बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ

बुधबार, १७ असार २०८३, १८ : २७
बुधबार, १७ असार २०८३

सारांश

  • काठमाडौँको चोभार र ललितपुरको धोबिघाटबाट अध्यागमन विभागले शङ्कास्पद गतिविधिमा संलग्न २७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरू ड्रागन ब्रिज इन्टरनेशन प्रालि र ट्रेजर्स प्रालि नामक कम्पनीमा कार्यरत थिए, जसका दुई वटा कम्पनी आपसमा अन्तर सम्बन्धित देखिएका छन् ।
  • उनीहरूले औषधी सम्बन्धी काम गर्ने गरेको र ३ जना चिनियाँ क्रिप्टो कारोबारमा संलग्न रहेको आशङ्का गरिएको छ ।

काठमाडौँ । काठमाडौँको चोभार र ललितपुरको धोबिघाटबाट अध्यागमन विभागले २७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

शङ्कास्पद गतिविधिमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागका प्रवक्ता (उपसचिव) टीकाराम ढकालले रातोपाटीलाई बताए ।

धोबिघाटमा बस्दै आएका २१ जना र चोभारमा बस्दै आएका ६ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरू मध्येका ४ जनासँग बिजनेस भिसा र अरूसँग भिजिट भिसा रहेको भेटिएको छ ।

ड्रागन ब्रिज इन्टरनेशन प्रालि र ट्रेजर्स प्रालि नामक कम्पनीमा कार्यरत चिनियाँहरूको गतिविधि शङ्कास्पद देखिएको प्रवक्ता ढकालले बताए । उनले भने, ‘धोबिघाटमा ५ तले घर लिएर उनीहरू होस्टल शैलीमा बसेर शङ्कास्पद काम गरेको भेटिएको छ ।’

दुई वटा कम्पनी आपसमा अन्तर सम्बन्धित देखिएका छन् । चोभारमा चिनियाँ बस्ने घर आसपासमा क्षेत्रमा बाहिरका मानिसहरूलाई प्रवेशमा रोक लगाएको भेटिएको छ । कम्पनी नेपालीको नाममा दर्ता रहे पनि चिनियाँहरूले कारोबार गर्ने गरेका थिए ।

आरोपीहरूले औषधी सम्बन्धी काम गर्ने गरेका थिए । ३  जना चिनियाँ क्रिप्टो कारोबारमा संलग्न रहेको आशङ्का गरिएको छ । प्रवक्ता ढकाल भन्छन्, ‘शङ्कास्पद ग्याजेट हामीले नियन्त्रणमा लिएका छौँ, क्रिप्टोबारे थप अनुसन्धान गर्न प्रहरीकहाँ पठाउँछौँ ।’ मङ्गलबार र बुधबार पक्राउ गरेकाहरूलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप