शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कर्णालीको आन्तरिक आम्दानी एउटा व्यक्तिको खर्चका लागि पुग्दैन : यामलाल कँडेल

सोमबार, १६ जेठ २०७९, १७ : ५५
सोमबार, १६ जेठ २०७९

प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानीले कुनै एउटा व्यक्तिको खर्चका लागि समेत नपुग्ने तर्क गरेका छन् । उनले कर्णाली मगन्ते प्रदेश भइरहेको संज्ञा दिँदै आन्तरिक आम्दानीले एउटा सामान्य कार्यालय वा एउटा व्यक्तिको खर्चका लागि नपुग्ने बताएका हुन् ।

सोमबार प्रदेशसभाको दशौं अधिवेशनको सातौं बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम र बजेटका उद्देश्य र सिद्धान्तमाथिको छलफल कार्यक्रममा उनले भने, ‘आफ्नो आम्दानीको हिस्सा सरकारको दस्तावेजमा प्राथमिकता दिइएको छैन । संघीय सरकारले दिएको अनुदानमा प्रदेश संरचना चलाउने तहका मान्छे हामी छौं ।’ 

कँडेलले कर्णालीलाई मगन्ते र भिखारी प्रदेशको रुपमा स्वीकार गर्ने कुरा राम्रो नभएको भन्दै सरकारले आफ्नो आन्तरिक आम्दानीलाई बढवा दिन सरकारलाई सुझाव दिए । आइतबार संघीय सरकारले बजेटमा समेटेका कर्णालीका योजनाहरुको ‘ब्रिफिङ’ गर्दै भने, ‘आफै परनिर्भरमुखी बन्नुपर्ने, अझ ठुला कुरा पनि हामीले नै गर्नुपर्ने । अर्थतन्त्रमा आएको प्रतिकूल प्रभावलाई हेक्का राख्न सकिएन भने समस्या आउन सक्छ ।’ 

कँडेलले संघीय बजेटमा विगतको भन्दा योजनामा कर्णालीको नाम धेरै आएपनि अंकमा नआएको बताए । उल्लेख गरिएका अधिकांश योजनाहरु उही पुरानै छन्,’ उनले भने,‘ कर्णाली, भेरी करिडोरहरु विगतमा हामीहरुले नै उठाउँदै आएका योजना हुन् । सरकारले त्यसैलाई प्राथमिकता दियो तर अंकमा बजेट छुट्याएन ।’ 

साथै कँडेलले कर्णालीको विकास गर्ने हैन विकास खाने प्रवृत्ति भएको समेत बताए । प्रदेश सरकारले प्रस्तुत गरेको नीति, उद्देश्यमा नै आगामी आर्थिक बर्षकालाई अधुरा योजना सम्पन्न गर्ने बर्षको रुपमा लिइने उल्लेख गरिएको छ । कँडेलले उक्त विषयबारे टिप्पणी गर्दै भने, ‘वर्ष भरी नै अधुरा योजना सम्पन्न गर्ने हो भने नयाँ योजना नल्याउने कुरा मैले बुझ्छु ।’ साथै उनले सिद्धान्त र नीतिअनुसार अघि बढे आफ्नो दलले सरकारलाई रचनात्मक सहयोग गर्ने समेत बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप