आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘मतान्तरमा देउवाले यस पटक विश्व रेकर्ड राख्नुहुन्छ’

मैले पनि सहजै चुनाव जित्छु : खगराज भट्ट
सोमबार, २१ कात्तिक २०७९, १३ : ५२
सोमबार, २१ कात्तिक २०७९

नेकपा माओवादी सुदूरपश्चिम इन्चार्ज तथा डडेल्धुरा प्रदेश (क)मा गठबन्धनका साझा उम्मेदवार खगराज भट्टले मतान्तरमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक विश्व रेकर्ड राख्ने बताएका छन् ।

शनिबार बिहान रातो गुराँस रिसोर्टमा रातोपाटीसँगको कुराकानीका क्रममा उनले डडेलधुरामा गठबन्धनका तीन जना उम्मेदवारले जित्नेमा विश्वस्त रहेको सुनाए । ​कांग्रेस सभापति देउवाका लागि डडेल्धुरामा जितभन्दा पनि सबैभन्दा बढी मतान्तरले जिताउने रणनीतिअनुसार आफूहरू लागिपरेको उनको भनाइ थियो ।

देउवाका प्रतिस्पर्धी कांग्रेस बीपीका कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायतलाई जमानत जोगाउन चुनौती रहेको भट्टको दाबी छ । सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएका भट्टले प्रदेश (क)बाट आफूले सहजै चुनाव जित्ने बताए ।

प्रस्तुत छ डडेल्धुराको चुनावी सेरोफेरोमा केन्द्रित रहेर खगराज भट्टसँग रातोपाटीका लागि लोकेन्द्र भट्ट र लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंश :

चुनावी अभियानलाई कसरी अगाडि बढाउनुभएको छ ?

हामीले डडेल्धुरामा पहिलो चरणमा आन्तरिक पार्टीलाई प्रशिक्षित गर्यौं । दोस्रो चरणमा गठबन्धन दलको संयुक्त प्रशिक्षण गर्यौं । तेस्रो चरणमा सभामार्फत अगाडि बढेका छौँ र सँगसँगै घरदैलो अभियान पनि जारी छ । हामी सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा यहाँस्थित सात वडा पालिकामा सातवटा सभा आयोजना गर्यौं । अब घरदैलोलाई तीव्र रूपमा अगाडि बढाएका छौँ ।

प्रधानमन्त्रीले चुनावी सभालाई मात्रै सम्बोधन गरेर डडेल्धुरामा गठबन्धनले जित्छ त ? घरदैलो त गर्नुभएन नि ?

प्रधानमन्त्रीज्यूले घरदैलोमा जान पनि सम्भव हुँदैन । उहाँ राष्ट्रिय नेता हो । उहाँसँग राष्ट्रलाई असाधारण आपेक्षा छ । देशभरिका नेता कार्यकर्ताले उहाँको उपस्थितिलाई एकछिन भए पनि महत्त्वपूर्ण रूपमा लिएका छन् । त्यसकारण हामीले के भनेका छौँ भने जहाँ गठबन्धनको अवस्था सापेक्ष रूपमा समस्या छ, त्यहाँ बढी जोड दिनुपर्ने अवस्था छ । प्रधानमन्त्रीले पनि त्यस्ता ठाउँमा बढी ध्यान दिँदा राम्रो हुन्छ । यहाँ कांग्रेस पहिलो शक्ति हो । माओवादी केन्द्र दोस्रो शक्ति हो । पहिलो र दोस्रो शक्ति मिलेपछि निर्वाचन परिणाम के आउँछ भन्ने कुरा स्वयंसिद्ध छ । 

त्यसोभए डडेल्धुरालाई गठबन्धनका लागि चुनौतीरहित ठानेर प्रधानमन्त्री घरदैलो नगर्नु भएको हो ?

देशका विभिन्न ठाउँमा कार्यक्रम सकेर भोट हाल्न त उहाँ यहीँ आउनुहुन्छ । भोट हाल्न आएपछि भेटघाट त भइरहन्छ । अहिले हामी घरघरमा जाने पनि घरदैलो नै हो । घरघरका मान्छे आएर उहाँलाई भेट्नु पनि घरदैलो नै त हो । पालिकामा आयोजित सभामा जाँदा पनि उहाँले हजारौँ जनतालाई भेटिरहनुभएको हुन्छ । त्यसो हुँदा कसैले लिखित रूपमा, कसैले मौखिक रूपमा कसैले विभिन्न माध्यमबाट पनि आफ्ना गुनासा जिज्ञासा पठाइरहनुभएको छ । त्यसो हुँदा प्रधानमन्त्रीज्यूको बृहत् सभासँगै घरदैलो पनि चलिरहेको छ । 

विगतमा तपाईंले प्रधानमन्त्रीसँग तीन पटक प्रतिस्पर्धा गर्नुभयो । अहिले प्रधानमन्त्रीकै लागि मत मागेर हिँडिरहनुभएको छ । अनुभूति कस्तो भइरहेको छ ?

राजनीतिमा कुनै पनि कुरा असम्भव हुँदैन । हामीले विचार, राजनीतिको आधारमा हरेकवस्तु र परिघटनालाई मूल्याङ्कन गर्ने हो । शेरबहादुर देउवा राष्ट्रको शीर्ष नेता हुनुहुन्छ । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको सभापति र देशकै प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले उहाँको व्यक्तित्व नै असाधारण छ । त्यो हिजो मलाई पार्टी असाधारण व्यक्तित्वसँग प्रतिस्पर्धा गर्ने जिम्मा दियो । मैले प्रतिस्पर्धा गरेँ । 

व्यक्तिगत रूपमा मेरो उहाँप्रति सम्मान कम थिएन । हामी लोकतान्त्रिक प्रणालीभित्र हामीले प्रतिस्पर्धा गयौँ । आज उहाँका लागि भोट माग्न पाउँदा राष्ट्रको नेतृत्व गर्ने उहाँ र प्रदेशको नेतृत्व गर्ने नेता हामी मिल्यौँ भने सिङ्गो सुदूरपश्चिम र डडेल्धुराको भविष्य उज्ज्वल बनाउन सक्छौँ भन्ने विश्वास छ । म धेरै प्रसन्न र चित्तले प्रचारमा छु । 

देशको लोकतन्त्र र संवैधानिक व्यवस्थालाई जोगाउन उहाँले खेलेको अद्भुत र असाधारण भूमिका युगयुगसम्म हरेक गणतन्त्रवादी र लोकतन्त्रवादीको पक्षधरले, सङ्घीयता पक्षधरले समतामूलक वा समावेशिताका पक्षधरहरूले सम्झिरहने छन् । उहाँले सम्झिएर काम गर्नुभएको छ । उहाँले अहिले हाम्रो दिल जितेर उम्मेदवार बन्नुभएको छ । त्यसैले उहाँलाई सहयोग गर्न म धेरै नै प्रफुल्ल चित्तले लागिरहेको छु ।

तपार्इंले सङ्केत गर्नुभएको देशको नेतृत्व गरेको र प्रदेशको नेतृत्व गरेको प्रसङ्ग जोड्भयो । चुनावपछि सुदूरपश्चिमको मुख्यमन्त्री म हो भन्न खोज्नुभएको हो ?

माओवादी पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज र पार्टीको स्थायी कमिटीको सदस्य हो र मलाई सिङ्गो सुदूरपश्चिममा गठबन्धन दललाई जिताउने मेरो काँधमा जिम्मेवारी र दायित्व छ । त्यो अर्थमा मैले प्रदेशको नेतृत्व गरेको हुँ भन्न खोजेको हो ।

जहाँसम्म मुख्यमन्त्रीको कुरा आयो, भोलि त अब गठबन्धनबीचमै छलफल हुँदा कुन प्रदेश कसले लिने कुरा होला । स्वाभाविक रूपमा माओवादी केन्द्रको भागमा पर्‍यो भने दाबी त मेरो रहने नै भयो । यसमा मेरो पार्टी र गठबन्धनमा पनि कुनै समस्या छैन ।

चुनावपछि पनि यो गठबन्धनको निरन्तरतामा समस्या आउँदैन भन्नेमा तपाईं दृढ हो ?

गठबन्धनको निरन्तरतामा समस्या आउनु राष्ट्रका लागि दुर्भाग्य हुनेछ । किनभने प्रतिगमनकारी, अहङ्कारवादी, षड्यन्त्रकारी प्रवृत्ति आंशिक रूपमा पराजित भएको छ तर समाप्त भएको छैन । यो अझै पनि जालझेल र षड्यन्त्रको थुप्रै शृङ्खलामार्फत यो व्यवस्था र प्रणालीलाई समाप्त गर्न लागेको छ ।

राजनीतिक स्थिरता, सुशासन, वैज्ञानिक विकास, समृद्धि र समुन्नत राष्ट्रका लागि तथा जनताको स्वभिमान र आत्मसम्मानको जगेर्नाका लागि यो गठबन्धनको सहयात्रा आगामी निर्वाचनपछि सरकार गठनसम्म मात्रै होइन, १०–१५ वर्षसम्म जानुपर्छ । हाम्रो संवैधानिक व्यवस्थाले कुनै पनि पार्टीको बहुमत आउने सम्भावनालाई कमजोर बनाइदिएको छ । 

२०७४ को निर्वाचनमा चुनावी गठबन्धन गरेर पार्टी एकता गरेको पाँच वर्षसम्म त टिक्नु भएन, अहिले त चुनावी तालमेलका लागि गठबन्धन मात्रै गरेको हो । चुनावपछि पनि निरन्तरता पाउँछ भन्ने विश्वासिलो आधार के छ ?

पहिलो कुरा त नेपाली कांग्रेस परिपक्व पार्टी हो र शेरबहादुर देउवा गठबन्धन संस्कृतिलाई सफल पार्नमा माहिर नेताका रूपमा चिनिनुहुन्छ । हाम्रो अध्यक्ष प्रचण्ड संयोजनकारी, समन्वयकारी क्षमता भएको देशकै अब्बल नेता हो । तेस्रो कुरा हाम्रो अगाडि संवैधानिक व्यवस्था छ । कि त संवैधानिक व्यवस्था भाडमा जाओस् भन्न सक्नुपर्‍यो ।

व्यवस्थाको सुरक्षाका लागि नेपालका राजनीतिक दलहरूको चरित्र पनि कस्तो देखिएको छ भने राष्ट्र र संवैधानिक प्रणाली सङ्कटमा आइपर्दा एकअर्काको परिपूरक भएर आउँछन् । जब सहज परिस्थिति आउँछ, हामी एकअर्कासँग प्रतिस्पर्धा गरेर जान्छौँ ।

म फेरि डडेल्धुरातिरै फर्किन्छु । यहाँ कांग्रेसभित्र विद्रोह छ । गठबन्धनमा पनि एकीकृत समाजवादीका तारा जोशीले प्रदेश (२)मा बागी उम्मेदवारी दिएका छन् । गठबन्धनका उम्मेदवारलाई चुनौती त देखियो नि ?

हरेक पार्टीभित्र आंशिक रूपमा असन्तुष्टि हुने कुरालाई अनौठो मान्नु हुँदैन । त्यो चुनावमा मात्र होइन, सधैँ हुन्छ । तर कांग्रेस र माओवादी एक ठाउँमा छौँ ।

समाजवादी र राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमै छ । यस पटक सम्माननीय प्रधानमन्त्रीज्यूले यसपालि ऐतिहासिक कीर्तिमान जित हासिल गर्नुहुन्छ । 

–त्यो भनेको... ?

उहाँले अहिलेसम्म बढीमा २८ हजार भोट ल्याएर जित्नुभएको छ । यस पटक खसेको मतको ८०–९० प्रतिशत मत ल्याएर जित्नुहुन्छ । ६० हजार मत खस्यो भने उहाँको मत ५० हजारभन्दा माथि हुन्छ । अङ्कका हिसाबले उहाँभन्दा बढी मत अरूले पनि ल्याउनु होला । तर अन्तरका हिसाबले यहाँ विश्व रेकर्ड नै कायम गर्ने ढङ्गले जित्नु हुन्छ भन्ने हामीलाई विश्वास छ ।

तपाईं आफैँ पनि डडेल्धुरा प्रदेश (क)बाट गठबन्धनको उम्मेदवार हुनुहुन्छ । प्रदेशको प्रतिस्पर्धा कस्तो हुने देख्नुभएको छ ?

प्रदेश परिस्थिति हेर्दा सातवटा पालिकामध्ये म उम्मेदवार रहेको प्रदेश (क)मा ३ पालिका र एउटा पालिकाका दुईवटा वडा छन् । प्रदेश (ख)मा तीनवटा पालिका र एउटा पालिकाको ४ वटा वडा छन् ।

स्थानीय निर्वाचनमा गठबन्धनले सातवटै पालिका जितेको छ । प्रदेश (क)मा मसँग एमालेका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । केही स्वतन्त्र पनि हुनुहुन्छ । प्रदेश (क)मा एमालेले ४ वटा वडा मात्र जितेको छ । २३ वडा गठबन्धनले जितेको छ । चुनावी नजिता मेरा लागि सहज छ । यस्तै प्रदेश (ख)का उम्मेदवार गोविन्द बोहराका लागि पनि धेरै सहज छ ।

गठबन्धनले चुनाव जित्दा आगामी पाँच वर्षमा डडेल्धुरामा केके नयाँ काम गर्नुहुन्छ ?

हाम्रो पहिलो दायित्व डडेल्धुराका मतदाताप्रति हुन्छ नै । तर हामीले सुदूरपश्चिमकै बारेमा सोच्दै छौँ । सुदूरपश्चिमलाई सुन्दरपश्चिमको खाका कोरेका छौँ । डडेल्धुरा कृषिका लागि नमुना जिल्ला हो । पर्यटकीय रूपमा प्रचार सम्भावना छ । शिक्षा र स्वास्थ्यमा गुणात्मक काम गर्नु छ । पश्चिम सेतीअगाडि बढेको छ ।

मेडिकल कलेजको घोषणा भएर प्रक्रिया अगाडि बढेको छ । केही महत्त्वपूर्ण विकासको सुरुवात भइ नै सकेको छ । थप विकासका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा स्थानीय तह र प्रदेशले काम गर्छ । 

देउवाले विगतमा विभन्न एजेन्डा प्रस्तुत गर्नुभयो । डडेलधुरावासीले ६ पटकसम्म अनुमोदन पनि गरे । उहाँ पाँच पटक प्रधानमन्त्री पनि हुनुभयो । तर उहाँले आफूले गरेका वाचा पूरा गर्नुभएन । अहिले तपाईंले अगाडि सारेका एजेन्डा पाँच वर्षमा पूरा हुन्छन् भनेर कसरी पत्याउने ?

हिजो प्रधानमन्त्री हुँदा कस्तो परिवेश थियो, कस्तो समय सन्दर्भमा प्रधानमन्त्री हुनुभयो । द्वन्द्वकालामा प्रधानमन्त्री भएकाले विकासका काम गर्न कति सम्भावना थियो ? त्यो कोणबाट पनि हामीले हेर्नुपर्ने हुन्छ । अर्को कुरा यहाँ विकास नै नभएको होइन । मेडिकल कलेज र पश्चिम सेती बनाउने कुरा चानचुने विकास होइन । सुदूरपश्चिमको मुहार फेर्ने विकास हो । यस्ता विकास गर्दै गयौँ भने विश्वासको वातावरण बन्दै जान्छ । गठबन्धनले जितेको पहिलो दिनबाटै विश्वास जित्ने गरी काम गर्न सुरु गर्छौं । राजनीतिको उत्तराद्र्धमा प्रधानमन्त्रीज्यू केही गरौँ भन्ने भित्रैबाट भावना लिएर उभिनुभएको छ । म ४५ वर्षको भएँ । यही पाँच वर्षमा मलाई मेरो राजनीति सक्नु छैन । यहाँको समस्यासँग म जानकार छु । हामी जनचाहनाअनुसार नै अगाडि बढ्छौँ ।

हिजोका दिनमा यहाँ कांग्रेस र माओवादीबीच चर्को प्रतिस्पर्धा थियो । अहिले कांग्रेस र माओवादीका नेता मिल्नुभएको छ । मतदाताको मन त मिलेको छैन । एकअर्काको मत पाउनु होला र ?

सय प्रतिशत त पाउँछौँ भन्न सकिँदैन । कांग्रेसले कांग्रेसलाई नै शतप्रतिशत हाल्छ कि हाल्दैन, माओवादीले माओवादीलाई हाल्छ कि हाल्दैन भन्ने कुरा त संशयमै हुन्छ । कांग्रेस र माओवादीका कार्यकर्तामा द्वन्द्व र विगतको राजनीतिक प्रतिस्पर्धाको मनोविज्ञानबाट माथि उठेर सहमति, सहकार्य, एकता र मिलमेलापको जगमा हाम्राबीचमा सम्बन्ध बनेको छ । कांग्रेसको आफूलाई प्राप्त गर्ने मत बराबरै हामीलाई पनि मत प्राप्त हुन्छ भन्नेमा ढुक्क छु ।

प्रदेश (क)बाट एमालेका पठानसिंह बोहरा पनि प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेले उहाँलाई भावी मुख्यमन्त्रीका रूपमा प्रचार गरेको छ । तपाईंलाई पनि भावी मुख्यमन्त्रीकै रूपमा हेरिएको छ । बोहरासँगको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

म व्यक्तिगत टिप्पणी गर्न चाहन्नँ । कांग्रेस र माओवादी मिलेपछि उहाँको जित्ने आधार कहीँकतै देख्दिनँ ।

डडेल्धुरामा भित्री मधेशको हावा बढी चल्छ भन्छन् । तपाईं प्रदेश (ख)को बासिन्दा प्रदेश (क)मा चुनाव लड्दै हुनुहुन्छ । भेगीय मत एकीकृत हुँदा तपाईंलाई जित्न गाह्रो होला नि ?

भित्री मधेश खगराज भट्टको राजनीतिक उत्थानको सबैभन्दा उर्वर भूमि हो । भित्री मधेशमा कुनै घर छैन, जहाँ मैले पाइला नटेकेको होस् । त्यहाँका जनजनले खगराज भट्टलाई घरमा राख्नुभएको छ, खुवाउनु भएको छ, सुरक्षाकर्मीबाट जोगाउनु भएको छ ।

विगतका तीनवटा निर्वाचनमा भित्री मधेशबाट उल्लेख्य मत दिनुभएको छ । भित्री मधेशका जनतासँग मेरो गहिरो भावनात्मक सम्बन्ध छ । मेरो हकमा क्षेत्रीयताको नाराले काम गर्ने कतै लक्षण देखिँदैन । 

पठानसिंह बोहराजीको पालिकामा एमाले शून्य छ । वडा पनि जिताउन सक्नुभएको छैन । उहाँको वडामा माओवादीले प्यानलसहित जितेको छ । भित्री मधेशका जनताले खगराज भट्टलाई राम्रोसँग चिनेको छ । बुझेको छ, हुर्काएको छ, माया ममता गरेको छ ।

प्रतिस्पर्धाको राजनीतिमा पनि उल्लेख्य मत दिएको छ । यसअघि परशुराम नगरपालिकामा देउवाजी भन्दा झन्डै १ हजार बढी मत मैले पाएको थिएँ । आलिताल गाउँपालिकामा पनि उहाँभन्दा केही मत बढी थियो ।

देउवासँग लड्दा पनि जुन क्षेत्रले मलाई देउवाभन्दा बढी विश्वास गरेको छ, त्यो क्षेत्रमा पठानले मभन्दा बढी भोट पाउने कुराको कल्पना पनि गर्न सकिँदैन । भित्री मधेशमा पठानसिंहजीभन्दा मप्रति बढी सहानुभूति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप