शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पानी खाएपछि पनि घाँटी सुख्खा हुन्छ ? जान्नुहोस् यसको कारण र रोकथाम

शुक्रबार, २० जेठ २०७९, १३ : २५
शुक्रबार, २० जेठ २०७९

हाम्रो घाँटी सुख्खा हुँदा र दुख्दा सबैभन्दा पहिला हामी पानी पिउछौँ । पानी पिउँदा घाँटी चिसो हुन्छ र मनतातो पानीले त थुप्रै समस्या कम पनि हुन्छ । तर धेरैलाई पानी खाइसकेपछि पनि घाँटी सुकिरहने समस्या हुनसक्छ । घाँटी बारम्बार सुकिरहन्छ भने बान्ता आउने, रिँगटा लाग्नेजस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि तपाईंलाई पानी खाइसकेपछि पनि घाँटी सुकिरहेको महसुस हुन्छ भने यसका थुप्रै कारण हुनसक्छन् । यसबारे थाहा पाऔँ ।

१. निर्जलीकरण

निर्जलीकरणका कारण घाँटी सुख्खा भएको हुनसक्छ । जब तपाईं निर्जलित हुनुहुन्छ, शरीरले आवश्यक रूपमा धेरै र्याल उत्पादन गर्न सक्दैन । जसका कारण मुख र घाँटी ओसिलो हुन पाउँदैन । यो अवधिमा पिसाबको रङ कालो हुने, रिँगटा लाग्ने, मुख सुख्खा हुनेजस्ता लक्षण देखा पर्न सक्छन् ।

२. मुख खोलेर सुत्ने

यदि तपाई राति मुख खोलेर सुत्नुहुन्छ भने तपाईलाई यो समस्या हुन सक्छ । जब तपाईं आफ्नो मुख खोलेर सुत्नुहुन्छ, र्याल  हावामा सुक्छ । हावाले र्याललाई सुकाउने गर्छ जसका कारण मुख र घाँटी सुख्खा हुन सक्छ । यो समयमा तपाईंको सास गन्हाउने, घुर्नेलगायतका समस्या देखिन सक्छन् ।

३. मौसमी ज्वरो र एलर्जी

मौसमी एलर्जी पनि घाँटी सुक्नुको कारण बन्न सक्छ । त्यसैले यदि तपाईं पानी पिएपछि घाँटी सुकेको महसुस गर्नुहुन्छ भने यो मौसमी एलर्जीको संकेत हुनसक्छ । यस्तो अवस्थामा नाक बग्ने, हाछ्युँ आउने, चिलाउने, खोकी लाग्ने जस्ता समस्या हुन सक्छ ।

४. रुघा

रुघा एक सामान्य संक्रमण हो, यो विभिन्न भाइरसहरुका कारण लाग्न सक्छ । संक्रमणका कारण तपाईंको घाँटी सुख्खा हुन सक्छ । पीडाको अनुभूति पनि हुन सक्छ । जसका कारण तपाईंले नाकबाट बग्ने, हाछ्युँ गर्ने, खोकी लाग्ने, हल्का ज्वरो आउने र शरीर दुख्ने जस्ता लक्षणहरुको पनि सामना गर्नुपर्ने हुन सक्छ ।

५. फ्लू

फ्लू श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्या हो । रुघाखोकीको लक्षणभन्दा फ्लूका लक्षणहरू बढी गम्भीर हुन्छन् । यतिबेला घाँटी दुख्ने, ज्वरो आउने, चिसो लाग्ने, नाक बग्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, थकान महसुस हुने र बान्ता हुन सक्छ । यतिबेला फ्लूका कारण तपाईंलाई घाँटी सुख्खा हुने समस्या पनि हुन सक्छ ।

६. घाँटी दुख्दा

घाँटी दुखेको अवस्थामा, घाँटीमा सुख्खापनको अनुभूति हुन सक्छ । यतिबेला रातो र सुन्निएको टन्सिल पनि महसुस हुनसक्छ । शरीर दुख्ने, घाँटी दुख्ने पनि हुन सक्छ । घाँटी खराब छ भने, यो समयमा घाँटी पनि सुख्खा हुन सक्छ ।

पानी पिएपछि घाँटी सुख्खा हुन नदिने उपाय

घाँटी सुख्खा हुने समस्याबाट बच्न नियमित पानी पिउनुपर्छ । यदि तपाईंले कहिलेकाँही मात्रै पानी पिउनुहुन्छ भने, तपाईंको घाँटी सुख्खा हुन सक्छ ।

सुख्खा घाँटीको लागि मह प्रयोग गर्न सक्नुहुन्छ । यसले घाँटीलाई चिसो राख्न, सुख्खापनलाई कम गर्न मद्दत गर्न सक्छ ।

घाँटी सुख्खा भएको अवस्थामा दही, छाछ  वा लस्सी पिउनु पनि फाइदाजनक हुन्छ ।

यदि तपाई पनि पानी पिएपछि घाँटी सुख्खा महसुस गर्नुहुन्छ भने यो अवस्थालाई बेवास्ता नगर्नुहोस् । किनभने यो समस्या कहिलेकाहीँ गम्भीर हुन सक्छ । तसर्थ, पानी पिएपछि पनि घाँटी सुकेको जस्तो महसुस हुन्छ भने निश्चित रूपमा डाक्टरसँग परामर्श लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप