शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एसएलसीमा पाँच पटक फेल, अभिनयमा सधैं अब्बल

रामनारायण ठाकुरको रंगमञ्च नशा
शनिबार, २८ जेठ २०७९, ०६ : ५५
शनिबार, २८ जेठ २०७९

मैथिली रंगमञ्चमा हाँसोको पर्याय मानिन्छन् रामनारायण ठाकुर । अभिनय रुचाउने पारखीहरूले उनको नाम याद मात्रै गरे पनि भित्रभित्रै मुस्कुराउन थाल्छन् । मैथिली रंगमञ्चका एक सफल पात्र हुन् उनी । अहिले पनि रंगमञ्च, सानो फिल्मदेखि फिचर फिल्मसम्मको यात्रामा उनको निरन्तरता कायमै छ ।

२०१९ भदौ ४ गते जनकपुरधाम उपमहानगरपालिका–१५ मा जन्मेका ठाकुर १०-१२ वर्षको उमेरदेखि नै कलामा रुचि राख्न थाले । मध्यमवर्गीय परिवारमा जन्मेका उनलाई घरको कामकाजमा व्यस्त हुनु पर्थ्यो । तर फुर्सद भयो चकचके स्वभावमा उत्रिन्थे । अरुको नक्कल गर्ने बानीले आफूले कयौँ पटक कुटाई समेत खानुपरेको स्मरण उनको मनमस्तिष्कमा ताजै छ । 

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको एउटा टेलिफिल्म छ, एसएलसी प्रसाद । जसमा हरिवंश एसएलसीमा धेरै पल्ट गुल्टिन्छन् । वास्तविक जीवनमा पनि हरिवंश पहिले फेल पछि थर्ड डिभिजनमा पास भएका थिए । ठाकुरको जिन्दगीमा पनि त्यस्तै भएको छ । चार पटकसम्म एसएलसीमा फेल भएका उनी पाँचौ पटकमा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । तर अभिनयको दुनियाँमा भने सधैं अब्बल रहे ।

सानोमा उनी अभिनयभन्दा बढी नृत्यतर्फ प्रभावित थिए । बाल्यकालदेखि नै स्कुलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उनी नृत्यका साथै गायन कलाको समेत प्रस्तुति गर्थे । एक पटक उनी धनुषाको वभनगामाको सामुदायिक विद्यालयमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी भए । उनको नृत्य दर्शकले औधी रुचाए । उनी ती दिन सम्झिन्छन्, ‘मेरो नृत्य हेरेर मैथिली नाटकका धरोहर महेन्द्र मलंगियाले मलाई मिथिला नाट्य परिषद्(मिनाप)मा अभिनयको लागि प्रेरित गरे । आज उनकै प्रेरणाको प्रतिफलकै कारण म यहाँसम्म आइपुगेको छु ।’  

सुरु सुरुमा रामनारायणको अभिनय धेरैले मन पराएनन् । निराश बनेका उनलाई आफ्नै ठूल्दाई लक्ष्मी ठाकुरले मनोबल बढाए । कलाकारितामा खारिँदै गएपछि उनी हास्य कलाकारको फरक परिचय बनाउन सफल भए । को प्रस्तुति हेरेर अहिले पनि दर्शकको मन अल्हादित हुन्छ । उनी एकल सम्वादमा पनि मञ्चमा उभिएर दर्शहरूलाई गुदगुदी पैदा गर्छन् ।

मुखियादेखि छक्का पञ्जासम्म

ठाकुरले कैयौं मैथिली नाटकमा अभिनय गरेका छन् । त्यस्तै, मिथिलाका व्यथा, काठक लोक, भगिरथ, चमेली टेलिश्रृखंलामा काम गरेका छन् । मुखिया जी, प्रितम सहितको मैथिली फिल्ममा समेत हास्य रसको चास्नी पस्केका छन् । 

त्यसै गरी, नेपाली फिल्म फाटेको जुत्ता, चंगा चैट, भोर, आमा–३, छक्का पञ्जा ३, दहेजमा पनि उनको अभिनय देख्न पाइन्छ । मह जोडीसँग कलाजार, सृष्टिलगायत टेलिश्रृखंला अभिनय साटेका छन् । उनले सङ्गोर, कथा मीठो सारंगीको, ज्ञान शक्ति अछि लगायत रेडियो नाटकमा समेत अभिनय गरेका छन् ।

गाउँघरको कार्यक्रममा मैथिली या नेपालीमा आफ्नो नामको उद्घोष हुँदा आफूलाई स्वागत गर्न आतुर दर्शकको क्रेज देख्दा उनलाई शान्ति प्राप्त हुन्छ । उनी मनमनै गौरवान्वित हुन्छन् । तर अभिनयमा ठाकुरको चौतर्फी प्रशंसा भए पनि उनी आफै भने  सन्तुष्ट हुन सकेका छैनन् । भन्छन्, ‘रंगमञ्चका लागि जुन हिसाबबाट मैले त्याग गरे । त्यस अनुसार परिणाम प्राप्त गर्न सकिनँ । तर यसको अर्थ यो होईन कि म पूर्णरूपमा असन्तुष्ट नै छु ।’ 

रंगमञ्चको नशाले छाडे जागिर 
ठाकुरले एसएलसीपछि काठमाडौंमा सब–ओभरसियर पढे । उक्त कोर्स पूरा गरी सिँचाइ कार्यालयदेखि भूकम्प पीडित परियोजनामा काम गरे ।तर उनमा अभिनयको यस्तो भूत सवारको थियो किसरकारी जागिरदेखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासम्मको जागिर पनि कलाकारिता क्षेत्रकै लागि छाड्ने दुस्साहस गरे । 

अन्तर्राष्ट्रिय गैसस सर्च फर कमन ग्राउन्डमा कार्यरत थिए उनी । अभिनयका लागि विदा नपाउँदा उनले त्यो जागिरबाट विदा भए । भन्छन्, ‘मेरो नशा–नशामा अभिनय रुपी पानी बग्छ । तैपनि मैले जुन सफलता खोजेको छु, त्यो अझै पनि पाउन सकेको छैन ।’

नेपाली भाषी कलाकारबाहेक अन्य भाषाको कलाकारहरूलाई राज्य पक्षबाट खास सहयोग नभएको उनको गुनासो छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरको रुपमा परिचित जनकपुरधाम कलाको हिसाबले नेपालमै एउटा छुट्टै पहिचान भएको ठाउँ हो । तर कला क्षेत्रमा राज्यले ध्यान नदिएका कारण नयाँ कलाकार समेत टिक्न चुनौतीपूर्ण अवस्था रहेको उनका जिकिर छ । अब स्थानीय कलाकारले आफ्नो ठाउँ र गाउँको कला संस्कृतिलाई अर्थोपार्जनसँग जोडेर समृद्ध बनाउनुपर्ने उनको भनाई छ ।

उनी भन्छन्, ‘विगतमा अर्थको महत्व थिएन । पैसालाई खासै महत्व दिइँदैनथ्यो । तर, अहिले समय फेरिएको छ । त्यसैले कलाकारहरुले कलाकारिता क्षेत्र बचाउन अर्थोपार्जनतर्फ पनि यसलाई जोड्नुपर्ने आवश्यकता छ ।’

मैथिली रंगमञ्चमा अमूल्य योगदान दिएका ठाकुर कयौँ पुरस्कारबाट सम्मानित भएका छन् । उनले सरस्वती राजनारायण पुरस्कार, युवा नाट्य कला परिषद्बाट उत्कृष्ट अभिनेताको रूपमा सम्मानित भएका छन् । रेडियो मिथिला, मैथिल ब्राह्मण समाजले समेत सम्मान गरेको छ । राष्ट्रिय स्तरको पुरस्कार नपाउँदा भने उनको मन खल्लो हुन्छ । 

ठाकुरका दुई छोरा र एक छोरी छन् । जेठो छोरा वैदेशिक रोजगारीमा छन् भने कान्छा लघुवित्तमा कार्यरत छन् । छोराहरु कमाउने भएपछि एक किसिमको सन्तुष्टि छ । कलाकारिताबाहेक नाति खेलाउँदै उनको दिनचर्या बित्छ । भन्छन्, ‘राम्रो स्क्रिप्ट पाए रंगमञ्चको दुनियाँमा हाम फाल्न अहिले पनि तम्तयार छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप