शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘यात्रु आफै सचेत र सजग बनौँ’

दुर्घटना कम गर्न सडक सुरक्षासम्बन्धी विज्ञ आशिष गजुरेलका टिप्स
शुक्रबार, १४ असोज २०७९, १२ : ५३
शुक्रबार, १४ असोज २०७९

दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै बसपार्कमा यात्रुको चाप बाक्लिएको छ । सबैलाई जतिसक्दो छिटो गन्तव्यमा पुग्ने हतारो हुनु स्वाभाविकै हो । 

यात्रुहरूको ध्यान जसरी पनि सवारी चढ्ने र गन्तव्यमा पुग्ने भन्नेमा नै बढी केन्द्रित हुने बेलामा हामीले अति महत्त्वपूर्ण कुरा भने बिर्सिरहेका हुन्छौँ, त्यो हो सडक सुरक्षा । हामीले सुरक्षित यात्रा गर्दै छौँ कि जोखिमपूर्ण ? 

सडक सुरक्षाजस्तो अति महत्त्वपूर्ण र संवेदनशील विषयमा पनि हामीले कहिल्यै ध्यान दिँदैनौँ । सवारी धनीहरूको त प्राथमिकता पैसा कमाउनेमा हुन्छ, त्यसमाथि पनि दसैँ तिहार जस्ता चाडमा त उनीहरूका लागि कमाउने मौका नै हो । 

उता यस्ता यात्रुहरूको सुरक्षाका अनुगमन गर्ने प्रहरी र यातायात व्यवस्था विभागको पनि यो बेलाको उपस्थिति विशेष गरी बसपार्क क्षेत्रमा निकै कमजोर र फितलो देखिन्छ । उनीहरूसँग भएको सीमित जनशक्तिले सबै यात्रुको सुरक्षा प्रत्याभूति दिन सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा विशेष गरी यात्रुको चाप बढी हुने चाडपर्वको अवधिमा सवारी दुर्घटनाका कारण ठुलो मानवीय क्षति हुने गरेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार गत वर्षको दसैँको घटस्थापनापछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको थियो । यस वर्ष पनि दसैँ नजिकिँदै गर्दा केही सवारी दुर्घटनामा यात्रुले ज्यान गुमाइसकेका छन् । 

चाडपर्वमा रमाइलो गरी मीठो मसिनो खाने बेलामा घरपरिवार र आफन्तमा रुवाबासी ल्याउने यस्ता दुर्घटना किन हुन्छन् र यसलाई न्यून गर्न कस्ता उपाय अपनाउनु पर्छ भन्ने विषयमा यातायात विज्ञ आशिष गजुरेलका यस्ता छन् टिप्स:

१. प्रयोग गरौँ दुई पाङ्ग्रेमा सवार दुवै जनाले हेलमेट

सडक र यातायातको व्यवस्थापन आजको मुख्य चुनौती हो । सडक दुर्घटनाकै कारण विश्वमा हरेक वर्ष १३ लाखको हाराहारीमा मानिसले ज्यान गुमाइरहेका छन् । 

नेपालमा भने हरेक वर्ष सडक दुर्घटनामा करिब २ हजार ५ सय जनाले ज्यान गुमाइरहेका छन् । नेपालमा हाल सडक सञ्जाल  एक लाख किलोमिटरभन्दा बढी छ । अहिले नेपालमा ४० लाख सवारीसाधन दर्ता भएका छन्, यो सङ्ख्या दिनानुदिन बढ्दो छ । यसमा मोटरसाइकलको सङ्ख्या ८५ प्रतिशत भन्दा ज्यादा छ । एक अध्ययनका अनुसार चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रे सवारी दुर्घटनाको सम्भावना ८० प्रतिशत बढी रहन्छ । यस्तो बेला दुई पाङ्ग्रे चालक अझ बढी सचेत र सजग हुनु आवश्यक छ । 

सकभर दुई पाङ्ग्रेमा सवार दुबैजनाले हेलमेट प्रयोग गर्ने । बालबालिकाहरूलाई सकेसम्म दुई पाङ्ग्रेमा सवार नगराउने । सवारीको हुटमा बसेर यात्रा नगर्ने ।

२. थकानमा सवारी नहाँकौँ

दसैँको समयमा धेरै यात्रा हुन्छ, जति बढी यात्रा हुन्छ, उति जोखिम बढ्ने नै भयो । अर्कोतर्फ दसैँ, तिहार जस्ता चाडपर्व बर्खायाम सकिदा नसकिँदै आउने हुँदा कालोपत्रे सडक चिप्लो र कालोपत्रे नभएको सडक हिलाम्मे र चिप्लो हुने हुँदा दुर्घटना हुने जोखिम बढी हुन्छ । मौसमविदहरुका अनुसार झन् यस वर्ष हिले दसैँ छ । 

व्यवसायीले चाडपर्वमा भीडभाडको समयलाई आम्दानी बढाउने मौकाको रूपमा लिन्छन् र चालकले आराम नगरी सवारी साधन चलाउँछन् । सवारी साधनको कमी हुँदा क्षमता भन्दा बढी यात्रु राखी सवारी साधन गुड्छन् । यी कारणले दसैँको समयमा दुर्घटना बढी हुन्छ । 

त्यसैले यात्रा गर्दा पर्याप्त आराम गर्ने । थकान महसुस भएको छ भने सवारी नचलाउने र क्षमता भन्दा बढी यात्रु भएको सवारीसाधनमा यात्रा नगर्ने ।

३. ट्राफिक कानुन उलङ्घन गर्नेलाई कडा कारबाही

एक अध्ययनका अनुसार वैज्ञानिक ट्राफिक व्यवस्थापन गरी कानुन कडाइका साथ लागू गर्ने हो भने ४० प्रतिशत दुर्घटनामा कमी आउँछ । सो अध्ययनका अनुसार ट्राफिक कानुन लागू गर्ने तीन कदमहरू छन् । 

पहिलो, ट्राफिक सम्बन्धित कानुन विकास गरेर पास गराउनुपर्छ । दोस्रो, यस्ता ट्राफिक नियमको कार्यान्वयन जसले गर्दा हरेक सडक प्रयोगकर्तालाई कानुन पालना गर्न बाध्य बनाउँछ । तेस्रो, यस्तो नियम पालना नगर्नेलाई कारबाही गर्नुपर्छ । 

तथ्याङ्कहरुले देखाएअनुसार दुर्घटनास्थलको कारबाही नै प्रभावकारी हुन्छ । कानुन मिच्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ, ताकि उसले यस्तो हर्कत फेरि कहिल्यै नदोह्र्याओस् । साथै, चालकले मादकपदार्थ सेवन (मापसे) गरेको छ कि छैन ठाउँ ठाउँमा चेकजाँच गर्ने । 

यी बाहेक अन्य टिप्स यस्ता छन्:

४.लामा रुटमा चल्ने गाडीमा वैकल्पिक चालकको व्यवस्था गर्ने, चालकले २–२ घण्टामा ब्रेक लिने । चिया वा पानी पिउने ।

५.चालकले सवारी चलाउँदा टन्न खाएको छ र सवारी तातो बनाएर चलाएको छ भने निन्द्रा लाग्ने सम्भावना बढी हुन्छ । यो कुरा ख्याल राख्ने ।

६.शतप्रतिशत सही हालत (कन्डिसन) को गाडी मात्र चलाउने । बिग्रिएको गाडी चलाउनु भनेको बिरामी मानिसलाई काम लगाउनु जस्तै हो । सवारी साधन कन्डिसनमा व्यवसायीले राख्नुपर्छ । चालक र सहचालकले कन्डिसनमा नभएको सवारी चलाउनु हुँदैन ।

७.मुख्य सडकका प्रयोगकर्ताहरू चालक, साइकलयात्री र पैदलयात्री हुन् । सडक सबैको साझा सम्पत्ति भएकाले सबैको उत्तिकै अधिकार हुन्छ । एक अर्काको अधिकार हनन् नहुने गरी कानुनको पालना गर्नुपर्छ । अनुशासित भएर सडक प्रयोग गर्ने ।

८.नेपालको नियमअनुसार चालकले एक दिनमा बढीमा ६ घण्टा वा २५० किमी मात्र सवारी चलाउन पाउँछ । चालकले यो नियम पालना नगरेको खण्डमा यात्रुले प्रहरीलाई खबर गर्ने, ज्यान भन्दा ठुलो अरू केही हुन्न ।

९.चालकले आराम नपुगेको अवस्थामा सवारी नचलाउने र सवारी धनीले पनि सवारी चलाउन नलगाउने ।

१०.मिल्नेले दसैँ सुरु हुनु हुँदा बखत नै, फूलपातीको अघि नै यात्रा गर्ने । यसले भिडभाड कम हुन गई आफ्नो र अरूको सडक सुरक्षामा जोखिम कम गराउन मद्दत पुग्छ । 

११. ‘ओभर लोड’ सवारीमा यात्रा नगर्ने÷नगराउने ।

१२. तीव्र गतिले ९० प्रतिशत दुर्घटना हुने हुँदा तीव्र गतिमा सवारी नचलाउने । दुर्घटना शून्यमा ल्याउन त सकिन्न तर यसलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

१३.साँघुरो र चिप्लो सडकमा विशेष ध्यान दिने ।

१४.नेपालका अधिकांश सडक साँघुरो र घुम्ती हुने हुँदा ओभरटेक गर्दा र साइड दिँदा विशेष सावधानी अपनाउने ।

१५.सवारीको ऐना, सिट पेटी र बत्तीको उच्चतम प्रयोग गर्ने ।

१६. सडकको सङ्केत चिन्हको अनिवार्य रूपमा ख्याल राख्ने ।

१७. सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्दै नगर्ने । फोनको प्रयोग गर्नुपर्दा सवारी रोकेर मात्र प्रयोग गर्ने ।

१८.नेपालको अधिकांश राजमार्ग सहर केन्द्रित भएर निर्माण भएको हुँदा पैदल यात्रीले विशेष ध्यान दिई हिँड्ने । सडक पेटी भए सोको प्रयोग गर्ने र नभएको अवस्थामा सडकको दाहिनेबाट हिँड्ने । साथै, सडक पार गर्दा जेब्रा–क्रसको प्रयोग गर्ने । जेब्रा–क्रस नभएको अवस्थामा चनाखो भए सडक पार गर्ने ।

१९. दसैँमा मात्र होइन, तिहार र छठ जस्ता विशेष अवसरमा यात्रुको चापलाई ध्यानमा राखी थप सवारी साधनको व्यवस्था गर्नु पर्छ, ताकि भिडभाड बढी नहोस् । यसका लागि स्कुल र सरकारी सवारीलाई पनि परिचालन गर्न सकिन्छ । यसका लागि सरकारले उचित नीति बनाउन आवश्यक छ । विद्यालयहरूको सवारी थन्क्याएर राख्ने तर अन्य सार्वजनिक सवारीमा भिडभाड गरेर जोखिमपूर्ण यात्रा गराउनु ठिक होइन ।

२०. र, अर्को महत्त्वपूर्ण र विशेष ख्याल गर्नुपर्ने कुरा चालक सहचालक र यातायात व्यवसायीहरूले पैसा कमाउने नाममा अतिरिक्त ट्रिप गर्ने र यसका लागि द्रुत गतिमा सवारी हाँक्ने प्रवृत्ति रोक्नुपर्छ । यसले सयौँ यात्रुहरूको एकै पटकमा ज्यान लिन सक्छ । 

अझ महत्त्वपूर्ण पाटो यात्रु आफै सचेत र सजग बनौँ, दुर्घटनाबाट बचौँ र बचाऔँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप