बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–५ मा आधिकारिक उम्मेदवारलाई टिकट खोसिएका नेताको साथ अपरिहार्य

मङ्गलबार, ०८ कात्तिक २०७९, ११ : ०४
मङ्गलबार, ०८ कात्तिक २०७९

रुपन्देही क्षेत्र नम्बर ५ मा पार्टीले टिकट खोसेका नेताको साथ बिना सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई कठिन हुने देखिएको छ । यो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा खिमलाल भट्टराई र नेपाली कांग्रेसबाट प्रदेशसभा (क)मा विष्णु पोखरेलको उम्मेदवारी दर्ता भइसकेपछि पनि उनीहरु ‘ब्याक’ हुनु परेको थियो ।

एमालेका भट्टराईलाई पार्टीले टिकट दिए पनि वासुदेव घिमिरे आधिकारिक उम्मेदवार बने । सुरुमा घिमिरेलाई उम्मेदवार बनाएर टिकट दिएको एमालेले लगत्तै भट्टराईलाई टिकट दियो । भट्टराई र घिमिरे दुवैले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएपछि निर्वाचन आयोगले सुरुमा उम्मेदवारी दर्ता गराएका घिमिरेको उम्मेदवारी कायम गरेपछि भट्टराई ‘ब्याक’ भए ।

उता, कांग्रेसका पोखरेलको पनि उम्मेदवारी दर्ता भइसकेपछि गठबन्धनबाट माओवादीका विनोद पहाडीलाई उम्मेदवारका रुपमा अघि सारियो । त्यसैले प्रतिनिधिसभातर्फ एमालेका घिमिरेलाई सोही पार्टीबाट टिकट खोसिएका भट्टराईको साथ बिना जित हासिल गर्न कठिन देखिएको छ भने प्रदेशसभातर्फ पनि माओवादी केन्द्रका पहाडीलाई कांग्रेसका पोखरेलको साथ उत्तिकै आवश्यक हुने देखिन्छ । 

एमालेका नेता भट्टराई पछिल्लो समय पार्टीका बैठक तथा भेलामा उपस्थित हुन थालेका छन् । एमाले रुपन्देही क्षेन ५ का क्षेत्रीय संयोजक जीवनाथ पाण्डेले भट्टराई बिरामी परेका कारण खुलेर कार्यक्रममा हिँड्न नपाए पनि बैठक तथा भेलामा उपस्थित हुने गरेको रातोपाटीलाई बताए ।

प्रदेशसभा (क)मा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्रसहित विष्णु पोखरेलले उम्मेदवारी दर्ता गराएका थिए । माओवादीका विनोद पहाडीले पनि सोही क्षेत्रमा उम्मेदवारी दर्ता गरेपछि कार्यकर्ताहरूमा अन्यौल देखिएको थियो ।

अन्तिममा पोखरेलको टिकट पार्टीले खोसेर गठबन्धनबाट पहाडीको उम्मेदवारी कायम गरेपछि यहाँ राजनीतिक कोर्सले नयाँ रूप लिएको हो । किनकि यहाँ पोखरेलले लामो समयदेखि उम्मेदवारीका लागि तयारी गरेका थिए ।पहाडीलाई सुरुमा पार्टीले रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ सिफारिस गरेर पठाएको थियो ।

नेपाली कांग्रेसका रुपन्देही जिल्ला सदस्य इन्द्र बहादुर जिसीका अनुसार पोखरेलले आफू उम्मेदवार हुनकै लागि लामो समयदेखि तयारी गरेका थिए । तर उनको टिकट खोसेर गठबन्धनभित्रको अर्को दलका नेतालाई उम्मेदवार बनाएपछि भने यस क्षेत्रमा गठबन्धनले कस्तो नतिजा ल्याउँछ भनेर आहिले नै भन्न सकिने अवस्था नरहेको जिसी बताउँछन् ।

कांग्रेस महासमिति सदस्य शारदा गौतम पनि प्रदेशसभातर्फ कांग्रेसले उम्मेदवारी दिएको अवस्थामा जित्ने सुनिश्चित रहे पनि अर्को दललाई उम्मेदवार बनाएपछि जित्न कठिन हुने हो कि भन्ने डर रहेको बताइन् ।

प्रतिनिधिसभातर्फ सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता भरतकुमार शाह उम्मेदवार छन् । क्षेत्र नम्बर ५ अन्तर्गतका वडामा स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा नेपाली कांग्रेस र एमाले करिबकरिब समान हैसियतमा देखिन्छन् ।

यस्तो छ अंकगणित

रुपन्देहीको क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेस  भरत शाहले २०७४ को निर्वाचनमा पनि जित हासिल गरेका थिए । २०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा माओवादीका डिलराम आचार्यले २० हजार ४३८ मत पाएका थिए ।

रुपन्देही जिल्लाको सैनमैना नगरपालिकाका वडा नम्बर ५ देखि ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्ने यस क्षेत्रमा वडा अध्यक्षहरूले पाएको मतको आधारमा यहाँ एमाले र कांग्रेस बराबरजस्तै देखिन्छन् ।

यो क्षेत्र अन्तर्गत एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले २७ हजार १४५ मत ल्याउँदा कांग्रेसको २६ हजार ८८८ मत देखिन्छ । यस्तै, जसपाको ९ हजार ३३७, जनमत पार्टीको ५ हजार ६५६, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३ र नेकपा एकीकृत समाजवादीको एक हजार १६३ मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप