आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन मलाई चुनौती जस्तो लाग्दैन : निरुदेवी पाल

बिहीबार, २४ कात्तिक २०७९, १० : ५६
बिहीबार, २४ कात्तिक २०७९

एमाले–राप्रपा गठबन्धनकी साझा उम्मेदवार एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाललाई पहिलो पटक जनअनुमोदित रहर छ​ । तर उनलाई कांग्रेस नेता रमेश लेखकको चुनौती छ ।

कञ्चनपुर–३ मा दीपक प्रकाशले २३ वर्षपछि फर्काएको विरासत जोगाउनुपर्ने चुनौती पालमाथि छ । तर पालसामु ०७४ मा दीपकप्रकाश जस्तो सहज परिस्थिति भने छैन । ०७४ मा माओवादी केन्द्र साथमा थियो भने अहिले एमालेमाथि पार्टी विभाजनको मार समेत परेको छ ।​ प्रस्तुत छ रातोपाटीकर्मीले पालसँग गरेको कुराकानी :

कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमाले, राप्रपासहित दलको गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । चुनावी गतिविधि कसरी अगाडि बढाउनु भएको छ ?

मनोनयन दर्तापछि हामी यहाँस्थित ३० वटै वडाहरूमा सम्पर्क कार्यालयहरू स्थापना गयौँ । त्यसपछि टोल–टोलमा कोण सभाहरू गरेका छौ । टोल भेला पनि गरेका छौ । यसपालि निर्वाचन आयोगले कडिकडाउ गरेपछि सजिलो पनि भएको छ । किनकि २०६५ चुनाव लड्दै गर्दा निकै नै तामझामका साथका गर्नुपरेको थियो । यसपालि त्यस्तो छैन । शान्त माहौलमा भइरहेको छ । 

मतदाता कहाँ पुग्दा उहाँहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ?

म कसरी व्यक्त गरौँ । सौहार्दपूर्ण रूपमा रेस्पोन्स गरिरहनुभएको छ । पाँच वर्षको अवधिमा तपाईं समानुपातिक उम्मेदवार भए पनि धेरै सहनीय काम गर्नुभएको छ । जस्तो कि, महाकाली अस्पतालमा निर्वाचित भएर जाँदा दुई जना मात्रै डाक्टर हुन्थ्यो । सेवा थिएन, रेफरल सेन्टर थियो । त्यहाँ आईसीयू थिएन, अक्सिजन प्लान्ट थिएन । भेन्टिलेटर थिएन । कोभिडका बेला एकै दिन १४÷१५ जनाको मृत्यु भयो । मलाई छटपटाहट भयो । राति राति भए पनि नेपालजञ्जबाट १००÷१५० सिलिन्डर ल्याइन्थ्यो । त्यसपछि एकैदिन चार करोड रुपैयाँ छुट्याउन लगाइ अक्सिजन प्लान्ट निर्माण गर्न लगाइयो । अहिले यहाँ ३२ जना डाक्टरहरू छन् । विडम्बना म त्यही अस्पतालमा जन्मेको मान्छे हुँ । तर पछि रेफरल सेन्टरमा परिणत भएको थियो । अहिले डाइलसिस सेवा, भेन्टिलेटर सेवा, बच्चाको लागि चाहिले आईसीयू, नयाँ इमरजेन्सी वार्डलगायत बनाएका छौ । सर्वसाधारण आफ्नै घर आँगनमा सर्वसुलभ सेवा पाउन् भनेर अस्पतालको स्तरोन्नति गरेका छौ ।

तपाईंको प्रतिस्पर्धीको रूपमा रमेश लेखक छन् । उहाँलाई हेभीवेट उम्मेदवारको रूपमा हेरिएको छ । उहाँसँगको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ? कतिको चुनौतीका रूपमा लिनुभएको छ ?

यहाँले कसरी लिनुभएको छ, हेभीवेट र कमजोरको व्याख्या कसरी गरिन्छ ? मैले थाहा पाएन । पार्टीमा हैसियतको कुरा गर्नुहुन्छ भने, उहाँ केन्द्रीय सदस्य मात्रै हो । म पोलिटब्यूरो सदस्य हो । कञ्चनपुर जिल्ला इन्चार्ज हो । उहाँ त इन्चार्ज पनि हुनुहुन्न । उहाँ मन्त्री भन्नुहुन्छ । म पनि महत्त्वपूर्ण मिनी पार्लियामेन्ट, महिला तथा सामाजिक समितिको सभापति भएर सफल कार्यकाल पूरा गरेको छु । त्यो राज्यमन्त्री सरह हो । त्यो भन्दा पहिले म केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँको जनसम्पर्क सल्लाहकार भएर राम्रै काम गरेको छु । तर हेभीवेट र कमजोर भनेर के आधारले विश्लेषण गरेको मलाई थाहा छैन । महिला भएकै कारण भनिएको हो, भने उहाँको दृष्टि भ्रम हो, हेर्नुस् । होइन भने जनताले हेभीवेट र कमजोर भन्ने कुरा जनताले ठानेका छैनन् ।

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा वाम लोकतान्त्रिक गठबन्धनको मत एमाले राप्रपा गठबन्धनको भन्दा बढी देखिन्छ । चुनाव जित्न यहाँ तपाईंले उताको मतलाई डाइभर्ट गर्नुपर्ने छ । भने, राप्रपालगायतको मतलाई जोड्नुपर्ने छ । यो चुनौतीका बीच विजयी यात्रा तय गर्न के रणनीति बनाएर अगाडि बढ्नुभएको छ ?

जो इमानदार, सक्षम हुन्छ । जो काम गर्न सक्छ, उसलाई चुनौतीसँग खेल्न मन लाग्छ (हाँस्दै) । केन्द्रले, पार्टीले पाँच दलीय गठबन्धन गर्‍या होला । तर जनताले गठबन्धन गर्नुभएको छ, कि छैन । त्यो जनताको हातमा छ । जनताले जसरी मलाई रेस्पोन्स गरिरहनुभएको छ, हाम्रो छोरी हो । यो ठाउँकै छोरी हो, भनेर एक पटक यसलाई विश्वास गर्नुपर्छ भनेर । २०६५ मा विश्वास गर्न सकेनौँ, यस पटक गर्नुपर्छ भनेर रेस्पोन्स गरिरहनुभएको छ । यो गठबन्धन मलाई चुनौती जस्तो लाग्दैन । आम मतदाताले देखाएको माया र विश्वास नै मेरो जीतको आधार हो ।

निर्वाचनमा तपाईंले यो क्षेत्रबाट जित्नुभएन भने यो क्षेत्रले गुमाउँछ ? जित्नुभयो भने के पाउँछ ?

जितिइन भन्ने कुरा मलाई विश्वास लाग्दैन । म जित्छु भन्दा मलाई सेवा गर्ने मौका दिनुहुन्छ भन्ने मलाई लागेको छ । यहाँ निर्वाचित भई गइसकेपछि सर्वप्रथम त म जनताकै सेवा गर्नेछु । यसरी अहोरात्र खटिएर जसरी जिताउँदै हुनुहुन्छ, उहाँहरूलाई कहिल्यै बिर्सिने छैन भन्न चाहन्छु । म सूर्य चिन्हको उम्मेदवार भए पनि, सूर्य चिन्हमा भोट नहाल्ने जनताको पनि सेवक भएर काम गर्नेछु । कसैलाई पनि काखा पाखा गर्ने छैन, भन्ने प्रतिबद्धता गर्न चाहन्छु । जितेर गइसकेपछि अझै पनि महाकाली अस्पतालको स्तरोन्नति गर्नुछ । मजगाउँ विमान स्थल, जहाँ म सानो छँदा मेरो बुवाले यहाँबाट थुप्रै पटक पाटन, सुर्खेत लगायत ठाउँ लिएर जानुभएको थियो । आज २०५६ सालदेखि बन्द छ । त्यसलाई सुचारु गर्न एमओयू गरेर काम अगाडि बढाएका थियौ । अहिले ठप्प छ, त्यसलाई अगाडि बढाउने छु । महाकाली कोरिडोरको लागि केपी ओली प्रधानमन्त्री हुँदा ९८ करोड बजेट हालेर त्रिदेशीय नाकाको रूपमा अगाडि बढाएका थियौ । त्यो अहिले ठप्प छ, त्यो पनि अगाडि बढाउने छु । सुख्खा बन्दरगाह अहिले अलपत्र छ, त्यो राख्ने छु । यहाँ शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानीको समस्या छ, त्यसको समाधान गर्नु छ । बेरोजगारी समस्या छ, त्यसको समाधानको लागि स्वदेशमा रोजगारी प्रदान गर्नुपर्छ भनेका छौ । सुख्खा बदरगाह निर्माण भयो भने, काठमाडौँका मान्छे यहाँ आउने होइन, यहाँकै मान्छेले रोजगारी पाउने हो । साथै यहाँको महिलाहरूलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप