शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड ललितपुर–३ : ह्याट्रिकको तयारीमा पम्फा भुसाल

खड्का र कार्कीको चुनाैती कति ?
सोमबार, २१ कात्तिक २०७९, १४ : १७
सोमबार, २१ कात्तिक २०७९

। नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर–३ मा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन् । २०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने दाउमा छिन् ।

भुसाललाई कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिएका छन् । ललितपुर–३ मा माओवादी केन्द्र कमजोर भए पनि गठबन्धनको साथ पाएका कारण बलियो दाबेदारी दिएको छ । गठबन्धनमा सहभागी दलले इमानदारीपूर्वक साथ दिएमा भुसालको अवस्था सहज देखिन्छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी तोसीमा कार्की युवा माझ लोकप्रिय रहेका कारण भुसाललाई चुनौती दिन सक्ने कतिपयको आँकलन छ । भुसालको अर्का प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका अमृत खड्का चुनावी मैदानमा छन् । एमाले बागमती प्रदेश कमिटी सदस्य खड्का राजनीतिक रुपमा भुसाल भन्दा कमजोर प्रोफाइलका नेता हुन् । खड्का २०५४ सालमा सैबु गाविस अध्यक्ष भएपछि व्यापार व्यवसायमा लागेकाले सांसद वा मन्त्री हुने अवसर पाएनन् ।

पहिलो पटक खड्का प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । पहिलो प्रतिस्पर्धामै उनले भुसालका रुपमा ‘हेभी वेट’ प्रतिस्पर्धी पाएका हुन् । अन्तरिम विधायिकालाई समेत जोड्ने हो भने भुसालले तीन पटक सांसद र चौथो पटक मन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।

गठबन्धनबाट प्रदेशसभा ‘क’बाट माओवादी नेता राजकाजी महर्जन उम्मेदवार छन् भने प्रदेशसभा ‘ख’बाट कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठ छन् । एमालेबाट प्रदेशसभा ‘क’मा रघुनाथ महर्जन र प्रदेशसभा ‘ख’मा प्रेमभक्त महर्जन उम्मेदवार छन् ।

आसन्न निर्वाचनका लागि ललितपुर–३ बाट कांग्रेस नेता मदनबहादुर अमात्यले पनि उम्मेदवारीको आकांक्षा राखेका थिए । अघिल्लो निर्वाचनमा विजयी भएका कारण ललितपुर–३ गठबन्धनबाट माओेवादीकै भागमा परेपछि आमात्य पछाडि हटेका हुन् ।

२०७४ सालको चुनावमा एमाले–माओवादी गठबन्धन हुँदासमेत एमालेका नेता रघुजी पन्त र सुशीला नेपाल लगायतका नेताले यो क्षेत्रबाट चुनाव लड्न खोजेका थिए । भुसालले छोड्न नमानेपछि एमाले नेताहरु पछि हट्न बाध्य भएका थिए ।

भुसालको जन्मथलो अर्घाखाँची भए पनि राजनीतिक कर्मथलो ललितपुरलाई बनाएकी छन् । विद्यार्थी राजनीतिदेखि नै उनले ललितपुरलाई मुख्य आधार क्षेत्र बनाइन् । विद्यार्थी राजनीतिबाट बिदा भएपछि उनले अर्घखाँचीलाई छोडेर ललितपुरलाई कर्मथलो बनाइन् ।

यो क्षेत्रबाट २०४८ सालमा माओवादी नेता लीलामणि पोखरेलले चुनाव जितेका थिए । त्यसयता २०५१ र २०५६ सालमा एमाले नेता रघुजी पन्तले लगातार आधार क्षेत्र बनाए । पहिलो संविधानसभा (२०६४ साल)मा भुसालले यसै क्षेत्रबाट जित हासिल गरेकी थिइन् ।

दोस्रो संविधानसभा (२०७० साल)मा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा सामेल भई भुसालले चुनाव बहिष्कार गरिन् । त्यसपछि यस क्षेत्रबाट कांग्रेस नेता अमात्यले चुनाव जितेका थिए । भुसाल मूल पार्टी माओवादी केन्द्रमै फर्किएपछि २०७४ सालको चुनावमा अमात्यलाई पराजित गरेकी थिइन् । भुसालले २४ हजार ३६ मत ल्याउँदा अमात्यले २२ हजार ३२८ मत ल्याएका थिए ।

भुसाल र खड्काको आ–आफ्नै दाबी

माओवादी केन्द्रकी उम्मेदवार भुसाल गठबन्धनको साथ पाएर आत्मविश्वासका साथ प्रचारमा जुटेकी छन् । ललितपुरको विकास र समृद्धिका लागि ‘अबको भिजन गुणनस्तरीय जीवन’ भन्ने मूल नाराका साथ भुसाल मतदाता समक्ष पुगेकी छन् । ‘अबको भिजन गुणस्तरीय जीवन भन्ने मुल नाराका साथ जनताको बीचमा गएकी छु, मैले सुरु गरेका पूर्वाधारका कतिपय काम पूरा भए । कतिपय पूरा हुने चरणमा छन्,’ भुसालले भनिन्, ‘कला, संस्कृति र पर्यटनले भरिपूर्ण क्षेत्रलाई व्यवसायसँग जोडेर रोजगारी सिर्जना गर्नेछौं । ललितपुरको हस्तकला, मुर्तिकला र चित्रकलाको संरक्षण गर्नेछौं ।’

यस क्षेत्रको मौलिक विशेषतासहित आधुनिकतासँग जोडेर व्यवस्थित सहर बनाउने योजना रहेको भुसालले बताइन् ।

२०७४ सालको चुनावमा राजनीतिक स्थिरता कायम गर्न वाम गठबन्धन बनाए पनि असफल भएको भुसालले स्वीकार गरिन् । ‘हामीले राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन ग¥यौं । चुनाव जितेर सरकारमा पुगियो तर राजनीतिक स्थिरता कायम हुन सकेन । पटक पटक संविधान उल्लंघन गर्ने, संसद विघटन गर्ने काम भयो,’ भुसालले भनिन्, ‘अब संविधान र लोकतन्त्रको रक्षा गर्दै आर्थिक, सामाजिक सम्बृद्धि हासिल गर्नेछौँ । त्यसपछि जनताले गुणस्तरीय जीवन निर्वाह गर्न पाउने छन् ।’

भुसालले आफ्नो प्रतिस्पर्धीको रुपमा एमालेका उम्मेदवार खड्कालाई लिएकी छन् । स–साना दलका उम्मेदवार चुनावमा उत्रिए पनि खासै चुनौती दिन नसक्ने भुसालले ठोकुवा गरिन् । संघीय संसदमा साना दल वा स्वतन्त्र उम्मेदवारले जितेर खासै काम गर्न नसक्ने उनको भनाइ छ ।

एमाले उम्मेदवार अमृत खड्काले जनतामा ‘भ्रष्टाचार गर्दिनँ’ भन्दै मत मागिरहेका छन् । ‘मैले चुनाव जितेर गएपछि भ्रष्टाचार नगर्ने प्रतिवद्धता गरेको छु । मैले विगतमा जुन खालका कामहरु गरेँ, त्यो नै मेरो जितको आधार हो,’ खड्काले भने, ‘मैले सानोदेखि ठुलासम्मका समस्या समाधान गरेर देखाएको छु । म कुराभन्दा नतिजालाई विश्वास गर्छु ।’

संसद विघटन गरेर फ्रेस म्यान्डेटमा जाने विषयलाई अतिरञ्जित प्रचार गरिएको खड्काले दाबी गरे । ‘संविधान बमोजिम संसद विघटन गर्दैमा, फ्रेस म्यान्डेटमा जाँदैमा संविधान मासिन्छ भन्नु अतिरञ्जित कुरा हो । यो विषयलाई विपक्षबाट अतिरञ्जित गरियो,’ खड्काले भने, ‘जनता सोझा छन्, जे भने पनि पत्याउँछन् भन्ने मानसिकता छ तर जनता धेरै जागरुक भइसके । बरु गठबन्धन सरकारले संंविधानलाई जोकर बनायो ।’

गठबन्धन सरकारले उल्टै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर देशमा अस्थिरता मच्चाएको खड्काले जिकिर गरे ।

भुसाल र खड्काको क्षेत्रमा तोसिमा फ्याक्टर

ललितपुर–३ मा नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्कीले उम्मेदवारी दिएकी छन् । उनी यस क्षेत्रका युवामा निकै लोकप्रिय छिन् । नेपाल मेडिकल काउन्सिलको सदस्य भई लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी केही दिन अघि खारेज ग¥यो ।

आयोगको सो निर्णयको विरुद्ध उनी सर्वोच्च अदालत पुगेकी थिइन् । अन्त्यमा  सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम गर्ने फैसला गर‍्यो । फेरि निर्वाचन आयोग कार्कीको उम्मेदवारी खारेज गर्न भन्दै भ्याकेट लिएर अदालत पुगेको छ । कार्कीको उम्मेदवारी निर्वाचन आयोग र सर्वोच्च अदालतमा रुमल्लिएकाले खासै चुनाव प्रचार गर्न पाएकी छैनन् । उम्मेदवारी खारेजीको मुद्दाले भने उनको लोकप्रियतालाई बढाएको कतिपयको बुझाइ छ । तर, भुसाल र खड्का दुवैले आफ्नो प्रतिस्पर्धीको रुपमा कार्कीलाई लिएका छैनन् ।

यस्तो छ स्थानीय तहको अंकगणित

यस क्षेत्र अन्तर्गत दुई स्थानीय तह छन् । जसमा गोदावरी नगरपालिका अन्तर्गत १२ र १४ वडा र ललितपुर महानगर अन्तर्गत  १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ वडा पर्छन् । ती वडा अन्तर्गतको वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत केलाउँदा गठबन्धनका उम्मेदवार भुसाल अघि देखिएकी छन् ।

यस आधारमा गठबन्धनका पक्षमा ३१ हजार ४०१ मत देखिन्छ भने एमालेको पक्षमा १७ हजार ७०९ मत छ । भुसाल झण्डै १५ हजार मत अन्तरले अघि देखिन्छिन् ।

मतदाता भन्छन्– बाटो र मल पाएनौँ

यस क्षेत्रका मतदाताले सडक, खानेपानी, बेरोजगारी र किसानका लागि मल नपाएको गुनासो गरेका छन् ।  नेताहरूले जनताको समस्यालाई ख्याल नगरेको उनीहरूको भनाइ छ ।

जनताका आधारभूत समस्या पूरा हुन नसकेको सुनाकोटीमा कृषि पेसा गर्ने  हिराबहादुर महर्जनले बताए । ‘यहाँ बाटो बन्यो, तर पक्की बाटो नभएकाले धुलो खानु परेको छ,’ महर्जनले भने, ‘जताततै बाटो र ढलको समस्या छ । गहुँ छर्ने बेला भइसक्यो, मल पाएको छैन ।’ नेता भोट माग्न दौडे पनि जनता समस्यै समस्याको चाङले पुरिएको महर्जनले बताए ।

यस्तै सुनाकोटीकै स्थानीय रुकबहादुर महर्जनले बेरोजगारीले सीमा नाघिसकेको बताए । ‘नेताले आफ्नो विकास गरे, जनताको समस्या सुनेनन्,’ महर्जनले भने, ‘बाटोघाटो, ढलको समस्या उस्तै छ । देशमा रोजगारी नभएर युवाहरु विदेशमा छन् ।’

पढ्ने राम्रो स्कुल र उपचार गर्ने राम्रो अस्पताल समेत नभएको महर्जनले बताए । सुनाकोटीमै किराना पसल सञ्चालन गर्ने सिर्जना महतोले सडक पिच नहुँदा धुलैधुलो खानु परेको गुनासो गरिन् । नेताहरु घरदैलोमा नमस्कार गर्दै आए पनि चुनाव सकिएपछि आफूहरुलाई कसैले नचिन्ने गरेको महतोले बताइन् ।

ललितपुर ३ का मतदाताले आफ्नो गुनासो यसरी व्यक्त गरे ।

यो संविधान र व्यवस्था मास्छौँ भन्नेहरूलाई परास्त गर्न जरुरी छ : पम्फा भुसाल

ललितपुर–३ का उम्मेदवार, नेकपा माओवादी केन्द्र

चुनाव प्रचार कसरी गर्दै हुनुहुन्छ ?

यस क्षेत्र अन्तर्गत गठबन्धनका नेताहरु सहित प्रचारप्रसारमा गइरहेका छौं । वडास्तरमा गठबन्धनका नेताहरु सहभागी भई कार्यकर्ताको भेटघाट र छलफल गरिसक्यौं । कात्तिक १८ गतेदेखि घरदैलो र भेटघाटमा जुटेका छौं । बिहान र बेलुका घरदैलोमा हिँड्छौ । दिउँसोको समयमा भेला, अन्तरक्र्रिया र भेटघाट जारी राखेका छौं ।

तपाईं तेस्रो पटक चुनावी मैदानमा जानु भएको छ । कुन कुन एजेण्डा लिएर जनताकहाँ पुग्नु भएको छ ?  

म ‘अबको भिजन गुणस्तरीय जीवन’ भन्ने मुल नाराका साथ जनताको बीचमा गएकी छु । मैले सुरु गरेका पूर्वाधारका कामहरु कतिपय पूरा भए, कतिपय पूरा हुने चरणमा छन् । अरु आर्थिक, सामाजिक जीवनका मुद्दाहरु उठाएकी छु ।    खासगरी यो क्षेत्र कला, संस्कृति र पर्यटनले भरिपूर्ण भएको ठाउँ हो । हस्तकला, मुर्तिकला र चित्रकला जस्ताको संरक्षण गर्नुपर्ने दायित्व छ । अरु ऐतिहासिक महत्वका क्षेत्र छन्, त्यसलाई पर्यटन प्रवद्र्धनमा जोड्नु पर्ने दायित्व छ ।

मैले अघिल्लो चुनावमा आर्थिक विकासको आधार पर्यटन भनेर मुद्दा उठाएकी थिएँ । खेतीयोग्य जमिन जति बाँकी छ, त्यसलाई आधुनिक तरिकाले खेती गरेर उत्पादन बढाउने लक्ष्य राखिएको थियो । अहिले फेरि त्यसलाई परिस्कृत गरेर अगाडि बढाइएको छ । धेरैजसो यो क्षेत्र महानगरभित्र पर्छ । त्यसैले पहिलेदेखि नै व्यावसायिक क्षेत्र पनि भयो । अब व्यवसाय होस् वा उद्योग, पर्यटनसँग जोडेर अघि बढ्दा राम्रो हुनेछ ।

अघिल्लो चुनावले मेरो आत्मविश्वास बढाएको थियो । यो ५ वर्षको बीचमा धेरै परिवर्तन भयो । पहिला ३ वटा चार तारे होटेल थिए । अहिले २ वटा चार तारे होटल थपिँदै छन् । होटेल रेस्टुरेन्ट राम्रोसँग मौलाएको छ । पर्यटनलाई मुख्य आधार बनाएर सम्पन्नतालाई अगाडि बढाइने छ ।

अघिल्लो पटकको चुनावभन्दा अहिलेको चुनावमा कुन कुन एजेण्डा फरक उठाउनु भएको छ ?  

यस अघिको चुनावमा राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन बनाएर चुनावमा गयौँ । जनताले अनुमोदन पनि गरे तर राजनीतिक स्थिरता कायम हुन सकेन । पटक पटक संविधान उल्लंघन गर्ने, संसद विघटन गर्ने काम भयो ।  त्यसैले अहिले संविधानको रक्षा र व्यवस्थाको रक्षा मुख्य मुद्दा हुन पुग्यो ।

राजनीतिक स्थितरताका आधारमा आर्थिक सम्बृद्धि हासिल गर्ने छौँ । अहिले पनि चुनौती कायमै छ । एउटा गठबन्धन राजतन्त्र पुनर्स्थापना गर्छौँ भन्नेहरूको छ । यो संविधान र व्यवस्था मास्छौँ भन्नेहरू एकजुट भएका छन् । यस्तो विचार बोक्ने शक्तिलाई निर्वाचनद्वारा पराजित गर्न जरुरी छ । त्यसपछि मात्रै आर्थिक र सामाजिक सम्बृद्धिको मुद्दामा केन्द्रित हुन सकिने छ ।

यहाँ परम्परागत र ऐतिहासिक महत्व बोकेका बस्तीहरु छन् । अर्कोतिर असाध्यै ठूलो शहरीकरण विस्तार हुँदै गएको छ । हामीले व्यवस्थित तर मौलिक विशेषता सहितको आधुनिकतासँग जोडेर व्यवस्थित सहर बनाउने योजना अघि सारेका छौ ।

तपाईंले २०७४ सालको चुनावमा पराजित गर्नु भएको कांग्रेस नेता मदन अमात्य अहिले पनि यो क्षेत्रको उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । अन्तिममा उहाँले टिकट नपाएपछि तपाईं गठबन्धनबाट उम्मेदवार हुनु भयो । उहाँबाट कत्तिको सहयोग पाउनु भएको छ ?  

उहाँले सहयोग गर्नु हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु । उहाँ कांग्रेसको जिम्मेवार नेता हो । पार्टीको केन्द्रीय सदस्य हुुनुहुन्छ । एउटा निर्णय नहुँदासम्म भिन्न चाहना र इच्छा हुन्छन् । कांग्रेसमा अझ खुलस्त ढंगले बोल्न र आफ्नो कुरा राख्ने गरेको पाइन्छ । अन्तिममा पार्टीले गरेको निर्णय सबैले शिरोधार्य गरेर जाने जुन परम्परा र शैली कांग्रेसमा छ, त्यो मौलिक छ । उहाँ आफ्नो पार्टीले गरेको निर्णय, गठबन्धनले गरेको निर्णय कार्यान्वयन गरेर गइसक्नु भएको छ । अहिले चितवनमा हुनुहुन्छ । केही दिनमा यहाँ आएर ललितपुर ३ नम्बर क्षेत्रको उम्मेदवार जिताउन लाग्नु हुन्छ । म एकदमै उहाँप्रति सकारात्मक छु ।

गत वैशाख ३० गतेको स्थानीय तहको चुनावमा वडा अध्यक्षको मतका आधारमा पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी देखिन्छ । यस्तो अवस्थामा चुनाव जित्न कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ?   

स्थानीय चुनाव र राष्ट्रिय चुनाव विल्कुल फरक छ । स्थानीय चुनाव व्यक्ति केन्द्रित, स्थानीय समस्या केन्द्रित, सामाजिक सम्बन्ध केन्द्रित हुने र समुदायसँग केन्द्रित हुने हुन्छ । यो चुनावमा अलि बढी राष्ट्रिय एजेण्डा र थोरै उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । गत वैशाखमा हामीले गठबन्धन भएकाले थोरै उम्मेदवार उठाएका थियौं । कतिपय वडामा हामीले पार्टीको उम्मेदवार नै नउठाएर कांग्रेस र एकीकृत समाजवादीलाई समर्थन गरेका थियौं । हामीले थोरै उम्मेदवार उठाएकाले कम मत देखिएको हो । तपाईंले सोचेभन्दा माओवादीको मत बढी छ ।

तपाईंको क्षेत्रमा कतिपय स्वतन्त्र भनिनेहरु पनि उम्मेदवार छन् । के उनीहरु निर्णायक रुपमा आउने देख्नुहुन्छ ?  

यो क्षेत्रमा स्वतन्त्र भन्ने कोही छैनन् । स–साना पार्टीका उम्मेदवार छन् । बाहिर देखिनेगरी वा चुनौती दिनेगरी छैनन् । हामीले ल्याइदिएको व्यवस्था हो । धेरै लामो संघर्षपछि ल्याएको गणतान्त्रिक व्यवस्था हो । पार्टी खोल्ने, राजनीति गर्ने, चुनाव  लड्ने स्वतन्त्रता सुनिश्चित गरेका छौं । केही जोशिला युवा भाइबहिनीहरु खडा भएका छन् । त्यो रहर हो । यथार्थता हुन गाह्रो छ । हामीले बनाएको प्रणाली दलीय प्रणाली हो । बहुमतको सरकार अल्पमतको प्रतिपक्ष हो । एउटा पार्टीले देशैभरबाट मत ल्याउँछ । आफ्नो आमनीति सबैतिरबाट अनुमोदन गराउँछ र केन्द्रमा सरकार बनाउँछ । कम्तीमा १३८ जना सांसद नभए सरकार बन्दैन । सरकार नबन्दासम्म आफ्नो एजेण्डा लागु हुन सक्दैन ।

अर्को कुरा, नेपालमा दलीय प्रणाली यति बलियो छ कि घरघरसम्म पार्टी सदस्य छन् । पार्टीमा युवा, विद्यार्थी, महिला, किसान लगायत विभिन्न पेसा व्यवसायको सांगठानिक संजाल छ । यस्तो अवस्थामा स्वतन्त्रको खासै अर्थ हुँदैन । गएको चुनावले मान्छेलाई हौस्याएको हो । मेयरमा एकाध ठाउँमा जित्नु पनि भयो । पालिका कार्यकारी भएकाले एक जनाले जिते पनि पालिका चलाउन सक्ने स्थिति छ । प्रतिनिधिसभा र प्रदेशसभामा एक जना सांसदको खासै अर्थ हुँदैन । संसदमा एक भोट हुन्छ । त्यसले कुनै तात्विक फरक पार्दैन । सत्ताको नीति तथा कार्यक्रम बनाउने कुरामा त कुनै अर्थ छैन ।

संसद विघटनलाई संविधान मास्ने भनेर दुनियाँभर भनिँदैन : अमृत खड्का

ललितपुर–३का उम्मेदवार, नेकपा एमाले

यस क्षेत्रको मतदाताका लागि कुन कुन एजेण्डा अघि सार्नुभएको छ ?

बेरोजगारीको समस्या यहाँमात्रै होइन, देशैकै प्रमुख समस्या हुन पुगेको छ । बेरोजगारी मुख्य समस्या देखिएकाले यसलाई एजेण्डाको रुपमा अघि सारेको छु । यस क्षेत्र कला, संस्कृतिले भरिपूर्ण ऐतिहासिक ठाउँ हो । यहाँको कला, संस्कृति संरक्षण सम्वर्द्धन गर्ने योजना बनाएको छु । बढ्दो सहरीकरणले गर्दा फोहरमैला व्यस्थित हुन सकेको छैन । दीर्घकालीन योजना बनाएर फोहरमैला व्यवस्थापन गर्ने सोचिएको छ ।

यस्तै हामीले मेलम्ची आयोजनालाई धेरै समय पर्खियौं । अब मेलम्चीको भर नपरेर खानेपानीको उचित व्यवस्था गर्नेछौं । युवालाई स्वदेशमै रोजगार दिन आइटी पार्क बनाउने सोचिएको छ । हरेक पेसा, व्यवसायलाई अनलाईन मार्फत सेवा प्रवाह गरेर व्यवस्थित गरिने छ । नेपाली उत्पादन सिधै अन्तर्राष्ट्रिय बजारमा पु¥याउने प्रणालीको विकास गरिने छ ।

आजको बालबालिका भोलिका कर्णधार हुन् । उनीहरुका लागि खेल्ने पार्कको व्यवस्था छैन । त्यसका लागि चिल्ड्रेन पार्क बनाइने छ । बच्चाहरु मोबाइल केन्द्रित र डिजिटल गेम केन्द्रित छन् । त्यसलाई पूर्ण रुपमा व्यवस्थित गरिने छ । यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने योजना छ । सामुदायिक विद्यालयको स्तरवृद्धि गरेर गुणस्तरीय बनाइने छ ।

तपाईंसँग पटक पटक सांसद र मन्त्री भएकी पम्फा भुसालसंग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तपाईंले यस क्षेत्रबाट चुनाव जित्ने आधारहरु के के हुन् ?

मैले चुनाव जितेर गएपछि भ्रष्टाचार नगर्ने प्रतिवद्धता गरेको छु । मैले विगतमा जुन खालका कामहरु गरेको छु, त्यो नै मेरो जितको आधार हो । मैले सानोदेखि ठुलासम्मका समस्या समाधान गरेर देखाएको छु । म कुराभन्दा नतिजालाई विश्वास गर्छु । त्यो सबै बुझेर जनताले मलाई जिताएर पठाउने छन् ।

तपाईंका प्रतिस्पर्धीहरुले एमालेले २ पटक संसद विघटन ग¥यो, यो संविधान र व्यवस्था मास्न खोजेकाले देश बचाउन गठबन्धनलाई मत दिनुपर्ने भन्दै मत मागेका छन् नि ?

हाम्रो संविधानले ५ वर्षसम्म संसद विघटन गर्न नपाउने व्यवस्था गरेको छ । तत्कालीन नेकपामा विवाद हुँदा सरकार चलाउन नसक्ने अवस्था भएपछि संसद विघटन भयो । पार्टी फुटसम्मको स्थितिमा पुगेपछि फ्रेस म्यान्डेटका लागि जनतामा जाने निर्णय भयो । मध्यावधि चुनावमा जाने अभ्यास तत्कालीन प्रधानमन्त्री गिरिराजप्रसाद कोइरालाले समेत गरेका हुन् । यो प्रचलन विश्वभर हुने गर्दछ । संसद विघटनलाई संविधान मास्ने भनेर दुनियाँभर भनेको देखिँदैन ।

त्यतिबेला आवश्यक थियो कि थिएन भन्ने बहसको विषय हुन सक्छ । ठुलो धनराशी खर्च हुने विषयलाई देशले धान्छ कि धान्दैन भन्ने बहस हुन सक्छ । संविधान बमोजिम संसद विघटन गर्दैमा, फ्रेस म्यान्डेटमा जाँदैमा संविधान मासिन्छ भन्नु अतिरञ्जित कुरा हो । यो विषयलाई अतिरञ्जित गरियो । जनता सोझा छन्, जे भने पनि पत्याउँछन् भन्ने मानसिकताले भनियो । जनता धेरै जागरुक भइसकेका छन् । बरु गठबन्धन सरकारले संंविधानलाई जोकर बनायो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने, देशमा अस्थिरता मच्चाउने काम गरियो । संविधानमै टेकेर संविधानमै भएको व्यवस्था अनुसार फ्रेस म्यान्डेटमा जाने भनिएको छ । जब समस्या हुन्छ, फ्रेस म्यान्डेटमा जाने लोकतन्त्रको सुन्दर पक्ष हो । फ्रेस म्यान्डेटमा जान पाइँदैन भनेर संविधानले भनेको छैन । यो भारत लगायत युरोपियन मुलुकहरुले अभ्यास गरेका छन् । त्यहाँ विवाद हुँदा फ्रेस म्यान्डेटमा जाँदा संविधान मास्यो भनेका छैनन् । यहाँ दलहरुले एमालेलाई आरोप लगाउने गलत हर्कत गरे । यो आरोप निन्दनीय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप