शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धबाबा सडक : यात्रामा सधैँ त्रास

वैकल्पिक मार्गदेखि सुरुङ मार्गसम्मको चर्चा तर काम सुस्त
सोमबार, २४ असोज २०७९, ०७ : २०
सोमबार, २४ असोज २०७९

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका निवासी लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्ती मगर केही अघि बुटवलमा एक सहकारीको वार्षिक साधारणसभा तथा अधिवेशनका लागि प्रमुख अतिथि थिए । बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा सांसद घर्ती मगर ११ बजेसम्म नआएपछि आयोजकले सोधखोज गर्दा उनी सिद्धबाबामा पहिरो गएर बीचमै रोकिएको थाहा भयो ।

बिहानदेखि पानी परेर सिद्धबाबा सडक अवरुद्ध भएपछि बाटो खुल्ने आशमा दोभान प्रहरी बिटमा २ घण्टा उनी बसे । पानी झन् दर्किएपछि बुटवल नआई उनी घर फर्किन बाध्य भए ।

उनलाई कहिलेकाहीँ प्रदेशसभा बैठकमा आउन पनि सिद्धबाबा सडकले सास्ती दिन्छ । तुलारामले सिद्धबाबा सडकको अवस्थाबारे प्रदेशसभा बैठकमा धेरै पटक ध्यानाकर्षण गराएका छन् । तर समस्या अझै उस्तै छ ।

उनले रातोपाटीसँग भने, ‘जति बोले पनि सिद्धबाबाको सडक वर्षामा हिलो र हिउँदमा धुलोसँगै पहिरोको त्रास सधैँ उस्तै छ ।’ 

पाल्पा र बुटवलको सीमानामा पर्ने सिद्धबाबा सडकमा सरकारले वैकल्पिक मार्ग निर्माण गर्नेदेखि सुरुङमार्ग बनाउनेसम्मका प्रक्रिया थालेको वर्षौं बितेको छ । खास गरी वर्षाको समयमा पहिरो र हिउँदमा माथिबाट ढुङ्गा खस्ने हुँदा यहाँ सधैँ जोखिम मानिन्छ ।

पाल्पाको तानसेन घर भएका सुशील नेपालले दसैँमा ओहोरदोहोर गर्ने यात्रुका लागि पनि सिद्धबाबामा त्रास कायमै रहेको बताए । उनले रातोपाटीसँग भने, ‘सिद्धबाबा पुगेपछि मन त्रसित हुन्छ, माथिबाट ढुङ्गा खसेर लाग्ने हो कि भन्ने डर लाग्छ ।’

सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रको पहिरोकै कारण असुरक्षित मानिन्छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्र सिङ थापाले सिद्धबाबा सडकमा पहिरोका कारण पछिल्ला पाँच वर्षमा करिब डेढ सयको मृत्यु तथा ४ सयभन्दा धेरै घाइते भएका छन् ।

उनले ठुला सवारी दुर्घटनादेखि मोटरसाइकल खस्नेसम्मका घटनाहरू प्रत्येक वर्ष हुने गरेको सुनाए । सिद्धबाबा क्षेत्रमा पत्रे चट्टान भएकाले पानी नपरेको बेलामा पनि पहिरो खस्ने भएकाले सधैँ जोखिम रहने उनको भनाइ छ ।

वैकल्पिकदेखि सुरुङमार्गसम्म चर्चामात्र, काम सुस्त

सिद्धबाबाको सडक समस्या समाधान गर्न स्थानीय तह, प्रदेश र संघीय गरी तीनै तहका सरकारले प्रक्रिया अगाडि बढाएको वर्षौं बितेको छ । सिद्धबाबाको लागि वैकल्पिक मार्गदेखि सुरुङ मार्गसम्मका कामको सुरुवात भए पनि यात्रुहरूलाई सधैँ उस्तै त्रासले नछाडेको दोभानका विष्णु पाण्डेले बताए ।

सिद्धबाबामा सुरुङ मार्गको चाइनिज कम्पनीले ठेक्का लिएर अहिले डिजाइन सुरु गरेको छ । सिद्धबाबा सडकको विषयमा वैकल्पिक सडकको रूपमा नुवाकोट–तिनाउ र चरङ्गे–झुस्सा सडक आयोजना अगाडि बढाइएको छ । चरङ्गे–झुस्सा सडक प्रदेश सरकारले निर्माण गर्न प्रत्येक वर्ष बजेट छुट्याए पनि अझै पूरा भएको छैन । यस्तै नुवाकोट–तिनाउका लागि पनि पछिल्ला ५ वर्ष यता काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले दुवै वैकल्पिक मार्ग निर्माणको क्रम जारी रहेको तर अझै पूर्णरूपमा गाडी चलाउने गरी काम सम्पन्न नभएको बताए ।

सिद्धबाबामा सुरुङ मार्ग बनाउन ठेक्कासमेत भएको छ । सुरुङ मार्ग निर्माणका लागि २०७६ सालमै अर्थ मन्त्रालयले सहमति दिएको थियो । निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँमा लिएको हो । अहिले डिजाइनको काम भइरहेको उक्त सडकका कार्यकारी निर्देशक इन्जिनियर कैलाश श्रेष्ठले रातोपाटीलाई बताए । त्यसको रिपोर्ट जनवरीसम्म सडक विभागलाई बुझाइने उनको भनाइ छ ।

सुरुङ मार्गको प्राविधिक छनोटमा चार वटा कम्पनी परेका थिए । प्राविधिक प्रस्ताव पेस गरेकामध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको थियो । यो मार्ग निर्माण भएमा लुम्बिनी–पोखरा जोड्नका लागि निकै सहज हुने छ । अहिले लुम्बिनीबाट पोखरा जानेहरू सिद्धबाबाको सडकका कारणले नारायणगढ हुँदै धेरै जाने गरेका छन् ।

सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट सुरु हुनेछ । चिडिया खोला खोँचबाट सुरु हुने सुरुङ दोभान नजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ ।

यो करिब ११ सय मिटरको हुने अनुमान प्राविधिकहरूले गरेका छन् । डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप प्रोटेक्सन लगायतका कामहरू हुनेछन् । यहाँ स्विस सरकार विकास सहयोगमार्फत् सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो ।

ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रविधिमार्फत् गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो । ठेक्काको रकम १० अर्ब राखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप