शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अँध्यारो आत्मा : ताम्फुङ्ना

शनिबार, २२ असोज २०७९, ०८ : १७
शनिबार, २२ असोज २०७९

मान्छेलाई मनुष्यत्वबाट पतन गराउने कारक तत्व के होला ? भन्ने प्रश्नले कहिलेकाहीँ यो मगजलाई गिजोलिरहन्छ । जव जव कुनै न कुनै वृत्तमा मानिसहरुले अपार आस्था राखेका र श्रद्धा गरेका व्यक्तिहरु आफ्नो कर्मबाट स्खलित हुन पुग्छन्, आफ्नो धर्मबाट धराशायी बन्छन्, तव तव मलाई ताम्फुङ्ना तत्वको याद आउँछ ।

किरात–लिम्बु मिथकको ताम्फुङ्ना शब्दको अर्थ गहिरो छ । यस मिथकले भन्छ– मानवलाई मानवबाट पतन गराउने तत्व ताम्फुङ्ना हो । ताम्फुङ्ना अज्ञानताको आत्मा हो । मुन्धुम भन्छ– उज्यालो आत्मा भनेको निङवाफूमा हो । यो ज्ञानको आत्मा हो । यो विवेकको आत्मा हो । यो वुद्धिको आत्मा हो । यो उज्यालोको आत्मा हो । 

ताम्फुङ्नाचाहिँ अँध्यारो आत्मा हो । जंगली आत्मा हो । बुढेनी आत्मा हो । यो अज्ञानताको आत्मा हो । यो कालो आत्मा हो । यो मूर्खताको आत्मा हो । यो ज्ञानरहित हुन्छ । यो विवेकरहित हुन्छ । यो अन्ध र अधवेस्रो हुन्छ । अनि त यसले गाँजेपछि मान्छे मूर्ख बन्छ । अधवेस्रो बन्छ । अँध्यारो आत्माको प्रतीक हो ताम्फूङ्ना । 

अँध्यारो आत्माले मान्छेलाई अँध्यारैतिर डोर्याउँछ । अँध्यारोतिर यात्रा गराउँछ । यसले उज्यालो दिँदैन । यसले मान्छेलाई विवेकतिर होइन, विनाशतिर जान उत्प्रेरित गर्छ । यसले उत्कर्षका उकालीबाट मान्छेलाई पतनका खाडीतिर खसाइदिन्छ । ज्ञानको क्षितिज छुन आँटेको मान्छेलाई पनि ताम्फुङ्नाले छोयो भने अज्ञानता र शठताका सागरमा डुबाइदिन्छ ।

    यसरी हेर्दा निङ्वाफू जग्जग् प्रकाशमय हुन्छ भने ताम्फूङ्ना घोर अन्धकारमय हुन्छ । निङवाफूले मानिसभित्र ज्ञान रोप्तछ । विवेक रोप्तछ र त्यस ज्ञानबाट एक शक्ति प्रकाशित हुन्छ । मानिस जतिजति ज्ञानी बन्दै जान्छ; त्यतित्यति ऊ सशक्त र बलशाली बन्दछ । यसको उल्टो ताम्फुङ्नाले मानिसलाई जतिजति गाँज्दै जान्छ, त्यतित्यति ऊ निच बन्छ, अधम बन्छ, हरामी पाराको मानिस बन्छ । अनि ज्ञानको शक्ति निख्रिएर अधमरो बन्छ । उसलाई आसुरी वृत्तिले विनिष्ट गर्दछ ।

    बाइबलमा पनि यस्तो एक मिथक छ । स्वर्गमा विलास र रमण गरिरहेको मानिसलाई एकदिन शैतानले ऊभित्र शैतानी आत्मा घुसाइदिन्छ र निषिद्धफल खान उत्प्रेरित गर्छ । मान्छेभित्र शैतानी आत्मा घुसेपछि नखानु भनेको फल खान्छन् र सधैको लागि स्वर्गको बगैँचाबाट आदम र हब्बा पृथ्वीमा गिर्दछन् । हाम्रा किरात पुर्खाले देखेको ताम्फुङ्ना र बाइबलको  शैतानी आत्मा एकै एकै हो जस्तो लाग्छ । 

बाइबल बोलिएको, बाइबल लेखिएको दुई हजार वर्ष भयो । त्यो भन्दा अगाडि नै यहाँ किरात सभ्यताको विपुल विकास भैसकेको थियो । मुन्धुमको जयगान गरिसकिएको थियो । त्यही मुन्धुम शास्त्रले वाचित गरेको ताम्फुङ्नालाई त्यहाँ शैतान आत्मा भनिएको छ । यी दुई बीचको अर्थ र अभिव्यञ्जनामा त्यति धेरै फरक छैन ।

सिधासिधी अर्थमा भन्ने हो भने ताम्फुङ्ना भनेको एक किसिमको अमत्याइँ हो । बलको अमत्याइँ, वुद्धिको अमत्याइँ, ज्ञानको अमत्याइँ, धनको आमत्याइँ, पदको अमत्याइँ, प्रतिष्ठाको अमत्याइँ र अन्य किसिम किसिमका अमत्याइँहरु । थरिथरिका अमत्याइँहरुले मगजमा बास गरेपछि मान्छे चेतनाको शिखरबाट कुहिगन्धे नालीतिर झर्दछ । उत्कर्षका टाकुरीबाट अपकर्षका खाडीतिर गिर्दछ । 

हिन्दूशास्त्रमा भष्मासुर र शिवजीको कथा सुनेका छौँ । ठूलो तपबाट भष्मासुरले मागे वमोजिमको वरदान पाउन सफल हुन्छ । जसअनुसार उसले शिवजीबाट एक सिद्धीको वर माग्दछ; कि मैले जसको शीरमा हात राख्छु, त्यसको भष्म खरानी होस् । आशुतोष भोलानाथले सजिलै तथास्तु भनिदिन्छन् । 

वरदान पाएपछि उल्टै शिवलाई लखेट्न थाल्दछ । उसको मनसुवा हुन्छ, शिवलाई भष्म खरानी पारेपछि मात्र म सर्वशक्तिमान हुन सक्छु । शिवजीलाई आफूले दिएको वरदान नै अभिशाप बन्दछ । ज्यान जोगाउन कुलेलम ठोक्छन् । बाटोमा शिवजीलाई लखेटिरहेको भष्मासुरलाई विष्णुले भेट्छन् । लखेट्नुको कारण सोध्छन् । भष्मासुरले बताउँछ–  मैले यिनैबाट मेरा हात जसको तालुमा राख्यो, त्यसको मृत्यु हुने वरदान पाएको छु । अब यिनैलाई सिध्याउन लखेटिरहेको छु ।

चलाख विष्णुले उसलाई भनिदिए– उनले तिमीलाई दिएको वरदान साँचो होइन, झुटो वरदान दिएछन् । भष्मासुर, तिमीलाई शिवजीले भुसुक्कै ढाँटेछन् । नत्र तिम्रा हात आफ्नै तालुमा राखेर जाँच गर त । उनले तिमीलाई झुक्याएका हुन् । विष्णुको कुराले भष्मासुरको मनमा शङ्काको विज टुसायो ।

शिवजीले दिएको वरदान जाँच गर्न आफ्नो हात आफ्नै तालुमा राख्यो । तालुमा हात राख्ने वित्तिकै ऊ शीर पड्केर मर्यो । भागि हिँडेका शिवले बल्ल शान्तिको सास फेरे । 

भष्मासुरको जस्तो चिन्तन र बुद्धिको व्याप्ति अहिले पनि यस मानव समाजमा यथावत छ । यस्तो बुद्धिबाट निर्देशित मान्छे अहिलेपनि छ्याप्छ्याप्ती पाउन सकिन्छ । 

भष्मासुरे वुद्धि एक बिम्बको रुपमा, एक प्रतीकको रुपमा प्रयोग भइ आएको छ । भष्मासुरले शिवजीबाट वरदान पाउने वित्तिकै ऊभित्र ताम्फुङ्ना घुस्यो । आखिर त्यही ताम्फुङ्नाले उसको विनाश गरायो । अरुलाई मार्न या सिध्याउन पाएको वरदान एकदिन आफ्नै काल बन्छ भन्ने कुरा अलिकतिपनि सोच्न सकेन । अर्थात् उसलाई त्या शक्तिले अमत्याइँतिर लग्यो । र, आफ्नो मृत्यु आफ्नै हातबाट भयो ।

ताम्फुङ्नाकै कारण बाघ मुसो भएको लोककथाले मलाई विमोहित गर्दछ । कुनै करुणावान ऋषिको आश्रममा पालिएको मुसो बिरालोको डर त्रासमा बाँचेको हुन्छ । उसले ऋषिसित बिरालो नै बनाइदिन आग्रह गर्छ । ऋषिले पनि आफ्नो मन्त्र–बलले उसलाई बिरालो बनाउँछन् । अलि बेरमा कुकुर बन्छ, आखिरमा बाघ बन्न सफल हुन्छ । 

ऋषिको वरदान र अनुकम्पाले बाघ बनेको मुसो अब आफूलाई सर्वशक्तिमान ठान्छ र ऋषिलाई नै खान झम्टिन्छ । सोही वखतमा ऋषिले बाघलाई उही मन्त्र–शक्तिले मुसो बनाइदिन्छन् । मुसो हुने वित्तिकै ऋषिको आश्रममा पालिएको बिरालोले क्वाप्प खाइदिन्छ । भित्र ताम्फुङ्ना घुसेपछि बाघपनि मुसोमा अनुदित हुन्छ । भष्मासुरपनि आफ्नै हातबाट खरानीमा परिणत हुन्छ ।

नेपालको राजवंशको इतिहासमा काकतालीवश गद्दी–आरोहण गरेका राजा ज्ञानेन्द्र अहिले नृपतिबाट सामान्य नागरिकमा ओर्लिएका छन् । काकताली यसकारण कि दाजु वीरेन्द्रको आकस्मिक वंश विनाश भएपछि उनी राजा बन्न पुगेका थिए । 

राजा भएको केही समयमा नै ज्ञानेन्द्रको आत्मामा अचानक ताम्फुङ्ना घुस्यो । र, जनप्रतिनिधिको हातमा रहेको राजकाजको बागडोर तिनबाट खोसेर आफ्नो हातमा केन्द्रित गरे । फलस्वरुप गणतन्त्रको तुमुल धुन बज्न थाल्यो । अढाइ सय वर्षको अकण्टक राजवंशलाई आफ्नै हातले समाप्त गरे । आफ्नै बुद्धिले स्वर्ण सिंहासनबाट सडकवासी नागरिक बने । थियो त यो त्यही ताम्फुङ्नाको करामत थियो । हृदयमा ताम्फुङ्नाको घोडसवार भएपछि राजा रङ्क बन्दछन् । सिंह स्याल बन्दछन् ।

यसरी नै बेलाबेलामा नेपाली शासकहरुका हृदयमा ताम्फुङ्नाले दुःख दिँदै आएको कुरा नौलो होइन । अति साधारण हैसियतबाट माथि उठ्तै अनेकन् काण्ड र पर्वहरुको रचना गर्दै प्रधानमन्त्री हुन सफल जंगबहादुरको आत्मामा ताम्फुङ्ना घुस्यो । 

राजकीय सम्पूर्ण अधिकार हाता पारेर पनि जंगबहादुरलाई तृप्ति मिलेन । भोट विजयपछि प्रधानमन्त्री पदबाट राजिनामा गरेर सो पद भाइ बमबहादुरलाई सुम्पिए । त्यसो त जंगबहादुरले राजा सुरेन्द्रबाट पञ्जापत्र गराइ सम्पूर्ण राजकीय अधिकार आफूमा लिइसकेका थिए । त्यतिखेर चाँदीको थालमा दही र अविरमा राजाका पाँचै औँला चोबेर पञ्जापत्र गराइएको थियो ।

जंगबहादुरको हृदयमा अतृप्तिको भेषमा ताम्फुङ्ना घुस्यो । फलस्वरुप राजालाई दङ्ग्याउन थाल्यो । विभिन्न बहानामा घुर्क्याउन थाल्यो । उसलाई प्रधानमन्त्री पदले कुनै सुख दिन सकेन । त्यो भन्दा ठूलो पदको आकाँक्षा जाग्यो । देशमा राजा छँदाछँदै अर्काे राजा बन्ने भूत चढ्यो । दङ्ग्याएरै कास्की र लमजुङको राजा बन्यो । नाम अगाडि श्री ३ लेख्न थाल्यो । शीरमा श्रीपेच भिर्न थाल्यो । तीन चाँदे पगरी पहिरिन थाले । राणाबाट राजा शब्दले पुकारिन थाल्यो । हेर्दाहेर्दै श्री ३ महाराज भयो ।

हुँदाहुँदा उसलाई श्री ३ महाराज भएर मात्र पुगेन । उसलाई ऊ भित्रको ताम्फुङ्नाले अरु उद्वेलित पार्दै गयो । आफ्नो सेखपछि आफ्नै भाइछोराहरुले राजगद्धीको उत्तराधिकारी बन्ने थिति बसायो । उसैले बसाएको थितिको कारण बयालीस सालको पर्व रचना भयो । 

अर्थात् जंगबहादुरले बाँधेको अन्यायपूर्ण रोलकोलको विरुद्धमा उसकै कान्छो भाइ धीरशमशेरको छोराहरु जागे । गद्धिसीन प्रधानमन्त्री रणोद्धिपलाई मार्ने, जंगबहादुरका छोराहरुलाई मार्ने लखेट्नेसम्मका कामहरुमा उनीहरु मद्दत बने । जसले राणातन्त्रको विजारोपण ग¥यो । जो राणशासनको प्रवर्तक थियो । उसकै सन्तान काटिनु, देशबाट लखेटिनु र शासन सत्ताबाट जंगबहादुरका सन्तान मटियामेट हुनुमा ताम्फुङ्नाकै करामत थियो । 

जंगबहादुरलाई आफ्नो सेखपछि आफ्नै सन्तानलाई अझ आफ्नै छोरानातिलाई शासन सत्ताको उत्तराधिकारी बनाउने भूत सवार नभएको भए सायद उसका छोरा मारिने पनि थिएनन् । देशबाट निर्वासित हुने पनि थिएनन् । इतिहासमा जंगबहादुरको खलकले जे जति दुर्गति भोग्नु प¥यो, जसरी काटिनु मारिनु प¥यो, मुलुकबाट लखेटिनु प¥यो । प्रवासमा अनेकन हण्डर खाँदै भागि हिँड्नु प¥यो । त्यो सबै जंगबहादुरको आत्मामा घुसेको ताम्फुङ्नाको फल थियो । त्यही ताम्फुङ्नाले छोरानातिको हितमा शासन सत्ताको रोलकोल बाँध्न उत्प्रेरित गर्छ र त्यही कारणले कालान्तरमा उसकै वंश उच्छेदन हुनजान्छ ।

आज भन्दा झण्डै दुई सय वर्ष अघिका रुसी कवि पुस्किनको एक काव्य पढेको छु । त्यो काव्यमा निकै मार्मिक आख्यान उनिएको छ । त्यसमा सागर तटमा माछा मार्ने माझी दम्पतीको एक रोचक कथा छ । 
बूढी धागो बाट्ने काम गर्छे । बूढो जाल हानेर माछा मार्ने काम गर्छ । त्यही माछा बेचेर उनीहरुको विहान बेलुकाको गर्जाे टरेको हुन्छ । एकदिन ऊ सागर तटमा जाल हान्न जान्छ । पहिलोचोटि जाल हान्दा जालमा लेउकाई लुँडिएर आउँछ । दोस्रो चोटि जाल हान्दा झ्यास र पातपतिङ्गर सोहोरिएर आउँछ । तेस्रो चोटि सुनको माछो जालमा पर्दछ । 

सुनको माछो बोल्न थाल्दछ– बाबा ! बाबा ! मलाई । जलमै छोडिदिनुस् । बरु बदलामा जे चाहनु हुन्छ, त्यो लिनुस् । बरु तपाई्.को के ईच्छा छ भन्नुस्, म पुरा गरिदिन्छु ।

 माछो बोलेको देख्ता बूढो अचम्ममा पर्छ । यस अघि अनेकौँ माछा उसले समातेको थियो । यस्तो बोल्ने माछो पहिलोचोटि देखेको थियो । माछाको त्यति मीठो बोलीले ऊ लठ्ठै प¥यो । माछाको याचनाले ऊ भित्र करुणा जाग्यो । र, तुरुन्तै पानीमा छोडी दियो । उसले कामना गर्यो– भलो  गरुन् भगवानले तिमीलाई । तिमी निलो सागरमा जाऊ रमाऊ । मलाई केहिपनि चाहिएन ।

उसको जीवनमा वडा अचम्मको घटना घटेको थियो । यो के भएको हो ? उसले केही बुझ्न सकेको थिएन । रहस्यको एक दुर्लभपलमा उभिएको थियो ऊ । त्यसपछि उसले जाल खेल्न सकेन । माछा मार्ने ईच्छा भएन । रित्तै हात घर फक्र्यो ।

स्वास्नीलाई सबै कुरा बेलिविस्तारमा सुनायो । स्वास्नीले उसलाई झपारी– बुद्धू ! उल्लु !! आफ्नो साथमा भने भीख माग्ने गतिलो काठे कठौतो पनि छैन । एउटा भएको काठे कठौतो पनि फाटेको तिमीले देखेका छैनौ । कम्तीमा एउटा थाल त माग्नू । माछाले भनेकै रहेछ, जे माग्छौ पुरा गरिदिन्छु भनेर ।

बूढीले गाली गरेपछि ऊ सागरतटमा फर्किन्छ र माछोलाई बोलाउँछ । माझीको पुकारा सुनेपछि माछो पानीबाट फुक्त निस्किन्छ र सोध्छ– “बाबा ! बाबा ! मलाई किन बोलाउनु भयो ?”

माझीले सुनाउँछ– बूढीले घरमा खुब सताई, सम्पत्तिको नाममा एउटा थालधरी छैन । कम्तीमा एउटा मागी खाने नयाँ कठौतो त माग भनेर पठाई । माछाले स्वीकृति सूचक टाउको हल्लाउँछ र भन्छ– दुःखी नहोऊ घर जाऊ । नयाँ कठौतो पाउने छौ । ऊ घर आयो घरमा सुनको थाल प्राप्त भैसकेको थियो । 

बूढोलाई देख्ने वित्तिकै बूढीले फेरि हकारपकार पारी– उल्लु बूढा ! बुद्धू बूढा ! माग्नु त माग्नु नाथे के कठौतो मागेको ? ठूलै चिज माग्नु पर्दैन ? एउटा गतिलो घरपनि छैन । जाऊ तुरुन्त एउटा सुन्दर घर मागेर आऊ । फेरि ऊ सागर तटमा पुग्यो । माछालाई पुकारा ग¥यो । माछाले सोध्छ–“किन आयौ बाबा ?” 

उसले बेलिविस्तार लाउँछ– श्रीमतीजीलाई एउटा गतिलो घर चाहियो रे । मलाई घरमा टिकी खान दिइन् । माछाले भन्यो– जाऊ दुःखी नभई घर फर्क । त्यो ईच्छा पनि पुरा हुनेछ । 

घर आइपुग्दा घाँसे झोपडीको ठाउँमा सुन्दर घर ठडिएको थियो । पहिलेको झाप्रोको कुनै नामोनिशाना थिएन । चिम्नी उठेको अलिशान वंगला जगमगाइरहेको देख्यो । काठको बुट्टा कुँदिएको ढोकाले घरलाई अति शोभायमान पारेको थियो । बूढी झ्यालमा खुट्टा हल्लाएर बसेकी थिई । 

बूढोलाई देख्ने वित्तिकै फेरि कुपित बनी । तुरुन्तै गालीको बौछार बर्साउन थाली– बुद्धू मुर्ख ! नाथे यो घर के मागेको ? अब म गँवार पाखे हुन चाहन्न । कुलीन खान्दानिया नारी हुन चाहन्छु । जाऊ तुरुन्तै त्यस खालको सम्पन्नता मागेर आऊ ।

फेरि स्वास्नीको आदेश तामेल गर्दै लुरुलुरु सागर तटमा पुर्यो । उसैगरी माछालाई आह्वान गर्यो, जसरी पहिले पहिले गरेको थियो र श्रीमतीको सबै कुरा माछालाई सुनाइदियो । माछाले उसकी स्वास्नीको माग सुनिसकेपछि पहिले जस्तै वचन दियो– त्यो मागपनि पुरा हुन्छ । जाऊ घर भनेर फर्काइदियो ।

बूढो घर फर्किदा देख्यो– स्वास्नी त हीरामोतीले चमचम चम्किरहेकी छ । दायाँबायाँ नोकरचाकर सुसारेहरुको झुण्ड छ । नोकरलाई हकारपकार र मारपिट गरिरहेकी छ । बूढीले चाहेजस्तै अति सम्पन्न शाली कुलीन वर्गकी महिलाको रुपमा ऊ विराजमान छे । 

बूढोले भन्यो–नमस्कार देवीजी ! अव त तिम्रो मनमा कुनै चाहना बाँकी छैन होला नि ? तिम्रा इच्छा आकाँक्षा अव त सबै फलित भैसके जस्तो छ ।

लोग्नेको सोधनीले स्वास्नीले गालीको बौछार छरी । ऊ अब सम्पन्न कुलीन महिलाको आशनमा थिई । माझी बूढोसँग कतैबाट पनि उसको स्तर मिलेन । बूढाले आफूलाई अपमान गरेको ठानी । फलस्वरुप उसलाई दण्डित गरी । घोडा बाँध्ने तवेलामा सइसको काममा उसलाई भर्ती गरी । अब बूढाको काम घोडाको लिदी सोहर्नु र घोडालाई घाँसपानी गर्नुमा सीमित थियो । आफ्नै श्रीमतीले घोडाको सइस बनाएकी थिई ।

घोडाको तबेलामा बूढो दुई हप्ता बितायो । एकदिन तबेलामा काम गरिराखेको उसलाई बोलाउन पठाई । ऊ श्रीमती सामु हाजिर भयो । उसले फेरि अर्काे आदेश गरी– जाऊ, माछासित मेरो अर्काे माग राख । म अब पटरानी बन्न चाहन्छु । मलाई अव यो कुलीन महिला भएरमात्र पुग्दैन । यस्तो सभ्रान्त महिला त धेरै छन् । अव म महारानी नै हुन चाहन्छु । मानिसहरु उपर मनमानी शासन गर्ने मन छ । उनीहरुलाई एकएक आदेश गर्ने मन छ । मैले अरु उपर हुकुम चलाउनु छ । जाऊ म रानी बन्न चाहेको इच्छा माछालाई सुनाऊ ।

 स्वास्नीको यस मागले उसको दिमाग खल्बलियो । उसलाई रिस उठ्यो । उसले भन्यो– तिम्रो होश हराइसक्यो ? तिम्रो विवेक गुमिसक्यो । एकपछि अर्काे के माग राख्तैछ्यौ तिमी ?

लोग्नेको प्रश्नले ऊ क्रोधित बनी र मुखभरिको जवाफ फकाई– तिमी मसित नचाहिँदो बकबक गर्छाै । मसित बहस गर्ने हिम्मत कहाँबाट आयो ? यहाँबाट तुरुन्त जा र मेरो माग राखिहाल । नत्र परिणाम ठिक हुनेछैन ।

माझी लुरुलुरु सागरतट पुग्यो । माछालाई आह्वान ग¥यो । माछो माझीको पुकारा सुनेर उसैगरी बाहिर आयो, जसरी ऊ पहिले पहिले आउँथ्यो । आफ्नी बूढी रानी बन्न चाहेको कुरा सुनायो । 

माछाले भन्यो– धन्दा नमान तिम्री बूढी रानी बन्नेछिन् । जाऊ यो मागपनि पुरा हुनेछ । घर आउँदा देख्यो – श्रीमती राजसी दरवारको सुखसयलमा छ । खोपीखोपीमा ऊ मदिराका प्याला छल्काइरहेकी छ । केक मिठाइ खाइरहेकी छ । उसको राजसी ठाँटवाँठको कुरै नगरौँ । फुर्तिफार्ति तेब्बर चौबर गतिले बढोत्तरी भएको छ । कुलीन जन रानीको सेवामा हाजिर छन् । दिशा दिशामा पाले पहरागण तैनाथ छन् । रानीलाई भेट्न सामन्तहरुको लर्काे लागेको छ । 

उसको ठाँटवाँठ देखेर बूढो हड्बडायो । तरपनि बूढीलाई सोध्यो– अब त जीवनमा पूर्ण शान्ति र चैन आयो, होइन त ?

यति के बोलेको थियो । सिपाहीले उसलाई गर्दन पक्रेर बाहिर निकाले । रानीलाई प्रश्न गरेकोमा हकारपकार गरे । उसका कुरालाई दरबारियाले हाँसोमा उडाए । ठूल्ठूलो स्वरमा उसलाई हकारे– तिमीले आफू के हो ? भन्ने कुरा भुल्यौ ? तिमी कहाँ छौ भन्ने कुरा भुल्यौ ? तिमीले आफ्नो हैसियत भुलेर रानीको अपमान गरेका छौ, अब आइन्दा यस्तो गल्ती कहिल्यै नगर्नू, यति भनेर उनलाई गेटबाट गलहत्याएर बाहिर पठाइयो । अब ऊ पूर्णतः सडकवासी बन्यो ।

 केही हप्ता बितेपछि बूढीलाई नयाँ सनक आयो । सिपाहीलाई चारैदिशा दौडाएर बुढाको खोजी गरियो । सिपाहीले बुढालाई रानी सामू पेश गरे । 

बूढीले पुनः आदेश गरी– तिमी तुरुन्तै सागर तटमा जाऊ । माछालाई मेरो एक आदेश सुनाऊ । अव म यो दरवारमा रानीमात्र भएर रहन चाहन्न । सागरसम्म मेरो साम्राज्य कायम हुनुपर्छ । मेरो शासन जमिनमा मात्र होइन, सागरसम्म चल्नुपर्छ । ता कि त्यो स्वर्णमाछोलाई खुद मैँ हुकुम जारी गर्न सकूँ । म जे जे माग्छु । म जे जे अराउँछु, माछाले सिधै आदेश तामेली गर्न सकोस् ।

 सो घडी बूढीलाई सम्झाउन सिकाउन कसैको हिम्मत भएन । बूढो लाचारीका साथ निल सागर तटमा गयो । सागरमा भयङ्कर तुफान उठिराखेको छ । ठूलो उतारचढाव चल्यो । गड्याङगुडुङको आवाज निस्क्यो । बुढाले स्वर्ण माछोलाई पुनः पुकार्यो । माछो जलधारा चिरेर बाहिर निस्क्यो ।
 बाबा मलाई किन बोलायौ ?– माछाले सोध्यो ।

बुढाले भन्यो– मेरो व्यथा सुन जलरानी ! म तिमीलाई सुनाउन चाहन्छु आफ्नो दर्द–कहानी ! घरकी बूढीलाई मैले चित्त बुझाउन सकिन । ऊ जल–सागरसम्म हुकुम चलाउन चाहन्छे । उसको आदेश र शासन सागरसम्मै फिँजाउन चाहन्छे । तिमी उपर खुद हुकुम चलाउन चाहन्छे । बूढीको मनसाय बुढाले सुनाएपछि माछो केही उत्तर नदिई पुच्छर हल्लाएर सागरको गहिराइमा पस्यो ।
    माछो फकिनरछ कि भनेर केहीबेर प्रतिक्षा ग¥यो । तर, लहरमा हराएको माछो फर्केन । माछा नफर्केपछि ऊ घर आयो । घर आइपुग्दा उसले अचम्म देख्यो । त्यहाँ त्यो आलिशान दरवार थिएन । त्यहाँ उही घाँसे कुटी खडा थियो । बूढी चौखटमा बसेकी थिई । दुःखको कालो छायाँ लम्पसार थियो । सामुन्नेमा उही थोत्रो कठौतो थियो । जसमा तली फाटेर पानी समेत चुहिने भएको थियो । दीन हीन रुग्ण कुटीमा बूढी बेहाल अवस्थामा थिई । कहाँ अघिको राजसी सुख वैभव, कहाँ अहिलेको तन्नम बेहाल ।

कथाले भन्छ– पटरानी भैसकेकी मझिनी फेरि उही गरिबी र विपन्नताको खाल्डोमा खस्नुपर्यो । उसलाई ताम्फङ्नाले यसरी गाँज्यो । चेतनाको शिखरमा उक्लिन सकिन । एकचोटि मात्र होइन, पाँच पाँच चोटि ताम्फुङ्नाले उसलाई अमत्याइँको दुनियाँमा पुर्यायो ।    

मानिसले प्राप्त गरेको समृद्धिमा, सुखमा ताम्फुङ्ना धमिरो बनेर पस्छ । र, एकदिन समृद्धिको मिनारलाई जर्जर तुल्याउँछ । मान्छेको चित्तमा दुईटै वृत्ति छन्– सत् वृत्तिपनि छ । असत् वृत्तिपनि छ । सत् वृत्तिले मान्छेलाई उपरतिर उकास्छ । असत् वृत्तिले निचतामा भसाउँछ । नुवाफुङ्मा सत् वृत्ति हो भने ताम्फुङ्ना असत् वृत्ति हो ।

 चित्तमा ताम्फुङ्ना घुसेपछि मन चञ्चल बन्छ । अनेकानेक उपद्रोका सिलसिला दिमागमा नाच्न थाल्छन् । मान्छेलाई निच कर्मतिर लाग्न उत्प्रेरित गर्दछ । चित्त हरदम असत्तिर, अन्याय र अपराधतिर उन्मुख हुन्छ । यसले मानिसलाई अविवेकको शिखर चढाउँछ । रोशनको दुनियाँबाट हमेसा विरत गराउँछ । सही, गलत के हो ? पर्गेल्ने दिमागी तन्तुलाई खुकुलो पार्दै लान्छ । असल, गलत के हो ? छुट्याउन भुल्दछ । 

भित्र ताम्फुङ्नाले बास गरेपछि जीवनको दौडमा मान्छे विल्कुल अन्धा बन्छ । विवेक चक्षु बन्द हुन्छन् । उसलाई जीवनको उज्यालो रेखाले आफूतिर खिच्तैन । अँध्यारो रेखामा दौडिनमा नै उसलाई अपार आनन्द आउँछ, यही नै ताम्फुङ्नाको सनातनी स्वभाव हो । 

ताम्फुङ्नाले अरुलाई मिच्नुमा गरिमावोध गर्छ । ताम्फुङ्नाले अरुलाई मिच्नु नै मजावोध गर्छ । ताम्फुङ्नाले अरुलाई किच्नुमा शुरवीर भएको वोध गर्छ । परपीडा र परहिंसाको उद्रेक तत्व हृदयमा घोेलेर ताम्फुङ्नाले मानिसलाई बेसुर बनाउँछ । यसले तृप्तिबाट अतृप्तितिर, योगवादबाट भोगवादतिर, अलिप्तताबाट लिप्तता कुद्ने बनाउँछ चित्तलाई ।

मानव इतिहासमा ताम्फुङ्नाबाटै जन्मिए हेरोद, हिटलर, दुर्याेधन, वकासुर, रावण, इदि अमिन । हाम्रा महाज्ञानी किराती पूर्खाले हजारौँ वर्ष अघि ठम्याएको ताम्फुङ्नाले मानिसलाई अहिले पनि घरी घरी दुःख दिइरहेको छ । धन पद प्रतिष्ठाको लालचामा तड्पिने ठूलालाई पनि यसले गाँजिरहेका छ, सानालाई पनि यसले गाँजिरहेको छ ।

ताम्फुङ्ना एक काँचो वायु हो । जसरी मिथकको काँचो वायुले सारसौँदो मान्छेलाई रगतै छाद्ने बनाउँछ । त्यसरी नै मानिसलाई मनुष्यत्वको श्रेणीबाट छेर्ने छाद्ने पारेर तल खसाली रहेछ । यो काँचोवायु निभाउने कोही मर्द विजुवा छ होला ? यो घडी त्यस विजुवाको विषयमा सोचिरहेछु, गमिरहेछु ।

                 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप