मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक

सोमबार, २५ जेठ २०८३, २३ : २५
सोमबार, २५ जेठ २०८३

सारांश

  • परराष्ट्रमन्त्री खनालले बेलायती गोर्खाहरूका गुनासा र समानुपातिक पेन्सनको मागबारे बेलायतका रक्षामन्त्री र भूतपूर्व सैनिकमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् ।
  • मन्त्री खनालले बेलायती गोर्खाहरूका गुनासाहरूको आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने र न्याय, निष्पक्षता तथा सम्मानको दृष्टिकोणबाट सम्बोधन गर्न अनुरोध गरेका छन् ।
  • बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिकमन्त्री लुइस स्यान्डर–जोन्सले गोर्खा भूतपूर्व सैनिकहरूका विषय सम्बोधन गर्न नेपाली पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन् ।

बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । साथै उनले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गरेका थिए ।

बैठकमा रक्षामन्त्री हिलीको तर्फबाट स्यान्डर–जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका थिए ।

बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष, साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

भर्चुअल बैठकमा बेलायती गोर्खा सङ्गठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । यसअघि आजै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तरक्रिया गरेका थिए । उक्त बैठकको समन्वय तथा सहजीकरण लण्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप