चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
सारांश
- जनकपुरधाम-भिठामोड सडकखण्डको कुटमेश्वरी पुल निर्माणमा चार वर्षदेखि चरम ढिलासुस्ती हुँदा स्थानीय बासिन्दा, यात्रु र मालवाहक सवारीसाधनले सास्ती खेप्नुपरेको छ ।
- करिब २० करोड रुपैयाँको लागतमा सुरु भएको पुलको निर्माण कार्य अधुरै रहँदा भारतसँगको व्यापारिक आवागमनसमेत प्रभावित भएको छ ।
- बजेट अभाव र सरोकारवाला निकायको कमजोर अनुगमनका कारण निर्माणमा ढिलाइ भएको र पटक-पटक म्याद थप्दा पनि कामको गति नबढेको स्थानीयको गुनासो छ ।
जनकपुरधाम। जनकपुरधाम-भिठामोड सडकखण्डअन्तर्गत कुटमेश्वरी पुलको निर्माण कार्यमा भएको चरम ढिलासुस्तीका कारण स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधन दैनिक सास्ती खेप्न बाध्य भएका छन् ।
करिब २० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको पुल चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा आवतजावत जोखिमपूर्ण बनेको हो । वर्षायाम सुरु भएसँगै सो सडकखण्डको यात्रा कष्टकर भएको हो ।
भारतसँगको व्यापारिक आवागमनका लागि समेत यो सडक महत्त्वपूर्ण मानिन्छ । महोत्तरी गाउँपालिकाअन्तर्गत पर्ने कुटमेश्वरी पुलको निर्माण कार्य अझै अधुरै रहेकाले स्थानीयवासी, विद्यार्थी, बिरामी, दैनिक यात्रु तथा व्यवसायी वैकल्पिक तथा जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । सामान्य वर्षा हुँदा सडक हिलाम्मे हुने, सवारीसाधन फस्ने र आवागमन नै प्रभावित हुने गरेको स्थानीयको गुनासो छ ।

महोत्तरी गाउँपालिका, पर्साका स्थानीय आशुतोष ठाकुरले करिब चार वर्षदेखि पुल निर्माणको अवस्था उस्तै रहेको बताए । उनका अनुसार विभिन्न समयमा निर्माण सम्पन्न नगरी म्याद मात्रै थप्ने काम भइरहेको छ ।
भिठामोड–जनकपुर भन्सारबाट बर्सेनि ठुलो परिमाणमा राजस्व सङ्कलन हुन्छ, तर यति महत्त्वपूर्ण सडकको पुल निर्माणमा सरोकारवाला निकायले चासो नदिनु अनौठो रहेको ठाकुर बताउँछन् ।

त्यस्तै पिपरा गाउँपालिका–२ का संजयकुमार मिश्रले पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले दैनिक दुःख पाएको बताए । 'पुल निर्माणमा भएको ढिलासुस्तीले आउजाउ गर्न निकै असहज छ । अब वर्षायाम पनि सुरु भइसकेको छ । यस्तो अवस्थामा दुर्घटना हुने, मानिसको ज्यानसमेत जाने जोखिम बढेको छ । यहाँ प्रभावकारी वैकल्पिक बाटो पनि छैन । यो ठेकदारको लापर्वाही र सरकारको कमजोर निगरानीको परिणाम हो,' उनले भने ।
पुल निर्माणमा भएको ढिलाइको असर स्थानीयमा मात्र सीमित छैन । भारतबाट नेपाल प्रवेश गर्ने ठुला मालवाहक सवारीसाधन, भ्रमण गर्न आएका ठुला यात्रु बाहक बससमेत घण्टौँ अलपत्र पर्ने गरेका छन् । मालसामान बोकेर आएका ट्रक रोकिँदा चालक, व्यवसायीलाई नोक्सान हुनेमात्र होइन, आपूर्ति प्रणालीसमेत प्रभावित हुने गरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार निर्माण कम्पनीको पटक–पटक ध्यानाकर्षण गराइए पनि कामको गति बढ्न सकेको छैन । सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको र पटक–पटक म्याद थपेर निर्माण कम्पनीलाई संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन् ।
हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार बजेट अभावका कारण पुल निर्माण कार्य समयमै सम्पन्न हुन सकेको छैन । सोही कारण पटक–पटक निर्माण अवधि थप्नु परेको उनले बताए ।

वर्षायाम सुरु भएसँगै नयाँ निर्माणाधीन पुलको छेउमा रहेको पुरानो पुललाई डाइभर्सनका रूपमा प्रयोग गरिँदै आएको छ । माटो भरेर डाइभर्सन सञ्चालन गरिए पनि वर्षाका कारण हिलो हुँदा सवारीसाधन फस्ने क्रम बढेको छ ।
यता हुलाकी सडक निर्देशनालयका साइट इन्जिनियर विकास साहले निर्माणस्थलमा दुई वटा एस्काभेटर, एक जेसीबी र दुई वटा टिप्पर स्ट्यान्डबाइ राखिएको बताए । उनका अनुसार वर्षाका कारण भरिएको माटो हिलाम्मे भएकाले अहिले उक्त स्थानमा र्याबिस (ढुंगामाटो) हालेर बाटो सञ्चालनयोग्य बनाउने काम भइरहेको छ ।

जलेश्वर नगरपालिका–२ का नागरिक समाजका अगुवा संजीव झाले पुल निर्माणमा भइरहेको ढिलासुस्तीबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि निर्माण कम्पनीले कामको गति नबढाएको गुनासो गरे । उनका अनुसार पटक–पटक म्याद थप्ने तर काम नगर्ने ठेकदारमाथि प्रभावकारी कारबाही नगरेका कारण सम्बन्धित निकायसमेत शङ्काको घेरामा परेको छ ।
यात्रुहरूले पनि ठेकदार कम्पनीलाई थप समय उपलब्ध गराउनुको सट्टा हालको समयसीमाभित्रै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले कडा दबाब दिनुपर्ने माग गरेका छन् । सामान्य वर्षा हुँदा समेत उक्त क्षेत्रमा आवागमन कठिन हुने गरेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण