बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले बेच्ने सिक्का र असर्फी कति गुणस्तरीय, बेच्दा भाउ घट्छ कि घट्दैन ?

शुक्रबार, ०४ कात्तिक २०७९, १५ : ३५
शुक्रबार, ०४ कात्तिक २०७९

तिहारका अवसर पारेर नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का, असर्फी र टक्सारहरु धमाधम बिक्री गरिरहेको छ । बबरमहलस्थित बैंकको टक्सार विभागबाट भइरहेको असर्फीको बिक्री आइतबारसम्म जारी रहने छ ।
बिहीबारदेखि २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्कासहित १ हजार रुपैयाँ अंकित चाँदीको सिक्का उपलब्ध गराइरहेको बैंकले यसवर्ष १० हजार पिस सिक्का बिक्रीका लागि मौज्दात रहेको जनाएको छ । अघिल्लो वर्ष यस्तो सिक्काको अभावकाबीच बैंकले ४ हजार पिस मात्र बिक्री गरेको थियो । 

खासगरी तिहारको धनतेरसका दिन तथा लक्ष्मी पूजाका दिन यस्ता सुनचाँदीका सिक्का, असर्फी तथा टक्सारहरु गृह प्रवेश गराउँदा शुभ हुने जनविश्वास रहँदै आएको छ । यसै कारण यस समयमा थोरै भएपनि सुनचाँदीका असर्फी घर भित्र्याउन चाहने भएकाले राष्ट्र बैंकले यस्ता सुनचाँदीका सिक्का, असर्फी तथा टक्सारहरु बिक्री वितरण गर्ने गर्छ । 

राष्ट्र बैंकले तिहारका बेला मात्र नभएर अन्य समयमा समेत यस्ता सुनचाँदीका सिक्का, तक्मा, असर्फी तथा टक्सारहरुको बिक्री गरिरहेकै हुन्छ । कसैको सम्झनामा वा प्रतिमामा सिक्का छपाउनेदेखि कुनै कम्पनी वा संस्थाको रजतजयन्ती, स्वर्णजयन्तीमा विशेष सिक्का छपाउने र राष्ट्रियस्तरको खेल तथा पुरस्कारमा समेत सिक्काको माग हुँदा राष्ट्र बैंकले उपलब्ध गराउने गर्छ । 

राष्ट्र बैंकले बिक्री गर्ने असर्फी कति गुणस्तरीय ?
बजारमा पाइने सुनभन्दा राष्ट्र बैंकले बिक्री गर्ने सुनका यस्ता असर्फी तथा सिक्का कति गुणस्तरीय हुन्छ र बेच्दा मूल्य घट्छ कि घट्दैन ? भन्ने धेरैमा चासो रहेको पाइन्छ । यसबारे नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपाल बजारमा पाउने सुनचाँदी भन्दा राष्ट्र बैंकले उपलब्ध गराउने सुन चाँदीका सिक्का तथा असर्फी बढी गुणस्तरीय (शुद्ध) हुने बताउछन् । 

‘राष्ट्र बैंकले उपलब्ध गराउने सुन तथा चाँदीका सिक्का, तक्माहरू रिफाइन गोल्ड हुन् । यसमा कुनै प्रकारको मिसावट हुँदैन । सुनचाँदीलाई केबल सिक्काको आकार मात्र दिइने भएकाले ढिक्काकै रुपमा उपलब्ध हुने हुँदा थप मिसावट हुने र रसायन, जर्ती हुने कुरै भएन । त्यसैले यस्तो सुन चाँदी पछि बिक्री गर्छु भन्दा पनि मूल्य घट्दैन, प्रचलित बजार भाउअनुसार नै बिक्री गर्न सकिन्छ,’ नेपालले रातोपाटीसँग भने । 

राष्ट्र बैंकले उपलब्ध गराएको सुनका सिक्का तथा चाँदीको मूल्य पनि बजार भाउ अनुसार नै निर्धारण गरिएको छ । उपलब्ध २.५ ग्राम सिक्काको आजको बजार भाउ अनुसार १९ हजार ८२६ रुपैयाँ २५ पैसा रहेको छ । यसमा बैंकले थप २ सय रुपैयाँ क्वाइन व्यवस्थापन शुल्क लिनेछ । यस्तै, ५ ग्रामको सिक्काको ३९ हजार ६५२ रुपैयाँ ५० पैसा र १० ग्रामको सिक्काको ७९ हजार ३०५ रुपैयाँ रहेको छ । यी सबै सिक्कामा बैंकले थप २ सय रुपैयाँ चार्ज लिइरहेको छ । 

बजारको र राष्ट्र बैंकको सुनको गुणस्तर एउटै हो : मणिरत्न शाक्य 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य बजारमा बिक्री वितरण हुने सुन र राष्ट्र बैंकले बेच्ने सुनका सिक्का, तक्मा वा असर्फीहरुको गुणस्तरमा फरक नहुने बताउँछन् । राष्ट्र बैंकले पनि २४ क्यारेटकै सुनको सिक्का बिक्री गर्ने र बजारमा पनि छापावाल सुन २४ क्यारेटकै हुने हुँदा शुद्धतामा फरक नहुने उनको भनाइ छ । 

‘कतिपयले बजारमा पाउने सुन भन्दा राष्ट्र बैंकको सुन शुद्ध हुने र कतिपयले राष्ट्र बैंकको सुन कमसल हुन्छ भन्ने गरेको सुनियो । तर यसो होइन, दुबै सुन सक्कली हुन् र दुबै उही गुणस्तरका हुन् । २४ क्यारेटको सुन हुनाले समान मूल्यमा किन्न र बेच्न सकिन्छ’ शाक्यले रातोपाटीसँग भने । 

बरु सुनमा लगानी गर्न चाहनेले बजारमा तयारी सुन किन्नु भन्दा राष्ट्र बैंककै सिक्का, तक्मा वा असर्फी किन्नु उचित हुने शाक्यको भनाइ छ । ‘बजारमा बिक्री वितरण हुने तयारी सुन (गरगहना) मा ज्याला, जर्ती, रसायन तथा ह्रास कट्टी हुन्छ । तर, राष्ट्र बैंकबाट बिक्री हुने यस्ता सुनका सिक्का, असर्फीहरूमा कुनैपनि खर्च हुँदैन । रिफाइन गोल्डलाई सिक्काको आकार मात्र दिएकाले जतिबेला पनि बजार मूल्य अनुसार बेच्न सकिन्छ’ शाक्यले सोही कुरा दोहो¥याए, ‘लगानी नै गर्ने हो भने यस्तो सुनमा लगानी गर्नु बुद्धिमानी हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप