गुल्मी घर, बागलुङको भर
गुल्मीको मुसिकोट नगरपालिका–१ को राजबारी, सिम्ले, न्वालाधारा, खनधारा खोला, कमेरे गाउँ र मालिका गाउँपालिका–१ को सल्लाखर्क र लिलिङ्ग गाउँ प्रशासनिक रुपमा गुल्मीमा जोडिए पनि व्यवहारिक रुपमा बागलुङमा निर्भर देखिन्छन् ।
बडिगाड खोला पारी पूर्वतर्फ बागलुङ जिल्ला पर्दछ । आफ्नै जिल्लाको सदरमुकाम तथा अन्य सुविधा सम्पन्न क्षेत्रमा पुग्नको तुलनामा यहाँका बासिन्दालाई बडिगाड खोला तरेर बागलुङका बजार जान सहज हुन्छ । सरकारी प्रशासनिक कामबाहेक यहाँका बासिन्दा दैनिक जीवनमा आवश्यक पर्ने अधिकांश विषयमा बागलुङमा निर्भर छन् ।
मालिका गाउँपालिका–१ का वडाध्यक्ष दिपक श्रीसका अनुसार बाटोको असुविधाले गर्दा पनि यसप्रकारको परिस्थिति सिर्जना भएको हो । ‘लिलिङ्गमा गत वर्षदेखि मोटरबाटो खन्न सुरु गरिएको छ । विद्युत सेवाका लागि पोल गाड्ने काम भइरहेको छ,’ उनले भने ।
सोही वडाका सदस्य महेन्द्र विक एम्बुलेन्स पुग्ने सामान्य मोटरबाटोसमेत नरहेको बताउँछन् । उनका अनुसार विद्युतको पोल गाडेको दुई वर्ष भए पनि काम अगाडि बढ्न सकेको छैन । यहाँका बासिन्दाले बाग्लुङवासीसँग मिलेर झण्डै तीन वर्षसम्म जनश्रमदान गर्दै र प्रति घरधुरी २० हजारका दरले पैसा तिरेर लघु जलविद्युतको बत्ती बालेर निर्वाह गर्दै आएका छन् ।
वडा कार्यालय पुग्न पनि डेढ घण्टाको उकालो हिँड्नु पर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । वडा कार्यालयबाट गाडी पाए वा गाडी चल्ने मोटरबाटो अवरुद्ध नभएको अवस्थामा गाउँपालिकाको कार्यालय अर्खबाङ्ग ठुलाचौर पुग्न झण्डै साढे ६ घण्टा लाग्ने उनीहरुको भनाइ छ ।
‘पहिला हामी बाग्लुङ जिल्लामा थियौं, पछि गुल्मीको भयौं,’ स्थानीय ६१ वर्षीय डम्बरबहादुर घर्तीले भने, ‘गुल्मीमा परेपछि कहिले हामीलाई दर्लिङले नेटातिर फाल्यो । कहिले हामीलाई नेटाले दर्लिङ्गतिर फाल्न खोज्यो । त्यसपछि हामी डेलिगेशन गएर अहिले मुसिकोट नगरपालिकाको वडा नम्वर १ का बासिन्दा बनेका हौं ।’

साबिकमा दर्लिङ्ग गाविस र नेटा गाविस थियो । माथि उल्लेखित गाउँहरु साविक नेटा र दर्लिङ्ग गाविसका विभिन्न वडा थिए । वडा नम्वर २, पाटाखर्क गाउँको अवस्था पनि करिब उस्तै छ । एउटा आधारभूत विद्यालय स्थापना भए पनि छाप्रोमा पढाइ छ । भर्खर एउटा भवन बन्ने क्रममा छ ।
‘गत वर्ष पनि त्यहाँ पहिरोले धेरै परिवार विस्थापित भए, त्यहाँका बासिन्दालाई सुरक्षित बसोबासको ब्यवस्था गर्नेतर्फ कसैले ध्यान दिएन,’ स्थानीय दलित अगुवा रविन्द्र विकले भने, ‘यस्तै छ पाटाखर्क, दुनाम लिलिङ्गतिरको अवस्था पनि ।’
राजबारी, सिम्ले, न्वालाधारा, खनधारा, कमेरे र आडचौरसम्मका जनता मुसिकोट नगरपालिकाबासी हुन् तर विकासको दृष्टिले कर्णाली प्रदेशका दुर्गम गाउँका जनताभन्दा फरक छैनन् । वडा नम्वर १ को थामडाँडा भन्ने स्थानबाट आडाचौर हुँदै गत वर्षदेखि न्वाराधारा सिम्ले बुर्तिबाङ मोटरबाटो खन्न सुरु गरिएको हो । नगरपालिकाको दुई पटक गरी करिव ६ लाख रुपैयाँ रकमबाट खन्न सुरु गरिएको उक्त मोटरबाटो कडा पहरो भएका कारण काम अघि बढाउन सकस भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर सुनारका अनुसार प्रदेश सांसद गीता थापाले सांसद विकास कोषबाट १० लाख रुपैयाँ विनियोजन गरेपछि मोटरबाटो खन्न सुरु गरिएको छ । मोटरबाटो अभावका कारण कक्षा ३ देखि माथिल्लो कक्षा पढ्न त्यहाँका बालबालिका बागलुङको खाला बजारमा रहेको बुद्ध माध्यमिक विद्यालय र ग्लालीचौरको भानु माध्यमिक विद्यालयमा जान बाध्य छन् ।
‘स्कुल, हाटबजारदेखि सबै कुरामा बागलुङकै भर पर्नु पर्दछ,’ सुनारले भने, ‘बस्ने जमीन मात्रै गुल्मी हो ।’ त्यस गाउँका अधिकांश मानिसका लागि सदरमुकाम तम्घास पुग्नभन्दा बागलुङको सदरमुकाम र पोखरा लगायतका सहर पुग्न सहज छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण