बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ‘यात्रुसँग एक मिनेट’

बुधबार, १२ असोज २०७९, १६ : १०
बुधबार, १२ असोज २०७९

कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो । 

सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष तथा जाँचस्थलमा यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिहंले जानकारी दिए । बसपार्कबाट छुटेका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी विभिन्न यात्रु सहायता कक्षमा पुगेलगत्तै जाँचमा सुरक्षाकर्मीले चालकका बारेमा गाडीमा सवार यात्रुसँग गरिने एक मिनेटको कुराकानीलाई यात्रुसँग एक मिनेट भनिएको छ । 

“यात्रुको सहजताका लागि एक मिनेटमा विभिन्न कुरा सोधिन्छ”, प्रमुख सिंहले भने, “टिकटमा भए अनुसारको सिट पाउनु भएको छ की छैन ? आरक्षण भएको सिट सदुपयोग गर्न पाउनुभएको छ की छैन ? तोकिए बमोजिमको भाडा तिर्नु भएको छ वा बढी ? चालक सहचालकले तपाईसँग कुनै नराम्रो व्यवहार गरेको छ की छैन ? चालकको सेवा प्रभाव कस्तो छ ? यी यावत कुरा एक मिनेटमा सोधेर यात्रुलाई तपाईको यात्रा शुभ रहोस् भन्ने तवरले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”

यी चारपाँच वटा प्रश्न एक मिनेटमा सोध्ने तथा सबै ठीक छ भने गन्तव्य स्थानमा जान अनुमति दिने र यदि नियम विपरीत भएको पाइएमा तुरुन्तै ‘रेन्सपोन्स’ गरी कारबाही गर्ने गरेको उनले बताए । त्यसैगरी बसपार्कबाट बस छुट्ने समय अगावै सार्वजनिक सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न पनि सुरु गरिएको छ । अक्सर गरेर अघिल्ला वर्षमा सवारी दुर्घटनाको विश्लेषण गर्दा थोत्रा गाडी तथा यान्त्रिकरण गडबडीका कारण दुर्घटना हुने गरेकाले चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्थाको जाँचमा ध्यान दिइएको हो । 

चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने भएको हुँदा सवारी साधनको यान्त्रिक अवस्था जाँच नगरी सवारीसाधन सञ्चालन गर्दा सवारी दुर्घटना हुनसक्ने भन्दै उक्त कार्यलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्यूनीकरण लागि यातायात व्यवस्था कार्यालय धनगढीका प्राविधिकसहितको संयुक्त टोलीले सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न सुरु गरिएको प्रमुख सिंहको भनाइ छ । सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँचका साथै सवारीसाधनमा अगाडिको सिसा तथा (ऐना) मा विभिन्न किसिमका झालर, रुमाल तथा अन्य सजावटका सामान राखिएका छन् भने तुरुन्त हटाउने गरिएको छ ।

चाडपर्व नजिकिएसँगै भीडभाड बढ्यो 

चाडपर्व नजिकिएसँगै धनगढी बजार क्षेत्रमा भीडभाड बढेको छ । बडादसैँं, शुभदिपावली एवं छठपर्व नजिकिएसँगै यति बेला पर्व मनाउन रोजगारीका लागि भारतका विभिन्न सहर पसेका आफ्नो जन्मथलो फर्कन दिनहुँ कैलालीको त्रिनगर भन्सार नाका हुँदै प्रदेशको अस्थायी राजधानी धनगढी पुग्ने गरेका छन् ।

अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौं लगायतका सहर गएका पनि कोही घर फर्केका छन् भने कोही फर्कने क्रममा छन् । त्यस्तै अन्य विभिन्न ठाउँ गएका पनि पर्व मनाउनका लागि घर फर्किरहेका छन् । त्यसले गर्दा हिजोआज बजारमा अत्यन्त भीडभाड बढेको पाइन्छ । चाडवाड नजिकिएसँगै दिनहुँ बजारमा भीडभाड बढ्दै गएको धनगढीका स्थानिय भोजबहादुर मल्लले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप