दीर्घकालीन समाधान खोज्न पनि नेता श्रेष्ठले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप