लागुऔषध कारोबारीविरुद्ध काठमाडौं प्रहरीको आक्रामक ‘अप्रेसन’
महोत्तरीबाट काठमाडौं आएको बसलाई नागढुंगामा रोकेर चेकजाँच गर्दा एक झोला लागुऔषध भेटियो । जेठ १२ मा चालक सिटसँगैको क्याबिन तल लुकाएर काठमाडौं ल्याउँदै गरेको ३ हजार एम्पुल लागुऔषधको भरिया चाहिँ बसमा नभेटिएको प्रहरीले जनाएको छ ।
यात्रु कसैले ‘मेरो सामान’ भनेनन् । बसका चाकलाई सोधपुछ गर्दा थाहा भयो सो लागुऔषधको झोला महोत्तरीबाट ४२ वर्षका पप्पु साहले हालेका रहेछन् । झोलाबाट डाइजेपाम, फेनारगन, लुपिजेसिक र नुर्फिन बरामद गरिएको छ । धनुषा घर भएका साहलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीसँगको समन्वयमा महोत्तरीबाट तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।
सो लागुऔषध धनुषा नगराइन नगरपालिका घर भएका २९ वर्षीय सुधीर झा उर्फ बुलेटले पठाएको पप्पुको बयानबाट खुलेको छ । धनुषा प्रहरीको सहयोगमा जेठ १४ मा प्रहरी वृत्त थानकोटले ‘बुलेट’लाई पनि पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लागुऔषध विरुद्ध आक्रामक अप्रेसन चलाइरहेको छ । सुराक परिचालन गरेर लागुऔषध विरुद्ध शून्य सहनशीलता अपनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी गिरीले बताए ।
२०७८ साउनपछि काठमाडौं प्रहरीले बरामद गरेको लागुऔषध
यसैगरी फर्पिङ चेक प्वाइन्टबाट जेठ १४ मा प्रहरीले १९ वर्षका भारतीय नागरिक अनरजित कुमार सहनीलाई पक्राउ गरेको थियो । सहनीको साथबाट ८९४ एम्पुल नुफ्रिन, फेनारगन र डाइजेपाम बरामद गरेको छ । अनरजित कुमार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.१ज २२५५ नम्बरको सुमोमा लागुऔषध लिएर काठमाडौं आएका हुन् ।
२०७८ साउनपछि २०७९ जेठ १७ सम्ममा काठमाडौं जिल्लाबाट प्रहरीले ३७ हजार ८७४ एम्पुल डाईजेपाम, फेनारगन, लुपिजेसिक र नुर्फिन बरामद गरेको छ । अधिकांश लागुऔषध नागढुंगा चेकप्वाइन्टबाट बरामद हुने गरेको छ ।
सार्वजनिक सवारीमा भरिया प्रयोग गरेर कारोबारीहरुले लागुऔषध काठमाडौं पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नागढुंगासहित लागुऔषध भित्रिने नाकामा चेकजाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ । पछिल्लो करिब १० महिनाको अवधिमा काठमाडौं प्रहरीले २८ ग्राम २३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
औषधिजन्य लागुऔषध नाइट्राभेट चक्की प्रयोग गर्नेहरु पनि काठमाडौंमा बढ्दैछन् । २०७८ साउनपछि प्रहरीले काठमाडौंबाट ३२ हजार ६९ ट्याक्लेट नाइट्राभेट बरामद गरेर कारोबारीहरुलाई कानुनको दायरामा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण