बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘कम्युनिस्ट चस्मा’ दोषी हो, समाज हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ

बुधबार, २२ असार २०७९, ०६ : ००
बुधबार, २२ असार २०७९

‘सि यू’ अर्थात् फेरि भेटौँला भनेर भनेर गएकी क्यानडियन नेक्स डोर छिमेकीलाई भेट्न भने कहिले पनि आइनन् । भेटको निम्ति चाहना जाहेर गरेकी क्यानडियनले दुई वर्षसम्म उसको अर्को ढोकाकी पात्र भेतनामिजलाई भेट्न नगएको देखेपछि लाग्न थाल्छ कि यो ‘सि यू’ भन्ने कुरामा नै खोट छ । गोरेहरू अर्थात् तेस्रो मुलुकका मानिसहरूले यसो बाटोमा कसैलाई देखे मात्र पनि हाई भनिहाल्छन् । यसैले उनीहरू सम्बोधनमा निकै माथि रहेको पनि हामीलाई लाग्ने गर्छ । सम्बोधनको प्रकार मुलुक अनुसार नै फरक भए पनि त्यसको गहिरो भाव भने केही हदसम्म मिल्ने गर्छ । किनभने भावनात्मक दृष्टिबाट गरिने कुरा हो सम्बोधन । तर, गोरेहरूले हाई भन्दै गर्दा उनीहरू वास्तवमै हामी भन्दा निकै पृथक हुन् त ? यसै भनिहाल्न मिल्दैन । यद्यपि, बाटोमा अमेरिका लगायतका अन्य तेस्रो मुलुकमा सुनिने हाइ भनेको, कसैलाई चिनेर गरिएको हुँदैन । मेरो पनि उपस्थिति यहाँ छ है भनेर कसैलाई दर्शाउनको निम्ति यो गरिन्छ । यसभित्र भावनाका बिम्बहरू हुन्छन् जस्तो मलाई लाग्दैन । 

हामी नेपालीहरूलाई कसैले यसो हाँसे वा नमस्कार गरे भने हामी सोच्न थाल्छौँ कि फलानालाई कता देखेको वा कता चिनेको भनेर । किनभने, हाम्रो सभ्यतामा चिनेजानेकालाई मात्र यसरी सम्बोधन गर्ने चलन छ । यो सभ्यतामा हुर्किएको कुनै पनि नेपालीको निम्ति फरक लाग्नु पनि स्वभाविक नै हो । तर, विदेशीहरूले जम्मा दुइ शब्द जान्दछन् हाई र बाई भनेर मजाक गर्ने पनि गरिन्छ । अरु शब्द आदान प्रदान खास हुँदैन पनि । यसको मुख्य कारण सामाजिक बनावट नै हो । नेपालीहरू हाई र बाईजस्ता सम्बोधन नचिनेकालाई खास गर्दैनन् तर अनौपचारिक भलाकुसारी भने नेपालीहरूको एक खुबी नै हो । यही ठाउँमा तेस्रो मुलुकका मानिसहरू अनौपचारिक रुपमा त्यति खुल्दैनन् पनि । ‘इटस् माई पर्सनल कन्सर्न’ भनेर चुप लाग्छन् र लगाइदिन्छन् पनि । त्यसैले केही आगन्तुक विदेशीका केही वाक्यबाट उनीहरूको सभ्यता नै नबुझी निष्कर्षमा पुग्न खोजियो भने त्यो गलत हुन्छ । 

‘आराम हुनुहुन्छ ?’ हामी अक्सर सोध्छौँ । आराम हुनुहुन्छ भनेको हाम्रो निम्ति गफ सुरु गर्ने एक कडीको रुपमा प्रस्तुत हुन्छ । उक्त कडीलाई विभिन्न देशका विभिन्न भाषासँग जोड्न भने सकिन्छ । भाषा र सभ्यताअनुसार आइसब्रेक गर्ने तरिका र पद्धति फरक हुन सक्छ । उदाहरणका लागि तेस्रो मुलुकका मानिसहरू र अझ अमेरिका क्यानडाका मानिसहरूलाई ‘डिड यू स्लिप वेल’ भनेर सोधिन्छ । यो भनेको उक्त समाजको चलन भन्दा केही पनि हैन । ती मुलुकहरूमा राती निदाउन नसक्नु एक गम्भीर समस्या बन्दै गएको कुरा हामीलाई थाहा छ । र, त्यसकै वरपर रहेर नै सोधिने गरिन्छ, आरामले निदाउनु भयो ? भनेर । हामीले आराम हुनुहुन्छ भन्नु भनेको पनि हाम्रो समाजको हिजोको रीत नै हो । नेपालीलाई यही नै हुन्छ वा होला भन्ने खास केही पनि ठोस कुरा पनि त छैन । तर कहीँ समाजमा चलेका वा गरिने अन्य क्रियाकलापले पनि नेपालीहरूको सन्चो बिसञ्चोमा असर परिरहेको त छैन ? यद्यपि, अपवादलाई बिर्सिएर विरामी भएर गाह्रो भएर यहाँ कसैले कसैलाई आराम हो भनेर सोधेको हैन । 

नेपाल र वैदेशिक मुलुकको हकमा पनि हिजो फरक भएपछि आज फरक हुनु अत्यन्तै स्वभाविक हो । हिजो जस्तो थियो, लगभग त्यसकै प्रतिबिम्ब हो आज पनि । नेपाली समाज र वैदेशिक समाजको हिजो कस्तो थियो त ? यसले नै निर्धारण गर्छ आज र भोलि । 

आइसब्रेक भनेको लामो समयसम्म चलिरहेको वा भइरहेको केही कुरालाई अकस्मात् टुटाउनु वा फुटाउनु हो । यस सन्दर्भमा भने यसले लामो मौनतालाई फुटाएको प्रसंग हो । एक घटनाको सम्झना आउँछ, जहाँ म पश्चिमको यात्रामा थिएँ र उक्त यात्रामा म बसेको ठाउँ एक असल मित्रको घर थियो । पश्चिमी डाँडाहरूमा रमाउँदै गर्दा हामीले अनेकौँ दिन बितायौँ, तर मेरा मित्रको पत्नीसँग केही पनि भलाकुसारी हुन पाएन वा भनौँ भएन । आइस् जमिरहेकै थियो । हिँड्ने दिन निक्लिन लाग्दा उहाँको बोली फुट्यो मेरो निम्ति र भन्नुभयो, आरामै जानुहोला । हो, यही नै हो आइसब्रेक । यही ब्रेकका तरिका अनेक हुन्छन् र समाजमा मानिसहरूले आफ्नो अनुकूलता अनुसारको सहजता अपनाएर आइसब्रेक गर्छन् । तसर्थ, हाम्रो र विदेशी मुलुकको यो पक्षमा पनि एक विशाल द्वन्द्व छ । 

नेपाली र विदेशी मुलुकका सामाजिक एवम् दार्शनिक भिन्नता 

स्वभाव एवम् उक्त मुलुकको सभ्यता भनेर आउने बित्तिकै त्यसमा जोडिन्छ, जीवन दर्शनका सिद्धान्तहरू । जीवन दर्शनका अनेकौँ बिम्ब हुन सक्छन् । यसका नियम विनियमहरू थुप्रै छन् तर हामीले अत्यन्तै सतही हिसाबले मात्रै हेर्यौं भने पनि हामी बुझ्न सक्छौँ कि, दर्शनशास्त्रका नियमहरू ठाउँ परिवेश र समाज अनुसार फरक पर्दै जान्छ । र, त्यो इतिहास र चलनसँग पनि जोडिन्छ । यद्यपि, जीवन दर्शन कुनै पनि हकमा परिर्वतन गर्न सकिँदैन भन्ने पनि हुँदैन । यसमा हामीले बुझ्नुपर्ने कुरा यो नै हो कि, जीवन दर्शनले नै समाजको डोर बोकेको हुन्छ र परिर्वतनको विशाल सागर पनि यहीभित्र नै अँटेको छ । 

नेपाल र वैदेशिक मुलुकको हकमा पनि हिजो फरक भएपछि आज फरक हुनु अत्यन्तै स्वभाविक हो । हिजो जस्तो थियो, लगभग त्यसकै प्रतिबिम्ब हो आज पनि । नेपाली समाज र वैदेशिक समाजको हिजो कस्तो थियो त ? यसले नै निर्धारण गर्छ आज र भोलि । 

नेपाली समाजको प्रतिविम्व भनेको नै धर्म, संस्कृति र रितिहरू हुन् । यसबाट नै मार्गनिर्देशित भएका नेपाल र नेपालीका बानीहरूलाई संस्कृतिसँग जोड्न सक्नुपर्दछ । पश्चिमाहरूको आँखाबाट नेपाललाई हेर्न खोजियो भने त्यसले झन् भन्दा झन् कुरुप समाजको सिर्जना गर्छ र समाजमा अनावश्यक कलह बढ्ने खतरा पनि हुन्छ । 

हाम्रो समाजमा एउटै लिंगका मानिसहरू हात समातेर हिँड्दा र उनीहरूको समाजमा एउटै लिंगका मानिसहरू हात समातेर हिँड्दा कस्ता खालका अभिव्यक्तिहरू सिर्जना हुन्छन् त ? यी पनि सामाजिक भिन्नता र सभ्यताले नै डोर्याएर ल्याएका पक्ष हुन् । त्यसैले नै सम्पूर्ण मुलुकलाई एउटै डालोमा हालेर समाजको निष्कर्षमा पुग्न खोजियो भने त्यो निष्कर्षले लामो यात्रा तय गर्न सक्दैन । 

पेनन्सिलभियाकी एक प्रोफेसर मेलम्ची यात्राको क्रममा नेपाली समाज र मेलम्चीका मानिसहरूको जीविकोर्पाजन देखेर चकित परेकी थिइन् । उनले चकित हुँदै मलाई भनिन् कि, विद्या, यी व्यक्तिहरूलाई बस्न गतिलो ठाउँ छैन, खान पनि असहज छ । तर पनि राति मजासँग निदाउँछन् । जबकि मसँग उता ७/८ वटा गाडी छ । सम्पत्तिको कुनै कमी छैन । तर पनि राति निदाउन नसकेर म सिरिन्ज लिने गर्छु । यो के हो विद्या ?

उक्त प्रश्नको उत्तर स्वरुप मैले भनेँ, डियर प्रोफेसर हामी फरक चिन्तन बोक्ने समाजमा बस्छौँ । हाम्रा नेपालीहरू ढुक्क छन् कि जीवनमा देहत्याग गरेपछि केही पनि लिएर जाँदैनौ । तर, तिमीहरू पैसामुखी समाजमा छौ । भौतिक सुखलाई जीवनको एक मात्र सुखको रुपमा हेरिरहेका तिमीहरूले जीवनमा सन्तुष्टि लिन नै जानेका छैनौ । त्यसैले हाम्रो जीवनदर्शन र चिन्तन नै फरक छ, डियर भनें । 

यसबाट नै हामी के बुझ्न सक्छौँ भने जीवनको एक मात्र सुख पैसा मानेर हिँड्ने पश्चिमाहरू सुखी छैनन् । सम्पत्तिको असंख्य मात्रा भएतापनि उनीहरूमा सन्तुष्टिको कुनै भाव छैन । यद्यपि, अपवादका केही उदाहरण भने हरेक समाज र मुलुकमा हुने नै गर्छ । यसरी जीवन बाँचिरहेका पश्चिमाहरूसँग भौतिक सुविधाबाहेक के छ त ? यो विशाल प्रश्न उनीहरूलाई तेर्साउन जरुरी छ । तसर्थ यो सबै फरक भनेको नै सामाजिक तथा दार्शनिक भिन्नताले ल्याएको फरक हो । 

उदाहरणहरू अन्य हुन सक्छन् । जस्तै, हाम्रो समाजमा एउटै लिंगका मानिसहरू हात समातेर हिँड्दा र उनीहरूको समाजमा एउटै लिंगका मानिसहरू हात समातेर हिँड्दा कस्ता खालका अभिव्यक्तिहरू सिर्जना हुन्छन् त ? यी पनि सामाजिक भिन्नता र सभ्यताले नै डोर्याएर ल्याएका पक्ष हुन् । त्यसैले नै सम्पूर्ण मुलुकलाई एउटै डालोमा हालेर समाजको निष्कर्षमा पुग्न खोजियो भने त्यो निष्कर्षले लामो यात्रा तय गर्न सक्दैन । 

कम्युनिस्टहरूको थोत्रो आँखा 

कार्ल मार्क्स जस्तो विद्वान र वैचारिक रुपमा सशक्त व्यक्तिलाई हाम्रा कथित कम्युनिस्टहरूले गलत व्याख्या गरिरहेका छन् । हाम्रो समाजमा देखिएको यस खालका भ्रामक वैचारिक धुव्रीकरणका कारण सिद्धान्तका बलिया धरोहरहरू भत्किन सक्ने खतरा पनि बढ्दै गएको छ । हाम्रा कम्युनिस्टहरूको आँखा नै थोक्रो भएको छ र चस्मा नै दोषी भएको छ । समाजका कुनै पनि नियम संस्कृति र मार्क्सको क्रिटिक्यालिजम नबुझी धर्म भनेको अफिम हो भन्ने जस्ता वाहियात कुरा गर्ने हाम्रा कम्युनिस्टहरूले जनता समक्ष माफी माग्नुपर्छ । उनीहरूले जनतामा फैलाइरहेको भ्रमका कारण आउँदो पिढी पनि भ्रममा पर्ने कुराले मलाई व्यक्तिगत रुपमा पनि निकै पिरोलेको छ । र, साथै मार्क्सका कतिपय कुराहरूले त समाज हेर्न खोजियो भने पनि गलत हुन जान्छ । किनभने, उद्योगको लागि बनेका मार्क्सका कतिपय चिन्तनलाई समाजको रुपमा र अझ नेपाली समाजमा जरा गाड्न मात्र खोजियो भनेपनि त्यसले हामीलाई गलत मानसिकतातर्फ डोर्याउँछ । 

यी थोत्रा कम्युनिस्ट आँखाहरूले जे कुरालाई पनि सामन्ती प्रवृत्ति र दास मानसिकतासँग लगेर जोड्ने काम गर्छन्, जुन सरासर गलत हो । समाजको चिन्तन र सभ्यता नै नबुझी अत्यन्तै सतही रुपमा यस्तो निष्कर्ष निकाल्ने कम्युनिस्ट मूर्ख र ढोँगी हुन् ।

एक सज्जन कम्युनिस्टले मलाई नेपाल भनेको वर्गीय समाज हो भने । उनको कुरालाई काट्दै मैले भनें, यदि हाम्रो समाज वर्गीय समाज हो भने तपाईं धनी दलित र धनी बाहुनबीच वैवाहिक सम्बन्ध गाँस्ने समाजमा बस्नु भएको छ त ? मेरो प्रश्नमा उनी मौन भए । उनीसँग मौन हुन बाहेकको विकल्प पनि थिएन । त्यसैबीच मैले थपेँ, हामी सक्दैनौँ तर मार्क्स सक्छन्, युरोप सक्छ र पश्चिमाहरू सक्छन् । त्यसैले म बारम्बार भन्दैछु कि नेपाली मिश्रित समाज जरुर हो तर अझै वर्गीय समाजको कुशल उदाहरण हैन । 

यी थोत्रा कम्युनिस्ट आँखाहरूले जे कुरालाई पनि सामन्ती प्रवृत्ति र दास मानसिकतासँग लगेर जोड्ने काम गर्छन्, जुन सरासर गलत हो । समाजको चिन्तन र सभ्यता नै नबुझी अत्यन्तै सतही रुपमा यस्तो निष्कर्ष निकाल्ने कम्युनिस्ट मूर्ख र ढोँगी हुन् । तिलक परियारले मलाई यही कुरा भन्नु हुँदा र सामन्ती र दास मानसिकता माथि चर्चा गर्दै गर्दा मैले उहाँलाई सोधेँ, म तपाईंको घरमा पाहुना लाग्न गएँ भने मलाई चिया कसले दिन्छ ? उहाँको जवाफ थियो, मेरी श्रीमतीले । अनि मैले पुनः सोधेँ, तपाईंको श्रीमतीको पाहुना आउँदा चिया कसले दिन्छ ? फेरि पनि उहाँको जवाफ थियो, मेरी श्रीमतीले । त्यसपछि मैले उहाँलाई त्यसो भए तपाईं पनि सामन्ती हो भन्दा उनी बोल्न सकेनन् । यो त हाम्रो संस्कृति हो भन्दै तर्क गरे । 

समाजलाई बहुसंख्यक आँखाबाट हेर्न मात्र थालियो भने पनि समाज फरक देखिन्छ र भ्रामकताबाट समाजले छुटकारा पाउँछ । 

माथिको उल्लेखित घटनाबाट पनि के बुझिन्छ भने खोल ओढेर कोही सिद्धान्तनिष्ट हुँदैन र सबै सिद्धान्त सबै समाजमा लागू गर्न पनि सकिँदैन । त्यसैले यसरी समाज हेरिरहेका यी आँखा नै गलत हो । हाम्रो समाज भनेको लैंगिक भाषाबाट बनेको समाज हो । पश्चिमी चिन्तन भनेको चीलको आँखा हो अर्थात् इगलिटेरियन आइ । तर, हाम्रो चिन्तन त्यो हैन । हामी लैंगिक विज्ञताको समाजमा छौँ । जहाँ बुबा दाउरा बोक्न सिपालु हुनुहुन्छ भने आमा भान्सामा काम गर्न । त्यसैबीच भएका केही अन्यायका आँखालाई बुझ्न र बुझाउनु भने पर्छ । यसबाट हामीले के भन्न सक्छौँ भने सन्तुलन र असन्तुलन बुझाउन हामीले सकेनौँ ।

मेरी श्रीमती र म आफूले हरेक कुरा आफैँ गर्छौं । हामी दुवै जागिरे थियौं र त्यही सिलसिलाले नै हामीलाई यो चिन्तन अँगाल्न मदत गर्यो । तर, त्यो बाध्यताबाट अँगालिएको चिन्तन हो । कहिलेकाँही त्यस्तो हुन्छ पनि । तर, यसलाई हरेक हिसाबमा जोड्न खोजियो भने समाज बुझ्न नै सकिँदैन । 

एकांकी दृष्टिकोणको अन्त्य र बहुआँखाको समाज 

भान्सामा बीसौँ वर्ष काम गरेकी महिलाले उनको श्रीमान्को पाहुनालाई खाना खुवाउँदा आइसब्रेकको प्रयोग गर्दै भन्छिन्, ‘नुन लाग्यो कि लागेन होला ?’ यही दृष्टिकोणलाई पनि कम्युनिस्टहरूले दास मानसिकताको रुपमा बुझ्छन् । यो भनेको नै लैंगिक विज्ञतासँग जोडिने कुरा हो । श्रीमान्ले बजारबाट सबै कुराको जोहो गरेपछि उनले पकाउने मिहिनेत गरिन् र खुवाइन् । आइसब्रेक पहिले भनेझैँ यस्ता ठाउँमा आउँछन् । तर, थोत्रो र सतही ज्ञानका मानिसले गलत व्याख्या गर्छन् र यो भनेको नै एकांकी दृष्टिकोणबाट समाज हेर्न खोज्नु हो । 

साथै, भौतिकवादी र आध्यात्मवादी भनेर हामीलाई गफ पिट्नेहरू पनि एकांकी आँखा भएका कमजोर व्यक्ति हुन् । किनभने कोही भौतिकवादी पनि हुँदैन र कोही अध्यात्मवादी मात्र पनि हुँदैन । बरु दुवैको समिश्रित रुपमा भने जीवन बाँच्न सकिन्छ भन्ने मान्छे नै बहुआँखा भएको मान्छे हो । त्यसैले नै मैले भन्ने गरेको छु कि आफूलाई आध्यात्मवादी भन्ने यी बाबाहरू पनि मूर्ख र ढोंगी हुन् । र, आफूलाई भौतिकवादी भन्ने कुनै पनि कम्युनिस्ट हुन् वा जो कोही हुन् यी पनि मूर्ख नै हुन् । 

तसर्थ, समाजलाई बहुसंख्यक आँखाबाट हेर्न मात्र थालियो भने पनि समाज फरक देखिन्छ र भ्रामकताबाट समाजले छुटकारा पाउँछ । 

रातोपाटीकर्मी अग्रिम अधिकारीसँग गरिएको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्राडा विद्यानाथ कोइराला
प्राडा विद्यानाथ कोइराला
लेखकबाट थप