शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’

मङ्गलबार, २९ कात्तिक २०७९, १७ : ०२
मङ्गलबार, २९ कात्तिक २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । 

‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउत दाबी गर्छन् । आसन्न आम निर्वाचनमा केन्द्रित रहेर राउतसँग रातोपाटीकर्मी रोहित दाहालले यादवसँग सप्तरीमा कुराकानी गरेका छन् । उनीसँगको  कुराकानीको सम्पादित अंश : ​

घरदैलो कार्यक्रममा हुनुहुन्छ । चुनाव प्रचार प्रसार कसरी चलिरहेको छ ?

– मेरो अवस्था राम्रो छ । जनता एकदमै उत्साहित छन् । यो भन्दा अगाडिका जनप्रतिनिधिले पटक्कै विकास गरेनन् । जितेपछि यो स्थानमा फर्किएर हेर्न समेत नआएको हुनाले उहाँहरुलाई यसपाली जनताले हराउनेछन् र मलाई मौका दिन्छन् । घरदैलोमा सबै मतदाताले यो भनिरहेका छन् ।

सत्ता गठबन्धन र एमाले गठबन्धनका हेभिवेट नेतासँग तपाईंको एकल उम्मेदवारी छ । चुनौती कतिको महसुस गर्नु भएको छ ?

– तपाईंको प्रश्न सही हो । तर गठबन्धन कोसँग गरेर आएका छन्  त ? जसले यो क्षेत्रमा ओलीलाई छिर्न दिनुहुँदैन भनेर ५ जनालाई शहादत दिलाए । आज त्यही ओलीलाई काँधमा बोकेर यहाँ पाएपछि त हार उसको सुचिश्चित हुने भयो । 

एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो भन्दै प्रचारप्रसार गरेर जसले पछिल्लो चुनावमा भोट मागे । अहिले उसैलाई काँधमा बोकेर आएपछि यहाँ उनीहरुको पत्तासाफ हुने नै छ । 

अर्काे कुरो सत्ता गठबन्धनका उम्मेदवार त राजनीतिक पात्र नै हुनुहुन्न । उहाँले जनताको बीचमा कतै समाजसेवा गरेको, कतै भाषण, राजनीतिक कुरा गरेको सुन्न पाइएको छैन । उहाँलाई एउटा मूर्ति जस्तै गठबन्धनले उचालेको हो ।

यहाँका जनताले ढुङ्गालाई पक्कै पनि चुन्ने छैनन् । किनभने यहाँ विकास चाहिएको छ, समृद्धि चाहिएको छ । जनता एकदमै पीडित छन् । शिक्षा, स्वास्थ्य र रोजगारी लगायत हरेकमा यो पिछडिएको क्षेत्र हो । त्यसैले जनताले यसपटक जनमत पार्टीलाई रोजेर विकास रोज्ने छन् । सबै जनताले यही भनिरहेका छन् । 

तपाईंको चुनावी मुद्दा के छ ?

– यो ठाउँका लागि सेवा प्रवाह हो । यो सप्तरी जिल्ला कुनै बेला एकदमै शिक्षित जिल्लाको रुपमा प्रख्यात थियो । एकसे एक विद्वानहरु यहाँबाट निस्किए । विडम्वना अहिले ६३ वटा जिल्ला साक्षर घोषणा हुँदासम्म सप्तरी साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यसको साक्षरता दर एकदमै कम छ ।  दुर्गम जिल्ला भन्दापनि कम साक्षरता दर यहाँको छ । 

स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने ८९ प्रतिसत घरपरिवारसँग शौचालय नै छैन । बच्चाहरु कुपोषणको सिकार छन् । महिलाहरु रक्तअल्पताको सिकार छन् । राजविराजको अस्पतालमा जानुभयो भने तुरुन्तै धरान वा बिराटनगरको अस्पताल लैजानुस् यहाँ केही हुँदैन भन्छन् । अस्पताल रिफर सेन्टरको रुपमा रहेको अवस्था छ यहाँ । 

रोजगारीका लागि कुनै उद्योग धन्दा केही पनि भेट्नुहुन्न । रोजगारी कही नभएकाले यहाँका युवा विदेशिन बाध्य छन् । त्यही भएर शिक्षा, स्वास्थ्य र रोजगारी यो क्षेत्रमा कसरी सबैका लागि सर्वसुलभ र सहज तरिकाले पुर्याउने अहिलेको मेरो प्रमुख एजेन्डा हो । 

रोजगारीका लागि हामी यहाँ दुई तीनवटा पालिका मिलाएर कृषि औद्योगिक क्षेत्र र निर्मलीबाट रोडलाइन गाईघाटसम्म तानेर स्पेसल इकोनोमिक जोन बनाएर त्यहाँ मल्टिनेशनल कम्पनी बोलाएर यहीकाले घर घर रोजगारी पाउन सकुन् भन्ने स्थिति सिर्जना गर्ने अहिलेको प्रमुख एजेन्डा हो ।

तपाईं आफ्नो पार्टीको एकजना सांसद भएर केन्द्रबाट यी सबै समस्याको समाधान गर्नसक्नु होला त ?

– केन्द्रबाट, सांसदबाट नीति बन्ने हो । तर औद्योगिकीकरणका कुरा ब्यक्तिगत तर्फबाट पनि सम्भव हुन्छ । तपाईं वल्र्ड बैंक, एडिबी बैंकसँग कुरा गर्न सक्नुहुन्छ । परियोजना ल्याउन सक्नुहुन्छ । त्यो क्षमता भएको नेता चयन गर्न सक्नुपर्यो । मेरो फिल्ड पनि आइटी हो । यहाँ मल्टिनेशनल कम्पनीलाई निम्त्याउन सकिन्छ । 

एउटा उदाहरण, यहाँ कल सेन्टर स्थापना गरियो भने हजार जनालाई रोजगारी दिन सकिन्थ्यो । यो कुरो दश वर्ष अगाडि सम्भव थिएन । अहिले अप्टिकल फाइबर गाउँ गाउँसम्म पनि पुगेको अवस्था भएकोले त्यो यहाँ गर्न सकिन्छ । 

तपाईं एक्लै जितेर पार्टीको सरकार बन्न सक्दैन होला । नीति पनि तपाईंले सोचेजस्तो कहाँ बनाउन सक्नुहुन्छ र ? संसदमा त बहुमतका कुरो हुन्छ नि ?

– नीति अहिले छ, त्यो बनाउनै पर्दैन । एफडिआइ ल्याउन पनि नीति छ । त्यसका लागि नयाँ नीति पारित गर्नुपर्छ भन्ने छैन । स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गर्न सके मात्र पनि पुग्छ । त्यसले फरक पर्दैन ।

धेरैले तपाईंलाई प्रतिनिधिसभा भन्दा प्रदेशसभाका लागि उठ्नु भएको भए राम्रो हुन्थ्यो । प्रत्यक्ष जनतासँग सरोकार हुन्थ्यो भन्ने गरेका छन् त ?

– त्यो होइन, पार्टीको राष्ट्रिय अध्यक्षले राष्ट्रिय स्तरमा नै लड्नुपर्छ । यो हाम्रो मान्यता हो । देश पनि हाँक्न सक्ने भिजन दिन सक्नु पर्यो । त्यसका लागि पनि उठ्नु आवश्यक भयो ।

छोटो शब्दमा भन्दा यहाँका जनताले डा सीके राउतलाई किन भोट दिने ? 

– यो भन्दा अगाडिका सबै जनप्रतिनिधिलाई जनताले हेरेका छन् । तर यहाँ केही पनि विकास भएन । सप्तरी त झन् खस्किदै, खस्किदै गयो । सप्तरी अविकास र गरिबीको चरम सिमामा पुगिसकेको अवस्था छ । 

सीके राउत भनेको पछिल्लो दश वर्षसम्म यही माटोमा बसेर ज्यान दिइरहेको ब्यक्ति हो । कुनै पद वा पैसाका लागि राजनीतिमा आएको होइन । यो बिषय यहाँको घर घर, बच्चा बच्चालाई थाहा छ । हामी कुनै पदको राजनीति गर्न आएका होइनौ । ज्यानै दिने राजनीति गरिरहेका थियौ । त्यसैले सबै मतदाताले निस्वार्थ भावले जनताको सेवा गर्न आएको भनेर मौका दिनुहुन्छ । यहाँ सम्म कि जो मेरा विरोधी छन्, तिनले पनि एक मौका दिनुपर्यो भनेर भनिरहेका छन् । मलाई भोट दिन्छन् । 

रामराजा प्रसाद सिंह,  गजेन्द्र नारायण सिंहलगायत ठुला नेताहरु जन्मिएको ठाउँले अब डा सीके राउतलाई पनि नेता जन्माउने भयो, होइन त ?

– सीके राउत धेरै अगाडि जन्मिसकेको छ । सीके राउतको बिषयमा राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रिय स्तरसम्म सबैलाई थाहा छ । म यस अगाडिका यस क्षेत्रका सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले देशका लागि काम गर्नुभयो ।

जुन प्रयोजनका लागि जे कुरो बनेको हुन्छ । त्यसका लागि उपयोग गर्ने हो । यो भन्दा अगाडिका जति राजनीतिक आन्दोलन भए, त्यसको एजेन्डा फरक थियो । रामराजा जीको गणतन्त्र ल्याउने, गज्जु बाबुको प्रजातन्त्र ल्याउने र उपेन्द्रजीले संघीयता ल्याउने आन्दोलन गर्नुभयो । उहाँहरुलाई म धन्यवाद दिन्छु । 

तर जनताले शिक्षा पाए कि पाएनन्, रोजगारी पाए कि पाएनन्, स्वास्थ्यसेवा छ कि छैन ? यो एजेन्डा यस अगाडिको कुनैपनि राजनीतिक आन्दोलनमा थिएन । त्यही भएर जनमत पार्टी आएको हो । जसरी भारतमा आम आदमी पार्टी कुनै राजनीतिक एजेन्डा बोकेर आएन, सेवा प्रवाहको एजेन्डा बोकेर आयो । त्यसरी नै यहाँ जनमत पार्टी आएको सेवा प्रवाहका लागि हो । योसँग राजनीतिक एजेन्डाहरु पनि छ । त्यही भएर यो भन्दा अगाडिका जनप्रतिनिधिले नगरेका काम अव हामी गर्छौ । जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउछौं ।

कुनैबेला तपाईंलाई तराई टुक्रयाउन लागेको आरोप पनि लागेको थियो । यसरी पहिलेको क्रियाकलापले गर्दा तपाईं माथि मानिसहरुले शंका पनि गर्ने गरेका छन् । यसबारे के भन्नु हुन्छ ?

– अहिले कुनै आशंका छैन । जनताको सेवा गर्न निर्वाचनमा भाग लिइसकेको अवस्था र लोकतान्त्रिक मूलधारमै समावेश भइसकेपछि त्यसमा आशंका गर्नुपर्ने कुनै ठाउँ नै रहँदैन । अहिलेका लागि त्यो एजेन्डा सकिएको अवस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप