शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्णय गरेको १० वर्षपछि त्रिविको विज्ञान संकाय सेमेष्टर प्रणाली जाँदै

मङ्गलबार, २५ असोज २०७९, २२ : १८
मङ्गलबार, २५ असोज २०७९

त्रिभुवन विश्वविद्यालयले सन् २०१३ मै सेमेष्टर प्रणालीमा जाने निर्णय गरेको थियो । सोही आधारमा अधिकांश प्रोग्राम सेमेष्टर प्रणालीअनुसार सञ्चालित छन् । 

विज्ञान संकाय भने अझै पूर्ण सेमेष्टर प्रणालीमा जान सकेको छैन् । विज्ञान संकाय अन्तर्गत स्नातक तहमा बिएसी जनरल र बि.टेक. खाद्य प्रविधि (फुड टेक्नोलोजी) अझै पनि वार्षिक प्रणाली अनुसार नै सञ्चालित छन् । ती बाहेक अन्य प्रोग्राम भने सेमेष्टर प्रणाली अनुसार सञ्चालन भइरहेका छन् । स्नातकोत्तर तहमा भने सबै प्रोग्राम सेमेष्टर प्रणाली अनुसार नै छन् । त्रिविले नीतिगत निर्णय नै गरेको १० वर्षपछि विज्ञान संकायले सेमेष्टर प्रणाली जाने तयारी थालेको छ । त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहलाई सेमेष्टर प्रणाली लैजाने तयारी थालेको हो । संस्थानका डीन प्रा.डा. विनिल अर्यालले सेमेष्टर प्रणाली जानको लागि तयारी थालिएको बताए । 

बि.टेक. खाद्य प्रविधि २०८० देखि सेमेष्टर प्रणाली जान सकिने र बिएसी जनरल २ वर्ष जति समय लाग्ने बताए । ‘अहिले बि.टेक. को पाठ्यक्रम निर्माण भइरहेको छ । यसका लागि गत वर्षदेखि नै तयारी भइरहेको हो । त्यही आधारमा अन्य तयारी पनि भइरहेको छ । २०८० देखि हामी सेमेष्टर प्रणाली जान्छौं,’ प्रा.डा. अर्यालले भने । पाठ्यक्रम मात्र तयार गरेर नहुने भन्दै त्यसका लागि कलेजको भौतिक पूर्वाधारदेखि अन्य कुराको समेत व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । नेपालमा बिटेक फुड टेक्नोलोजी पढाउने एक मात्र आंगिक कलेज छ । धरानमा रहेको त्रिविको केन्द्रीय प्रविधि क्याम्पसमा मात्र चार वर्षे बि.टेक. खाद्य प्रविधि विषयको पढाई हुन्छ । हाल करिब २०० जना विद्यार्थीले यो विषय पढिरहेका छन् । 

बिएसी जनरल सेमेष्टर प्रणालीमा जान कम्तिमा २ वर्ष समय लाग्ने बताए । ‘बिएसी जनरलको हकमा हामीले छलफल मात्र चलाएका छौं । जति सक्दो चाँडो जानुपर्छ भनेका छौं । तर, काम चाही अगाडि बढाइ भने सकेका छैनौं । सबै काम सही ढंगबाट अगाडि बढ्यो भने २ वर्ष जति समय लाग्छ,’ उनले भने । बिएसी जनरल अब यसअघिकै पाठ्यक्रमका आधारमा अगाडि बढ्न नसकिने भन्दै यसलाई अप्लाइड साइन्सतिर जानुपर्ने उनको भनाई छ । ‘बिएसी जनरल अब एप्लाइड साइन्सतिर जानुपर्छ भन्ने छ । ४ वर्ष पढ्दा पनि विद्यार्थीहरू बेरोजगार हुनुपर्ने, टिचरबाहेक केही पनि बन्न नसकिने अवस्था छ । यसलाई परिवर्तन गरेर अब अप्लाइड साइन्सको फेलेवर दिनु जरुरी छ,’ उनले भने । 

जनरल साइन्स अन्तर्गतका भौतिकशास्त्र, रसायनशास्त्र, प्राणीशास्त्रलाई जीवनोपयोगी र भविष्यमा गएर काम लाग्ने खालको बनाउनुपर्ने र त्यही आधारमा पाठ्यक्रम तयार पारिने उनको भनाई छ । ‘बेचुअलर लेभलबाटै विद्यार्थीहरू मार्केटमा बिक्ने खालको हुनुपर्छ । अहिले त पढेर सक्यो भने शिक्षक मात्र बनिन्छ । त्यो बाहेक त बेरोजगार हुनुपर्ने अवस्था छ । यस्तो शिक्षाकै कारण विद्यार्थीहरूको आकर्षण घटिरहेको छ । जीवनोपयोगी शिक्षा बनाउनतिर लाग्नुपर्छ भन्नेमा हामी एक मत छौं,’ प्रा.डा. अर्यालले भने । 

डीनको कार्यालयले विषय समितिलाई त्यही आधारमा पाठ्यक्रम तयार गर्न भनेको छ । विषय समिति भनेको सम्बन्धित विषयको पाठ्यक्रम तयार पार्ने समिति हो । यसमा सम्बन्धित विषय पढाउने नेपालभरिका आंगिक कलेजका २१ जना विज्ञहरू हुन्छन् । पाठ्यक्रमलाई कसरी पढाउने भन्नेकुरा डिटेलमा लेख्ने, त्यसको इभ्यालुसन कसरी गर्ने ? लगायतका विषयको निर्णय गर्ने अधिकार समितिलाई हुन्छ । विषय समितिले बनाएको पाठ्यक्रम विद्या परिषद्मा पेश गरिन्छ । उक्त परिषद्ले पास गरेपछि त्यो विषय प्राज्ञिक परिषद्मा पेश गरिन्छ । परिषद्ले पास गरेपछि मात्रै पाठ्यक्रम लागू हुने उनको भनाई छ । पाठ्यक्रम निर्माण गरिसकेपछि सेमेष्टर प्रणालीमा जाने थप प्रक्रिया अवलम्बन गर्नुपर्ने उनको भनाई छ । ‘अहिलेकै अवस्थामा कलेजहरूले पढाउन थाल्यो भने केही परिवर्तन गर्न सकिँदैन । त्यसका लागि कलेजहरूको भौतिक पूर्वाधार सुधारदेखि अन्य कामहरू पनि अगाडि बढाउनुपर्ने हुन्छ,’ उनले भने । 

केही वर्ष अगाडिसम्म २० औं हजार विद्यार्थीले साइन्स पढ्नको इन्ट्रान्स दिन्थ्ये । तर, अहिले घटेर ६/७ हजारमा झरेको छ । यसलाई निकै गम्भीर रूपमा लिएको भन्दै उनले भने, ‘हामीले विषय समितिलाई एकखालको सर्कुलर नै जारी गरेर नयाँ पाठ्यक्रम निर्माण गर्न भनेका छौं । अप्लाइड फेलेवरको पाठ्यक्रम नबनाई अहिलेकै अवस्था हो भने यसप्रतिको आकर्षण बढाउन सकिँदैन ।’ त्रिविका ६२ वटा आंगिक कलेजमध्ये २४ वटा कलेजमा बिएसी जनरल विषयको पढाई हुन्छ । तीमध्ये पनि धेरै जसो कलेजमा विद्यार्थी नै कम छन् । भने केहीमा त विद्यार्थी नै छैनन् । 

त्यस्तै विज्ञान तथा प्रविधि विषय पढाउने ९० वटा सम्बन्धन प्राप्त कलेजमध्ये २० वटा कलेजमा मात्र बिएसी जनरल विषयको पढाई हुन्छ । ‘यी कलेजहरूमध्ये कतिपयमा त विद्यार्थी संख्या नै शून्य छन् । अन्यमा पनि घट्दै गइरहेका छन् । अहिलेको पाठ्यक्रम रिभिजन गरेर अप्लाइड साइन्सतिर गएनौं भने समस्या आउँछ,’ डीन प्रा.डा. अर्यालले भने । 

गत वर्ष स्नातक तहमा बिएसी जनरल विषय पढ्नका लागि ४ हजार ८०० विद्यार्थी भर्ना भएका थिए । अबको २ वर्षपछि जसरी पनि बिएसी जनरल सेमेष्टर प्रणाली लैजाने गरी तयारी भइरहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप