बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेसँगको सहकार्यलाई निरन्तरता दिनेबारे चुनावपछि निर्णय लिन्छौँ : उपेन्द्र यादव

‘मधेस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ’
मङ्गलबार, २९ कात्तिक २०७९, १६ : ३६
मङ्गलबार, २९ कात्तिक २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाको उम्मेदवार छन् । नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएका यादवले मङ्सिर ४ पछि मधेसको सरकार आफ्नो पार्टीले बनाउने दाबी गरेका छन् । 

एमालेसँगको हिजोको तिक्तता, अहिलेको सहकार्य र भावी दिनमा सहकार्यको निरन्तरता लगायतका विषयमा रातोपाटीकर्मी रोहित दाहालले यादवसँग सप्तरीमा कुराकानी गरेका छन् । उनीसँगको  कुराकानीको सम्पादित अंश : 

कस्तो चलिराछ प्रचार प्रसार ?

राम्रो छ । व्यापक चलिरहेको छ । प्रचारप्रसारमा व्यापक जनसहभागिता भइरहेको छ र जनतामा निकै उत्साह, ऊर्जा र सद्भाव मैले पाइरहेको छु ।

तपाईंंको भन्दा विपक्षी गठबन्धनको मत यसअघिको स्थानीय निर्वाचनमा धेरै देखिन्छ, त्यसलाई कसरी क्रस गर्नुहुन्छ ?

मत भनेको गिलासको पानी त हैन नि, यो गिलासबाट अर्को गिलासमा खन्याउँदा जान्छ । जनता हाम्रो पक्षमा छन् जनमत हामीसँग छ । हामी जित्छौँ ।

नेकपा एमालेसँगको तालमेल त्यति कामयाब भएन हैन, तपाईंलाई ?

जहाँ हामीले जुन अवस्थामा तालमेल गरेका छौँ, त्यो ठिकै छ । त्यसमा कुनै अन्यथा छैन ।

अन्तर्विरोध त चर्को देखिन्छ नि, दुवै पार्टीमा ?

हैन छैन । अलिअलि समस्या  त भइहाल्छ राजनीतिमा ।

सप्तरीमा पनि एमालेसँगको तालमेलका कारण समस्या छ भन्छन् नि, यहाँका जनताले विगतको घटना पनि सम्झेका छन् ? 

हैन हैन, एकदम सहयोग भएको छ । एक अर्कालाई सहयोगका साथ अगाडी हामी बढिरहेका छौँ । सप्तरीमा कुनै दुबिधा विवाद केही पनि छैन ।

यहाँ प्रभु शाह फ्याक्टर के छ ?

मलाई थाहा छैन । यहाँ केही फ्याक्टर छैन ।

तपाईंंको जित चाहिँ निश्चित छ ?

अब, जनताको जित निश्चित छ । जनता अजय छन् । जनताको बिचमा मैले काम गरेको छु । जनताको हक अधिकारको लागी लडेको छु, हाम्रो पार्टी भनेको जनताको बिचबाट, सङ्घर्ष र क्रान्तिको मैदानबाट जन्मिएको जनता समाजवादी पार्टी हो । 

मधेस प्रदेशमा मधेस केन्द्रित दलहरू अस्तित्वको सङ्कटमा छ, विभाजनका कारण भनिन्छ नि ?

हाम्रो कुनै अस्तित्व सङ्कटमा छैन । हामी अस्तित्वमा छौँ । नेपालको राजनीतिमा ‘की फ्याक्टर’ हौँ । मधेसको शक्तिलाई कसैले बेवास्ता गरेर अगाडी बढ्न सक्दैन । निर्वाचन पछि पनि यो शक्तिलाई उपेक्षा गरेर मुलुकको राजनीतिक गति अगाडी बढ्दैन ।

तपाईं निर्वाचन पछि पनि एमालेसँगै जानुहुन्छ ?

यो विषयमा निर्वाचन पछि नै कुरा गरौला । अहिले निर्वाचन सम्मको कुरा गरौँ । सहकार्यलाई हामी निरन्तर अघि बढाउँछौँ भन्ने नै हो । तर, निर्वाचन पछिको परिस्थिति जे आउँछ त्यसबारे विश्लेषण गरेर अघि बढ्छौँ ।

तपाईंंको जित्ने आधार चाहिँ के छन् ?

पहिलो कुरा, हाम्रो बलियो जनतामा संगठन छ । सङ्घर्षशील ऊर्जावान् कार्यकर्ताहरूको पंक्ति र जनताको विश्वास । विगतमा गरेका कामको आधार भन्दा ठुलो आधार के चाहिन्छ र ?

तपाईंंले मधेस आन्दोलनको नेतृत्व गर्नुभयो, ती मुद्दाहरू बिर्सिनुभयो भन्ने आरोप रहेछ नि ?

मधेस आन्दोलन मात्रै होइन । जनआन्दोलन, जन विद्रोह र विभिन्न सङ्घर्ष गरेर नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनाउन मेरो भूमिका छ । ती मुद्दाहरू यथावत् छन्, भोलि पनि यथावत् रहन्छन् । ती मुद्दा समाधान नहुन्जेल अन्त्य हुँदैन । संविधान संशोधनको मुद्दा, प्रादेशिक स्वायत्तता र  सुशासनका मुद्दा, समावेशिता र समानुपातिकको मुद्दा यथावत् छन् । हामीले पहिचानको मुद्दा, शासकीय स्वरूप बदल्ने कुरा र निर्वाचन प्रणाली, न्याय प्रणाली सुधार्ने र समावेशी लोकतन्त्र नेपाल बनाउने हाम्रो प्रयास अघि बढ्दै गएका छन् । ती मुद्दाहरू हराउँदैनन्, ओझेलमा पर्दैनन् । अँ, कहिले कुन साउण्ड उच्च कहिले कुनै आवाज तल परेको जस्तो हुन्छ त्यो परिस्थितिको कुरा हो ।

ती मुद्दा चाहिँ तपाईंंहरु सरकारमा जाने भर्‍याङ मात्रै भयो भन्ने आरोप छ नि ?

बिलकुल गलत । हामी सरकारमा रहेर पनि सङ्घर्ष गरेका छौँ । सडक, संसद्मा पनि सङ्घर्ष गरेका छौँ । सरकार सडक र संसद् परिवर्तनका लागी संघर्षका साधन मात्र हुन्, साध्य होइनन् ।

तपाईं केपी ओली नेतृत्वको सरकारमा हुनुहुन्थ्यो, तपाईंको बहिर्गमन जसरी भयो त्यो सम्झँदा र अहिले तालमेल गर्दा कस्तो अनुभूति भइरहेको छ ? 

त्यस्ता उतार–चढावहरू कत्ति आए ? एउटा घटनालाई बोकेर सधैँ त्यसैका पछि लाग्ने होइन । समय र परिस्थिति फेरिइसकेको छ कोसिसमा धेरै पानी बगिसकेको छ परिस्थिति नयाँ जन्मिसकेको छ ।

तिलाठी घटना पनि बिर्सिसक्नु भो ?

तिलाठी घटना त सरकारको दोष हो । तपाईंंहरूले नै प्रशारण गर्नुभएको थियो त्यतिबेला अहिले बिर्सिनुभयो ? त्यो घटना हुँदा कसको सरकार थियो ? को गृहमन्त्री र प्रधानमन्त्री थियो ? हाम्रो र एमालेको बिचमा अन्तर्विरोध र फरक मत थियो । हामीले केही कुरामा फरक मत राखेर विरोध गरेका थियौँ । हाम्रो र एमालेको बिचमा मुठभेड कहीँ पनि थिएन । अनि, एक्कासि प्रहरीले कसको आदेशमा गोली चलायो ? सिडिओलाई कसले आदेश दियो ?  त्यसको जिम्मा सरकारले लिनुपर्दैन ? त्यसरी एक अर्कासँग जुधाउने काम त गर्नुभएन नि ? 

हैन, तपाइहरूले पनि चुनावको बेलामा जुधाउने काम गर्नु राम्रो होइन । मलेठ घटनाको छानबिन हुनुपर्छ भन्ने माग हो । घटनामा सरकारको दोष छ । केपी शर्मा ओली र हामी पनि विपक्षमा थियौँ । विपक्षको बीचमा झगडा थियो, तर मुठभेड भएको थिएन । मुठभेडले गर्दा गोली चलाएको होइन । सरकारले गोली चलाएर दमन गरेको थियो । 

तपाईंंले पनि एमाले हामीसँग भिड्न आयो भन्नुभएको थियो नि त्यतिबेला ?

हैन, भिड्न आए भन्दा पनि समानान्तर रूपमा कार्यक्रम भए । तर त्यसले कहीँ भिडन्त भएको होइन । एक्कासि फायरिङ गर्ने काम किन गराइयो ? त्यो बेला सरकारमा रहेकाहरूले जवाफ दिनुपर्छ । हामीले त्यतिबेला नै राज्यले यसको जिम्मेवारी लिएर दोषीलाई कारबाही गर्नुपर्ने माग जबरजस्त रूपमा उठाएका थियौँ । 

निर्वाचनपछि मधेसमा तपाईंंको पार्टीको अवस्था के हुन्छ ?

हाम्रो हिजोको भन्दा अझ राम्रो भएर जान्छ । वर्तमान भन्दा भविष्य हाम्रो अझै संगठित अझै शक्तिशाली र जनआधारित भएर जान्छ । देशैभरि । मधेस प्रदेशमा त हुने नै भयो । 

मधेस प्रदेशमा सरकार बनाउनुहुन्छ ? 

मधेस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ । 

राष्ट्रिय रूपमा दुई गठबन्धन छन्,अहिले तर तपाईंंले तालमेल भन्नुभएको छ ? 

ती गठबन्धन नै होइन्न । गठबन्धन त क्षणिक हो । सत्ता गठबन्धन चुनावपछि रहँदैन । अहिलेसम्म हो त्यो गठबन्धन । निर्वाचनपछि हाम्रो (एमाले र जसपा)को  तालमेल अनुसार सरकार बन्ने सम्भावना छ, बन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप