बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित

बुधबार, १७ असार २०८३, २२ : १४
बुधबार, १७ असार २०८३

चितवन । गर्मीसँगै विद्युतीय उपकरणको अत्याधिक प्रयोगलाई धान्न नसक्दा विद्युत् आपूर्ति अनियन्त्रित हुनाका साथै सेवा प्रभावित भएको छ । कतिपय ठाउँमा ट्रान्सफर्मरहरूमा समस्या आउने गरेको छ भने कतिपय ठाउँमा तार जलेर चुडिने समस्या आउने गरेको हो ।

प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीका अनुसार गर्मी बढेसँगै अस्वभाविक माग हुँदा पुराना तारमा भार बढेर जल्ने गर्दछ । एकै पटक धेरै ठाउँमा यस्ता समस्या आउँदा प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने र समय लाग्ने गरेको उनले बताए ।

उनले भने, “मेसिन तार भएको ठाउँमा पग्लिने, तार जोडेको ठाउँमा चुडिने, ट्रान्सफर्मरमा रहेको फ्युज जल्ने, ट्रान्सफर्मर नै जल्ने समस्या हुने गरेको छ । हामी सीमित स्रोत साधनमा काम गर्नुपर्दा, समयमा काम भ्याइएको छैन ।” गर्मीले घर, कार्यालयमा एसी, पङ्खालगायत उपकरण चल्ने, किसानले मोटर चलाएर खेत रोपाई गर्नेजस्ता काम गर्दा विद्युत्को खपत बढेको छ ।

हरेक वर्ष १० प्रतिशत विद्युत्को माग बढ्ने उनी बताउँछन् । । भरतपुर महानगरको अधिकांश भाग र इच्छाकामना गाउँपालिका क्षेत्र हेर्दै आएको यस कार्यालयमा ७५ हजार ५०० ग्राहक छन् । हरेक वर्ष तीन हजार हाराहारी ग्राहक थपिने गरेको उनले बताए । दिगो समाधानका लागि ट्रान्सफर्मर थप गरी कमजोर तार परिवर्तन गरी स्तरोन्नति आवश्यक रहेको छ ।

चौधरीले पावर ट्रान्सफर्मरको अवस्था भने २० वर्ष धान्ने गरी व्यवस्था भएको बताए । आँपटारीमा रहेको नयाँ सवस्टेशनमा ९० मेघावाटको पावर ट्रान्सफर्मर जडान गरी जगेडा क्षमता बनाइएको छ । बसेनीमा रहेको स्टेशनमा ११२.५ मेघावाट पावर ट्रान्सफर्मर रहेको छ ।

उनले भने, “हामीसँग विद्युत्को अभाव छैन, तार र ट्रान्सफर्मर समस्या हो ।” ट्रान्सफर्मर जडान गर्नुपर्ने ठाउँहरूमा स्थानीयको अवरोधका कारण कतिपय ठाउँमा जडान गर्न नसकिएको उनले बताए । चौध ठाउँमा पोष्ट तयार गरिएको छ । छिट्टै ती ठाउँमा ट्रान्सफर्मर आउने पनि उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप