सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका बनाउन विवरण सङ्कलन

बिहीबार, ३० भदौ २०७९, ०९ : ०४
बिहीबार, ३० भदौ २०७९

राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ ।

बुधबारदेखि छिरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिए । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताए । जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

उनले जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा विवरण सङ्कलन कार्य सुरु गरिएको जनाए । “बाँकी स्थानीय तहमा छिट्टै व्यवस्थापन गरिने छ । उपकरणमा समस्या देखिएकाले रोकिएको हो, दुरुस्त हुने बितिकै पठाउँछौँ”, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने ।

स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक कर्मचारी खटाइएको छ । सो स्थानबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ । इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र
यस्तै गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ ।

सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने भएको छ । 

परिचयपत्र बनाउन बाँकी रहेका जिल्लावासीले आउँदो असोज २ गतेदेखि आ–आफ्नो पालिकामा नै सम्पर्क गरी परिचयपत्र बनाउन सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप