शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता गठबन्धनका उम्मेदवार महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारको चुनौती

बुधबार, ३० कात्तिक २०७९, ११ : ४९
बुधबार, ३० कात्तिक २०७९

 लगातार दुई पटक सर्लाहीमा चुनाव हारेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर २०७४ को प्रतिनिधिसभा सदस्य महोत्तरी–३ बाट जितेका थिए ।​ त्यतिबेला २६ हजार ८४५ मत ल्याएर चुनाव जितेका ठाकुर यसपटक पनि सोही क्षेत्रबाट पुनः उम्मेदवार बनेका छन् । उनले यो आफ्नो अन्तिम उम्मेदवारी हो भन्दै मत मागिरहेका छन् ।

उनी यस पटक सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको उम्मेदवार बने पनि गठबन्धनमा रहेका दलको सबै मत ठाकुरलाई जानेमा आशंका रहेको बताउँछन् सामाजिक कार्यकर्ता रणधिर चौधरी ।

तराई मधेसको चुनावलाई नजिकबाट नियालेका चौधरीले भने, ‘माओवादी केन्द्र र कांग्रेस नेता तथा कार्यकर्ताहरु महन्थ ठाकुरजीसँग हिँड्नु हुन्छ, एउटै मञ्चमा भाषण गर्नुहुन्छ तर मत त्यहीँ जान्छ भन्ने ग्यारेन्टी छैन, मलाई लाग्छ गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु ठाकुरका लागि मनले लागेका छैनन् ।’

तर गठबन्धनको सबै मत ठाकुरलाई गएमा भने ठाकुरको विजय निश्चित रहेको उनको भनाइ छ । २०७४ को चुनावमा अध्यक्ष ठाकुरले जसपा (तत्कालीन संघीय समाजवादी फोरम) र नेपाली कांग्रेसको साथ पाएर विजयी भएका थिए । त्यतिबेला जसपा र कांग्रेसले मात्र होइन, त्यसबेलाको वाम गठबन्धनले पनि अनौपचारिक रुपमा सघाएको थियो ।

अध्यक्ष महन्थ ठाकुरको विरुद्धमा तत्कालीन वाम गठबन्धनले विजयकुमार चौधरीलाई उठाएको थियो । चौधरीले त्यतिबेला आठ हजार ६७६ मतमात्र ल्याएका थिए । वाम गठबन्धनले कमजोर उम्मेदवार दिएको भनि त्यतिबेला निकै चर्चा भएको थियो ।

स्थानीय तह निर्वाचनमा महोत्तरी–३ अन्तर्गत जनता समाजवादी पार्टीले जलेश्वर नगरपालिका, प्रिपा गाउँपालिका जितेको छ भने लोसपाले मटिहानी नगरपालिका मात्र जितेको छ । जबकि यसअघि लोसपाले तीनवटा पालिका जितेको थियो । यसपटक जसपाले तीन पालिका जितेको छ भने लोसपाले एक मात्र जितेको छ जबकि २०७४ को चुनावमा जसपाले एउटा र लोसपाले तीन वटा जितेको थियो ।

यसपटक स्थानीय चुनावमा कांग्रेसले मनरा सिस्वा नगरपालिका मात्र जितेको छ । सो नगरपालिकाका ८, ९ र १० नम्बर वडा मात्र महोत्तरी–३ मा पर्छ ।

त्यसमध्ये पनि वडा नम्बर ८ जनमत पार्टीले जितेको छ भने वडा नम्बर ९ लोसपा र १० नम्बर वडा कांग्रेसले जितेको छ ।

लोसपासहितको पाँच दलीय गठबन्धनले सो क्षेत्रको पालिकाका वडाअध्यक्षहरुले २९ हजार ५४३ मत ल्याएका छन् भने जसपा–एमाले गठबन्धनका वडाअध्यक्षहरुले २५ हजार १७७ मत ल्याएका छन् ।

यो हिसाबले लोसपाका अध्यक्ष महन्थ ठाकुर साढे चार हजार मतले अगाडि छन् । मतको हिसाबले जसपा–एमाले गठबन्धन पनि कमजोर छैन । तर यो गठबन्धनबाट पनि एकजना बागी भएका कारणले मत बाँडिने सम्भावना रहेको चौधरी बताउँछन् । एमालेमा रहेका रामआधार कापड स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेसको महोत्तरी जिल्ला सभापति र केन्द्रीय सदस्य भइसकेका कापड सो पार्टी छाडेर विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनी त्यहाँ पनि धेरै समय बस्न सकेनन् । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । त्यहाँबाट उनी एमालेमा प्रवेश गरेका थिए तर टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । स्थानीय चुनाव २०७९ मा उनी जलेश्वर नगरपालिकाको मेयरमा उठेका थिए तर उनी पराजित भए ।

उनी पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसबाट त्यही क्षेत्रबाट चुनाव लडेका थिए । तर विजय हासिल गर्न सकेनन् । २०७४ को चुनावमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका उनी पराजित भएपछि मेयरमा लडेका थिए । मेयरमा पराजित भएका उनी अहिले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।

एनजीओ सञ्चालन गर्दै आएका कापड पछिल्लो समय अध्यक्ष ठाकुरलाई टक्कर दिँदै आएका छन् । जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपाका केन्द्रीय सदस्य हरिनारायण यादव पनि महन्थ ठाकुरको प्रतिस्पर्धामा छन् । महोत्तरी–३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ ।

लामो समय अध्यक्ष ठाकुरसँग काम गरेका वृषेशचन्द्र लाल यादव तमलोपाबाट सोही क्षेत्रमा उम्मेदवार छन् । यसले पनि ठाकुरको मतलाई प्रभाव पार्ने विश्लेषण भइरहेको छ ।

महोत्तरीका वरिष्ठ पत्रकार कुमरकान्त झा भन्छन्, ‘महन्थजी सम्मानित नेता हुनुहुन्छ, गठबन्धनबाट मत आए भने उहाँ जित्न पनि सक्नु हुन्छ तर यो उमेरमा उहाँले चुनाव नलड्दा नै राम्रो हुन्थ्यो, उमेरलाई लिएर पनि उहाँको टिका टिप्पणी भइरहेको छ ।’

महन्थ ठाकुर, हरिनारायण यादव र रामआधार कापडबीचमा प्रतिस्पर्धा रहे पनि अहिलेसम्मको अवस्था हेर्दा अध्यक्ष ठाकुरलाई रामआधार कापडले टक्कर दिइरहेको उनले बताए ।

कापडले एनजीओमार्फत काम गरेका कारण उनको आधार बनेको र उनको प्रचार शैली पनि आक्रमक रहेको उनको भनाइ छ । त्यसले गर्दा अध्यक्ष ठाकुरसँगको प्रतिस्पर्धामा उनी नै रहेको पत्रकार झाको विश्लेषण छ ।

तर अहिले नै को अगाडि को पछाडि भन्न नसक्ने अवस्था नरहेको बताउँदै उनले एकरातमा पनि मत उलटफेर हुने गरेको बताए ।

अध्यक्ष ठाकुर पटकपटक चुनाव जितेका नेता हुन् भने हरिनारायण यादव एकपटक संविधानसभा सदस्यमा जितेका थिए । वृषेशचन्द्र लाल संविधानसभा सदस्य हुनुको साथै पछिल्लो समय राष्ट्रियसभाका सदस्य महन्थ ठाकुर नेतृत्वकै पार्टीबाट भएका थिए । रामआधार कापड सोही क्षेत्रबाट पटक पटक चुनाव हारेका व्यक्ति हुन् ।

को हुन् ठाकुर ?

महन्थ ठाकुर विद्यार्थी राजनीतिबाटै कांग्रेससँग जोडिएका थिए । २०२७ सालमा जनकपुर क्याम्पसमा कांग्रेस निकट विद्यार्थी युनियनका अध्यक्षसमेत भएका उनी सुरुदेखि आन्दोलनकारी र जुझारु नेतामा गनिन्छन् ।

संस्कृतिमा मास्टर्स गरेपछि उनले जनकपुर क्याम्पसमा प्रोफेसर भएर काम गरेका थिए । उनी प्रोफेसर हुँदा पनि विभिन्न आन्दोलनमा सक्रिय भएर लागेका थिए । बीपी दर्शनलाई विश्वास गर्ने महन्थ ठाकुर प्रोफेसर भएर आन्दोलनमा लागेको कारण उनलाई पदबाट हटाइएको थियो । प्रोफेसरबाट हटेपछि बीएल गरेर उनले सर्लाहीमा वकालत सुरु गरेका थिए । उनी वकालत गर्नुको साथै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए ।

पार्टीको केन्द्रीय सदस्य हुँदै कोषाध्यक्षसम्म बन्न सफल उनी पार्टीमा महामन्त्री बन्न चाहन्थे तर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई महामन्त्री नदिएर डा.रामवरण यादवलाई दिएपछि कांग्रेस छाडेर मधेस राजनीतिमा आएको जानकारहरु बताउँछन् । 

जन्मस्थान महोत्तरी भए पनि अध्यक्ष ठाकुरको कर्मस्थान सर्लाही भएका कारण उनी त्यहीँबाट चुनाव लड्दै आइरहेका थिए । सविधानसभाका दुईवटै चुनाव हारेका ठाकुर २०७४ को चुनाव पनि हार्ने आकलन गर्दै सुरक्षित स्थान खोजर महोत्तरी आएका थिए ।

सर्लाही–४ बाट संविधानसभा चुनाव उठेका अध्यक्ष ठाकुर पहिलो सविधानसभा चुनावमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका शिवपुजन राय यादव र दोस्रो संविधानसभा चुनावमा नेपाली कांग्रेसका डा.अमरेशकुमार सिंहसँग पराजित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप