बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत जोडो यात्रामा राहुल गान्धीले महिलाको हात समाएपछि...

आइतबार, १३ कात्तिक २०७९, १६ : २६
आइतबार, १३ कात्तिक २०७९

कांग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ को एक तस्वीर भारतीय सोशल सञ्जाल प्रयोगकर्तामाझ चर्चामा छ । राहुल गान्धी कन्याकुमारीदेखि कश्मीरको यात्रामा छन् । यस क्रममा कांग्रेसले राहुल गान्धीको तस्बिर सामाजिक सञ्जालमा लगातार पोस्ट गरिरहेको छ ।

यस्तै एउटा तस्विर सामाजिक सञ्जालमा शनिबार अर्थात २९ अक्टोबरमा शेयर गरिएको थियो । यो तस्विरमा राहुल गान्धी यात्राको क्रममा एकजना महिलाको हात समातेको देखिन्छ । ट्वीटरमा बीजेपी समर्थक र भाजपा कार्यकर्ता बताउने प्रीति गान्धीले उक्त तस्बिर पोष्ट गर्दै गरेको कमेन्टले सामाजिक सञ्जालमा विवाद बढेको छ ।

प्रीति गान्धीले यो तस्बिर सेयर गर्दै लेखेकी छन् –‘आफ्ना जिजु हजुरबुवा पाइला पछ्याउँदै ’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र राहुल गान्धीका जिजु हजुरबुवा हुन् । पछिल्लो समय भाजपा कार्यकर्ता तथा नेता नेहरु विरुद्ध समाजिक सञ्जालमा विभिन्न अभियान चलाउने गर्छन् । महिलासँग नेहरूका तस्बिरहरु सेयर गर्दै उनलाई स्त्री लम्पट देखाउने प्रयास हुन्छ । नेहरू र एडविना माउन्टबेटनको सम्बन्धमा आपत्तिजनक सन्देशहरू सोशल मिडिया र व्हाट्सएपमा साझा हुने गर्छ ।  

प्रीति गान्धीले पनि आफ्नो ट्वीटमार्फत राहुल गान्धीलाई यही अभियान अन्तर्गत फैलिएको कुरासँग जोड्ने प्रयास गरेकी छिन् । प्रीति गान्धीको ट्विट हजारौं पटक रि–ट्वीट र शेयर गरिएको छ । ट्विटमा हजारौं प्रतिक्रिया पनि आएका छन् । प्रीति गान्धीको ट्विटमा धेरैले आपत्ति जनाइरहेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका समर्थक तथा अन्य व्यक्तिले यस ट्विटको जवाफ भाजपा नेता तथा वर्तमान प्रधानमन्त्री मोदीको महिलासँग खिचिएका तस्बिर सेयर गरिरहेका छन् ।

तस्बिरमा देखिने महिला को हुन् ?

राहुल गान्धीको यात्रा अहिले तेलंगाना हुँदै अघि बढिरहेको छ । तस्विरमा देखिएकी महिला अभिनेत्री तथा सामाजिक कार्यकर्ता पुनम कौर हुन् । प्रीति गान्धीको ट्विटको जवाफ दिँदै पुनम कौरले आफैंले फोटो खिच्दाको अवस्था बताएकी छन् । पूनम कौरले प्रीति गान्धीको ट्वीट रिट्वीट गर्दै लेखेकी छन्, ‘यो निकै अपमानजनक टिप्पणी हो । तपाईलाई सम्झना छ, प्रधानमन्त्री (मोदी) आफैले नारी शक्तिको कुरा गरेको ? म त्यस समय चिप्लिए र लड्नै लाग्दा राहुल सरले मेरो हात समाएका थिए ।’

तेलंगाना कांग्रेसले यो तस्बिर ट्विट गर्दै लेखेको छ, ‘जो कोही पनि यस यात्रामा आएर जोडिन सक्छन् । हाम्रो उद्देश्य जनताको समस्या सुन्नु, बलियो र राम्रो भारत निर्माण गर्नु र संवाद जारी राख्नु हो ।’ यो ट्विट सेयर गर्दै पुनम कौरले पुनः लेखेकी छिन्, ‘राहुल गान्धीको हेरचाह, महिलाप्रति सम्मान र व्यवहारले मेरो मन छोयो । सिलाई बुनाइसम्बन्धि समस्या सुनिदिनु भएकोमा राहुल जीलाई धन्यवाद । सिलाई बुनाइहरुको टोलीका तर्फबाट म तपाईलाई धन्यवाद दिन्छु ।’

पुनम कौरले पहिलेदेखि नै बुनाई र हस्तशिल्पका बारेमा सामाजिक सञ्जालमा तस्बिरहरु लेखेर शेयर गर्ने गरेको पाइएको छ । हैदरावादकी पूनमको जन्म र प्रारम्भिक अध्ययन हैदरावादमा भएको र दिल्लीको नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट उच्च शिक्षा पुरा गरेको पाइएको छ ।

तमिल, तेलुगु फिल्ममा काम गर्ने पूनम कौरले सन् २००६ देखि धेरै फिल्म गरिसकेकी छिन् । कांग्रेस पार्टीको योजना अनुसार सेप्टेम्बर ७ मा कन्याकुमारीबाट सुरु भएको भारत जोडी यात्राले देशका १२ राज्य र दुई केन्द्र शासित प्रदेश हुँदै ३ हजार ५७० किलोमिटरको यात्रा तय गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप