शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विष्णु पौडेललाई टक्कर दिन आएका केशव को हुन् ?

आइतबार, १३ कात्तिक २०७९, ०७ : ५३
आइतबार, १३ कात्तिक २०७९

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा मगरलाई सघाउने निर्णय सत्तारुढ गठबन्धनले गरेको हो । 

गठबन्धनले समर्थन गरेपछि थापाबारे एका एक चर्चा र चासो सुरु भएको छ । उनको बारे केही बुझ्ने प्रयास हामीले गरेका छौँ । सत्ता गठबन्धनले समर्थन गरेका थापा बुटवल  उपमहानगरपालिका वार्ड ८ मा स्थायी बासिन्दा  हुन् । 
विद्यालय अध्ययन गर्दादेखि राजनीति लागेका नेता थापाले २०४४ सालमा प्रगतिशील विद्यार्थी सङ्गठनका इकाई कमिटी हुँदै मार्क्सवादी राजनीतिक यात्रा सुरु गरेका थिए । केशव सूर्यवंशी समेत नामले चिनिने थापाले २०५१ सालमा जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए । बुटवलको एक सरकारी विद्यालयमा ५ वर्षसम्म पढाएका थापा केही वर्ष पत्रकारिता समेत रमाएका थिए ।

बुटवलबाट प्रकाशित नयाँ राज्य सत्ता साप्ताहिक,बुद्ध सन्देश साप्ताहिक,सङ्घीय एक्सप्रेस अर्घ साप्ताहिक लगायतमा  काम गरेका थिए ।  

२०२७ सालमा बुटवलमा जन्मिएका थापाले १६ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका हुन् । मार्क्सवादी राजनीतिबाट जनमुक्ति पार्टीमा लागेपछि २०५३ सालमा शिक्षक पेसाबाट राजीनामा दिएर पूर्णकालीन रूपमा राजनीतिमा होमिएका हुन् ।

जनमुक्ति पार्टीको २०५६ सालदेखि केन्द्रीय सदस्य भएका थापा त्यसपछि पार्टीको नेतृत्वमा कहिल्यै पछाडि फर्कनु परेर । बरु कतिपय पादहरूमा दोहोरिएरसम्म काम गर्ने अवसर पाएका छन् ।

उनी उपमहासचिव, सचिव, दुई कार्यकाल महासचिव भएका थिए । २०७८ साल भदौमा भएको छैटौँ महाधिवेशनयता उक्त पार्टीको कार्यकारी अध्यक्ष छन्। 

एकीकृत समाजवादी पार्टी उम्मेदवार राजु गुरुङलाई बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी बदर गरेपछि सत्ता गठबन्धनको साथ थापालाई रहेको छ ।

थापाको पार्टीले शनिबार पत्रकार सम्मेलनमा रुपन्देही अन्य क्षेत्रमा गठबन्धनलाई समर्थन गर्ने सहमति भएको बताएको छ । गठबन्धनले थापालाई समर्थन गरेपछि यहाँ एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग मुख्य प्रतिस्पर्धा हुने छ ।

गठबन्धनको जोड नै पौडेललाई पराजित गर्ने रहेको एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पत्रकार सम्मेलनमा बताएका थिए ।  

थापालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा पार्टीको समर्थनमा थापाले पौडेललाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

गठबन्धन दलहरुले थापालाई आगाडि सारेर पौडेलसँग भिडाउँदा स्थानीय तहको मतको आधार हेर्दा  प्रतिस्पर्धा हुने देखिए पनि  थापाको व्यक्तित्व र केन्द्रमा पहुँच कम भएकोले पौडेलसँग तुलना गर्न नमिल्ने ठान्नेहरू पनि छन् । 

स्थानीय निर्वाचनमा जनमुक्ति पार्टीले  बुटवलमा एमालेलाई समर्थन गरेको थियो । गत स्थानीय निर्वाचनमा तिलोत्तमा नगरपालिका कांग्रेससँग तालमेल गरेको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही–२ अन्तर्गतका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यो क्षेत्रमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेस पहिलो पार्टी बनेको थियो ।


कांग्रेसले ३४ हजार ९५९,  एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार १८८, एकीकृत समाजवादीले एक हजार ३८२ र  जसपाको १८३ मत देखिन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका वडाअध्यक्ष पदका उम्मेदवारले पाएको मत दुई हजार ७० छ । यो मतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको मत जोड्दा ४१ हजार ५९९ मत हुन्छ ।

जबकि एमाले–राप्रपा–जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ । बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप