बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड बजेट निकासा

शनिबार, ०४ भदौ २०७९, १२ : ५६
शनिबार, ०४ भदौ २०७९

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।
 
प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।
 
खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले रु एक करोड ४० लाख विनियोजन गरेको थियो । अर्थमन्त्रालयले बजेटमा व्यवस्था गरिएको बाहेक थप बजेट खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको हो ।
 
अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिइने बताए । उनले भने, “राष्ट्रिय खेलकुदका लागि बजेट अभाव हुन दिदैनौँ । अहिले निकासा गरिए भन्दा थप आवश्यक परेमा पुनः बजेट दिन्छौँ । खेलाडीलाई आधारभूत सुविधामा बजेट अभावले कुनै पनि कमी हुन दिदैनौँ ।”
 
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारले खेलाडी प्रशिक्षण सुरु गरेको छ । प्रदेश खेलकुद परिषद्ले शुक्रबारदेखि पहिलो चरणमा १४ खेलको विशेष प्रशिक्षण सुरु गरेको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ ।
 
राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलको विशेष प्रशिक्षण सञ्चालन भएको बाँकी हो ।
 
प्रदेश खेलकुद परिषद्ले बाँकी २२ खेलका लागि दोस्रो चरणमा जिल्ला छनोट प्रतियोगिता हुने जनाएको छ ।  यही भदौ ९ देखि १२ गतेसम्म जिल्ला छनोट प्रतियोगिता सञ्चालन गरिने सदस्य सचिव गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप