शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोपाइँ महोत्सवमा लगाइएको बिउको मालाको तीब्र आलोचना

बिहीबार, १६ असार २०७९, १० : ३४
बिहीबार, १६ असार २०७९

सामाजिक सञ्जालमा बुधवार एउटा तस्विर निकै भाइरल बन्यो । पोखरा पर्यटन परिषदले आयोजना गरेको १७ औं रोपाइँ महोत्सवमा सहभागी अतिथिहरूले लगाएको धानको बिउको माला सामाजिक सञ्जालमा निकै छायो । त्यसको पक्ष र विपक्षमा निकै टिका टिप्पणीहरू भइरहेका छन् । सामाजिक सञ्जालमा त्यसको सकारात्मक भन्दा पनि नकारात्मक टिप्पणीहरू देखिएका छन् ।

पोखरा पर्यटन परिषदले आयोजना गरेको रोपाइँ महोत्सवमा लगाइएको धानको बिउको मालाको सामाजिक सञ्जालमा आलोचना भएको हो । राष्ट्रिय धान दिवसको अवसरमा परिषदले वर्षेनी रोपाइँ महोत्सव गर्दै आएको छ । असार १५ गते नियमित जस्तै परिषदले रोपाइँ महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा निम्ता गरिएका पाहुनाहरूलाई आयोजकले धानको बिउको माला लगाइदिएको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमा समाजशास्त्री हंसराज जोशीले आलोचना गर्दै लेखेका छन्, ‘यो विकृत रुप कसरी विकास भयो ? हरेक वर्ष यस्तै टिप्पणी हुन्छन तै यीनीहरुको घैंटामा घाम लाग्दैन । बरु सक्ने भए हरेक विद्यार्थीलाई आज किसानको खेतमा लगेर धान रोप्न सिकाउने र धानको अर्थतन्त्र पढाए हुने । नेपालीहरु के खाएर यस्तो बुदी बढाउँछ हँ ?’

यसैगरी भुमि अभियन्ता सरस्वती सुब्बाले पनि ट्वीटरमा​ माला लगाइएको प्रति बिरोध गर्दै लेखेकी छन् । ‘एक बोट रोपेर हजार दाना फलाउनुको सट्टा बेहुला जस्तो माला लाएपछि असार १५ हो कि बिहे हो छुट्टाउन गाह्रो भयो ।’ उनको ट्वीट छ ।

पत्रकार अनिल गिरीले सामाजिक सञ्जाल फेसबुकमा पनि माला लगाइएको प्रति असन्तुष्टि पोखेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘असार १५ के नाम पर ए क्या नौटङ्की हे भाइ ? जग्गा जति प्लटिङ घाँटीमा धान !’

पोखराका अग्रज पत्रकार बद्रिविनोद प्रतीकले पनि मालाको बिरोध गर्दै फेसबुक स्टाटस अपडेट गरेका छन् । ‘धानको बिउको माला पहिरेर मखमली सोफामा बसेर, धान दिवस मनाउनेहरूले साँच्चि के सोचिरहेका होलान् ?’ उनले स्टाटसमा भनेका छन् ।

तर पोखराका पर्यटन व्यवसायी तथा टानका पुर्व अध्यक्ष हरि भुजेलले भने यो विरोधको बचाउ गरेका छन् । ‘आज फेसबुकमा यो तस्विरलाई राखेर गरिएको कमेन्ट हेर्दा, भारतबाट किनेर ल्याएको क्यामिकल हालेर ताजा पारिएको पहेँलो सयपत्रीको माला स्थानिय महिलाहरुले लगाइदिनु पर्ने, आफ्नै देशमा उमारेको धानको बिउ लगाइदिनु भएछ, पैसा बिदेश पठाउनु भएन गल्ती गर्नु भयो हजुरहरुले।  फेसबुकभरि भाइरल हुनुभयो। दशैंमा चामलको टीका लगाउँदा र गहुँ जौ मकैको जमरा लगाउँदा त कुनै विज्ञले आज फेसबुकमा सुझाब दिएजस्तो र निकै बुज्ने जस्तो रुपमा  फेसबुकमा लेखेको थाह पाएको छैन।  उहाँहरु आफैँ जमरा र टीकामा सजिएको देखेकै हो।’ उनले फेसबुकमा लेखेका छन् । 

उनको स्टाटसमा टिप्पणी गर्दै नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले यो चलन पहिलेदेखिको हो की अहिले ल्याइएको हो भनेर अनुसन्धान गर्न सुझाब दिएका छन् । ‘हामी पनि अतिथिकै रूपमा थियौ। अब हामीलाई माला के को लाइदिन्छौ भनेर सोध्ने कुरा भएन । तथापि एउटा पाठ सिकियो, माला लगाउन सोच्नुपर्ने भयो । हाम्रो संस्कृति ले के भनेको छ ? विद्वान साथीहरूले मात्रै सुझाव गर्नुहोला । गाली गर्ने त यहाँ हजारौं छन।’ उनको टिप्पणी छ ।

पत्रकार रञ्जन अधिकारीले पनि धानको बिउको माला लगाएको प्रति व्यंग्य कसेका छन् । ‘धान महोत्सवमा धानको बिउको माला, आलु महोत्सवमा आलुकै माला, स्याउ महोत्सवमा स्याउकै माला, जुत्ता महोत्सवमा यही तरिका अपनाउँदा कसो होला ? पुनश्च स्याउ र आलु त घर लगे पनि हुन्छ, यो धानको के बिचल्ली बनाका ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप